ललितपुर, उच्च अदालत पाटनले प्रभु बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई दुई छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीशद्वय गणेशप्रसाद बराल र राजुकुमार खतिवडाको संयुक्त इजलासले असोज २० गते शेरचनलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। एउटा मुद्दामा गुण एयरलाइन्सलाई सञ्चालक समितिको पूर्वस्वीकृतिविनै १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको तथा ८ करोड ३३ लाख रुपैयाँभन्दा बढी ब्याज बैंकले प्राप्त नगरेको विषय छ।
अर्को मुद्दा राम जानकी हेल्थ फाउन्डेसन र इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइन्स प्रालिलाई सञ्चालक समितिको पूर्वस्वीकृतिविनै कर्जा प्रवाह गरेको आरोपसँग सम्बन्धित छ। उक्त मुद्दामा ६ करोड १७ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ। अदालतले दुवै मुद्दामा शेरचनलाई पुर्पक्षका लागि थुनामा पठाए पनि मुद्दाको अन्तिम फैसला भने गरिसकेको छैन।