काठमाडौं, म्याक्स मनी प्रकरणमा हिमालयन बैंकले क्लिन चिट पाएको छ । नेपालको हिमालयन बैंक र मलेसियाको म्याक्स मनी एसडीएन बीएचडी बीच जोडिएको प्रकरणमा मलेसियाली प्रहरीले गरेको अनुसन्धान टुंगिएको र उक्त प्रकरणमा मलेसियन प्रहरीले ‘नो फर्दर एक्सन’ अर्थात् थप कारबाही आवश्यक नरहेको निर्णयको व्यहोरा सार्वजनिक गरेसंगै हिमालयन बैंकले क्लिन चिट पाएको हो ।
मलेसियाको रोयल मलेसिया प्रहरीअन्तर्गतको वाणिज्य अपराध अनुसन्धान विभागले उक्त प्रकरणको अनुसन्धान पूरा गरी सरकारी अभियोजन पक्षसमक्ष पेस गरेको र त्यहाँबाट थप कारबाही नगर्ने निर्णय भएको आधिकारिक पत्रले देखाएको छ । मलेसियाली प्रहरीको वाणिज्य अपराध अनुसन्धान विभाग, बुकित अमानबाट जारी पत्रमा हिमालयन बैंक र म्याक्स मनीसँग सम्बन्धित घटनाको अनुसन्धान सम्पन्न भएको स्पष्ट उल्लेख छ । पत्रमा अनुसन्धानका क्रममा संकलित कागजात तथा अनुसन्धान प्रतिवेदन १९ मार्च २०२६ मा पुत्राजयस्थित उपसरकारी अभियोजकसमक्ष पठाइएको जनाइएको छ ।
पत्रअनुसार उपसरकारी अभियोजकले अनुसन्धान प्रतिवेदन अध्ययन तथा विचार गरेपछि उक्त मुद्दालाई ‘नो फर्दर एक्सन’ अर्थात् थप कारबाही आवश्यक नरहेको निर्णयमा पुर्याएका हुन् । त्यससँगै यस प्रकरणमा थप कानुनी कारबाही अगाडि नबढाइने मलेसियाली प्रहरीले औपचारिक रूपमा जानकारी गराएको छ ।
मलेसियाको रोयल मलेसिया प्रहरीअन्तर्गत रहेको वाणिज्य अपराध अनुसन्धान विभागले २ अक्टोबर २०२६ मिति उल्लेख भएको (मितिमा हस्तलिखित अंकसमेत देखिएकाले स्पष्ट पुष्टि आवश्यक) पत्र नेपाली दूतावास, क्वालालम्पुरलाई सम्बोधन गरी पठाएको छ । उक्त पत्र मलेसियास्थित नेपाली दूतावासका प्रतिनिधि मुदिता बराचर्यलाई सम्बोधन गरिएको छ ।
पत्रको सन्दर्भ नम्बर ३४/३७’ रहेको छ । स्ट्याटस अफ इन्भेष्टीगेसन इन्भल्बिङ हिमालयन बैंक एण्ड म्याक्स एसडिएन बिएचडी शीर्षकमा जारी पत्रमा मलेसियाली प्रहरीको वाणिज्य अपराध अनुसन्धान विभाग (सिसिआईडी) ले हिमालयन बैंक र म्याक्स मनीसँग सम्बन्धित प्रकरणको अनुसन्धान पूरा गरेको उल्लेख गरेको छ । पत्रको दोस्रो बुँदामा उक्त प्रकरणमा मलेसियाली प्रहरीको वाणिज्य अपराध अनुसन्धान विभागले अनुसन्धान सम्पन्न गरिसकेको जानकारी दिइएको छ । तेस्रो बुँदामा अनुसन्धान सम्बन्धी कागजात १९ मार्च २०२६ मा पुत्राजयस्थित उपसरकारी अभियोजकसमक्ष पठाइएको र त्यसपछि उक्त मुद्दामा ‘नो फर्दर एक्सन’ (एनएफए) को निर्णय भएको स्पष्ट पारिएको छ । त्यस्तै, चौथो बुँदामा यस विषयमा अनुसन्धान टुंगिएको र उक्त मुद्दाका सम्बन्धमा अब थप कुनै कारबाही नगरिने औपचारिक जानकारी दिइएको छ ।
उच्च प्रहरी अधिकारीको हस्ताक्षरसहित पत्र जारी
उक्त पत्रमा मलेसियाली रोयल प्रहरीका सहायक आयुक्त (एसिपी) फु वेई मिन को हस्ताक्षर रहेको छ । उनी वाणिज्य अपराध अनुसन्धान विभागअन्तर्गत वित्तीय, बैंकिङ, सहकारी तथा बीमा अपराध अनुसन्धान शाखाका सहायक निर्देशक हुन् । पत्रको अन्त्यमा मलेसियाली प्रहरीका तर्फबाट धन्यवाद ज्ञापन गर्दै अनुसन्धानको अवस्थाबारे स्पष्ट जानकारी गराइएको छ ।
यसरी मलेसियाली प्रहरीको आधिकारिक पत्रले हिमालयन बैंक र म्याक्स मनीसँग सम्बन्धित अनुसन्धानको वर्तमान कानुनी अवस्था स्पष्ट पारेको छ । उक्त पत्रले यस प्रकरणमा थप कारबाही नहुने निर्णय भएको जानकारी नेपाली दूतावासलाई समेत औपचारिक रूपमा दिएको छ ।