काठमाडौं, हिमालयन बुलियन कम्पनी लिमिटेड (एचबीसी) ले ग्राहकलाई सानो रकमबाटै चरणबद्ध भुक्तानी गरी चाँदीका सिक्का तथा बार खरिद गर्न सकिने मोबाइल एप सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको ‘एचबीसी एप’ आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ । एपमार्फत ग्राहकले चाँदीको दैनिक खरिद तथा मूल्य हेर्न, खरिद लक्ष्य निर्धारण गर्न र आफ्नो सुविधाअनुसार रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले एक ग्राम चाँदी बराबरको रकम, कुल मूल्यको पाँच प्रतिशत वा सम्पूर्ण रकम एकैपटक भुक्तानी गर्न सक्नेछन् । पूर्ण भुक्तानी नभएसम्म खरिदका लागि छनोट गरिएको चाँदी कम्पनीको भल्टमा राखिनेछ । भुक्तानी पूरा भएपछि ग्राहकले चाँदी संकलन गर्न सक्नेछन् । एप सार्वजनिक गरेको अवसरमा कम्पनीले सबै ग्राहकलाई १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा सुरक्षा उपलब्ध गराउने घोषणा गरेको छ । उक्त सुविधा सम्बन्धित बीमालेखका सर्त तथा सीमाअनुसार लागू हुनेछ ।
त्यसैगरी, तिहारसम्म एपमार्फत पूरा गरिएका प्रत्येक योग्य खरिदलाई लक्की ड्रमा एक प्रविष्टि मानिने कम्पनीले जनाएको छ । गोलाप्रथाबाट छनोट हुने एक विजेताले टेस्ला मोडल ३ विद्युतीय कार प्राप्त गर्नेछन् । कम्पनीका अनुसार ग्राहकले १०, २०, ५० वा १०० ग्रामका चाँदीका सिक्का तथा ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बार खरिदका लागि लक्ष्य निर्धारण गर्न सक्नेछन् । एकपटकमा बढीमा तीनवटा लक्ष्य सक्रिय राख्न सकिनेछ । कम्पनीले ५०० ग्राम वा सोभन्दा बढीका बारमा बनाउने शुल्क नलाग्ने र एप सार्वजनिक भएको अवसरमा भल्ट शुल्क निःशुल्क गरिएको पनि जनाएको छ ।