काठमाडौं, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का पूर्व अध्यक्ष नवराज कुँवर एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो)को उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् ।इन्डोनेसियाको जकार्तामा हालै सम्पन्न असोसियोको ४२औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर सन् २०२७–२०२८ को कार्यकालका लागि उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
कुँवरले क्यान महासंघको प्रतिनिधित्व गर्दै सन् २०२२ देखि असोसियोमा उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । यसअघि उनले सन् २०२२–२०२४ र २०२५–२०२६ को कार्यकालमा उपाध्यक्षका रूपमा काम गरेका थिए । पुनः उपाध्यक्षमा निर्वाचित भएपछि कुँवरले नेपाललाई अन्तर्राष्ट्रिय सूचना प्रविधि मञ्चमा स्थापित गर्ने आफ्नो प्रयासलाई थप ऊर्जा मिलेको बताए । असोसियोमार्फत एसियाली देशहरूमा प्रविधिको मजबुत प्रणाली विकास गर्दै नेपाललाई विश्व आईसीटी क्षेत्रमा स्थापित गर्न सकिने उनको भनाइ छ ।
“सूचना प्रविधि क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने प्रयास गरिरहेको छु । असोसियोमार्फत एसियाली देशहरूमा मजबुत प्रविधि प्रणाली बनाएर नेपाललाई विश्व आईसीटी क्षेत्रमा स्थान दिलाउन सकिन्छ, जसले नवप्रवर्तन, वृद्धि र अन्तर्राष्ट्रिय सहयोगका नयाँ अवसरहरू खोल्नेछ,” कुँवरले भने ।उनले एसियाका विकासशील तथा अविकसित देशबीचको प्रविधिगत दूरी घटाउन पनि असोसियोको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
नयाँ कार्यसमितिमा मलेसियाका अध्यक्ष स्टान सिंह जितको नेतृत्वमा नेपालसहित मलेसिया, थाइल्यान्ड, मकाउ, म्यानमार, जापान, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, ताइवान, इन्डोनेसिया, लाओस, सिंगापुर र फिलिपिन्सका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संगठनका प्रतिनिधि निर्वाचित भएका छन् ।क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलले कुँवरको नेतृत्वमा नेपाली सूचना प्रविधि क्षेत्र र संस्थालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह भएकाले नै उहाँ सर्वसम्मत निर्वाचित हुने वातावरण बनेको बताए ।
उनले आगामी कार्यकालमा पनि कुँवरबाट उल्लेख्य योगदान हुने र त्यसबाट नेपालले लाभ लिन सक्ने विश्वास व्यक्त गर्दै बधाई दिए ।“असोसियोमा उहाँको प्रतिनिधित्वले बदलिँदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच तथा सूचना तथा सञ्चार प्रविधिमार्फत समृद्ध नेपाल बनाउने क्यान महासंघको प्रयासमा मद्दत पुग्ने हाम्रो विश्वास रहेको छ,” भुर्तेलले भने ।