नेपालको अर्थतन्त्रमा घरजग्गा क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको छ । घर निर्माण, जग्गा कारोबार, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा, निर्माण सामग्रीको उत्पादन तथा बिक्री, श्रम बजार र सेवा क्षेत्रसम्म घरजग्गा कारोबारको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परेको हुन्छ । तर पछिल्ला वर्षमा घरजग्गा क्षेत्र अपेक्षाकृत सुस्त हुँदा त्यसको असर समग्र आर्थिक गतिविधिमा समेत देखिएको छ । त्यसैले अहिले घरजग्गा क्षेत्रलाई अनियन्त्रित कारोबारको माध्यम होइन, उत्पादनमूलक आर्थिक गतिविधिको आधारका रूपमा विकास गर्न आवश्यक रहेको छ ।
नेपालमा घरजग्गा क्षेत्रको योगदान बढाउन सबैभन्दा पहिले नीतिगत स्थिरता आवश्यक रहेको छ । घरजग्गा कारोबारसँग सम्बन्धित कर, बैंकिङ कर्जा, कित्ताकाट, भू–उपयोग, दर्ता तथा मूल्यांकनसम्बन्धी नीतिमा बारम्बार हुने परिवर्तनले लगानीकर्तामा अनिश्चितता सिर्जना गरेको छ । यसको लागि सरकारले दीर्घकालीन दृष्टिकोणसहित स्पष्ट र स्थिर नीति निर्माण गर्नुपर्छ । नियम परिवर्तन गर्नैपर्ने अवस्था आएमा पनि सरोकारवालासँग पर्याप्त छलफल गरेर पूर्वसूचनासहित कार्यान्वयन गरिनुपर्छ ।
मुलुकको राष्ट्रिय अर्थतन्त्रमा घरजग्गा क्षेत्रको योगदान बढाउनको लागि अर्को महत्वपूर्ण पक्ष भनेको घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउनु हो । नेपालमा घरजग्गाको वास्तविक मूल्य, कारोबारको प्रकृति र बजारको मागसम्बन्धी विश्वसनीय तथ्यांकको अभाव रहेको छ । विभिन्न स्थानमा जग्गाको मूल्य अत्यधिक बढ्ने र घट्ने प्रवृत्तिले बजारलाई अस्थिर बनाउँछ । सरकारले डिजिटल अभिलेख, वास्तविक कारोबार मूल्यको तथ्यांक र वैज्ञानिक मूल्यांकन प्रणाली विकास गर्न सकेमा बजारमा पारदर्शिता बढ्नेछ । यसले कर प्रणालीलाई पनि प्रभावकारी बनाउनेछ ।
त्यसैगरी भू–उपयोग नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । कृषि योग्य जमिनलाई अनियन्त्रित रूपमा घडेरीमा परिणत गर्ने प्रवृत्तिले दीर्घकालमा खाद्य सुरक्षा र वातावरणीय सन्तुलनमा चुनौती निम्त्याउन सक्छ । त्यसैले आवासीय, कृषि, औद्योगिक तथा व्यावसायिक क्षेत्रको स्पष्ट वर्गीकरण गरी सोहीअनुसार विकास गर्नुपर्छ । योजनाबद्ध सहर, सुरक्षित आवास र पूर्वाधारसँग जोडिएको बस्ती विकासले घरजग्गा क्षेत्रलाई दीर्घकालीन आर्थिक गतिविधिसँग जोड्न सक्छ ।
मुलुकको राष्ट्रिय अर्थतन्त्रमा घरजग्गा क्षेत्रको योगदान बढाउनको लागि बैंक तथा वित्तीय संस्थाको कर्जा नीति पनि महत्वपूर्ण रहेको हुन्छ । घरजग्गा क्षेत्रमा कर्जा प्रवाह आवश्यक भए पनि केवल जग्गा किनबेचका लागि कर्जा विस्तार गर्नु अर्थतन्त्रका लागि दीर्घकालीन समाधान होइन । बरु पहिलो घर खरिद गर्ने परिवार, व्यवस्थित आवास निर्माण, अपार्टमेन्ट, भाडाका लागि निर्माण हुने आवास, व्यावसायिक भवन तथा पूर्वाधारसँग जोडिएका परियोजनामा उत्पादनमूलक कर्जा विस्तार गर्नुपर्छ । यसले कर्जालाई सम्पत्ति सिर्जना र रोजगारीसँग जोड्न सक्छ ।
नेपालमा भाडा आवास बजार पनि व्यवस्थित गर्न सकिन्छ । देशका ठूला सहरमा विद्यार्थी, कर्मचारी, श्रमिक तथा विभिन्न पेशामा आबद्ध व्यक्तिका लागि सुरक्षित र व्यवस्थित आवासको ठूलो आवश्यकता छ । निजी क्षेत्रलाई व्यवस्थित भाडा आवास निर्माणमा प्रोत्साहन गर्ने हो भने घरजग्गा क्षेत्रले नियमित आम्दानी, रोजगारी र निर्माण गतिविधि सिर्जना गर्न सक्छ ।
त्यस्तै, पुराना तथा अव्यवस्थित बस्तीको पुनर्विकास अर्को सम्भावनाको क्षेत्र हो । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा पर्याप्त पूर्वाधार नभएका बस्तीलाई योजनाबद्ध रूपमा पुनर्विकास गर्न सकिन्छ । सडक, खानेपानी, ढल, पार्क, विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक यातायातसँग जोडिएको आवास विकासले नागरिकको जीवनस्तर सुधार्नुका साथै ठूलो आर्थिक गतिविधि सिर्जना गर्न सक्छ ।
घरजग्गा क्षेत्रको योगदान बढाउने नाममा सट्टेबाजी र कृत्रिम मूल्यवृद्धिलाई भने प्रोत्साहन गर्नु हुँदैन । जग्गाको मूल्य अस्वाभाविक रूपमा बढ्दा आम नागरिकका लागि आवास महँगो हुन्छ र उत्पादनशील क्षेत्रमा जाने पुँजी पनि घरजग्गातर्फ आकर्षित हुन सक्छ । त्यसैले सरकारको उद्देश्य कारोबारको मात्रा मात्र बढाउने नभई घरजग्गालाई उत्पादन, रोजगारी, पूर्वाधार र आवाससँग जोड्ने हुनुपर्छ ।
यसका लागि घरजग्गा व्यवसायीलाई औपचारिक र व्यावसायिक बनाउने नीति पनि आवश्यक छ । इजाजत, आचारसंहिता, उपभोक्ता संरक्षण, कारोबारको पारदर्शिता र व्यावसायिक मापदण्ड लागू गर्न सकेमा यस क्षेत्रप्रतिको विश्वास बढ्नेछ । डिजिटल प्रणालीमार्फत जग्गा खोजी, मूल्यांकन, स्वामित्व जाँच तथा कारोबारलाई थप सुरक्षित बनाउन सकिन्छ ।
घरजग्गा क्षेत्र आफैंमा अर्थतन्त्रको अन्तिम गन्तव्य होइन, अर्थतन्त्र चलायमान बनाउने एउटा महत्वपूर्ण माध्यम हो । यस क्षेत्रसँग निर्माण, सिमेन्ट, डन्डी, इँटा, काठ, फर्निचर, बैंकिङ, बीमा, यातायात, इन्जिनियरिङ तथा रोजगारी प्रत्यक्ष रूपमा जोडिएका छन् । यसैले घरजग्गा बजारलाई नियन्त्रण र प्रोत्साहनबीचको सन्तुलित नीतिबाट अघि बढाउनुपर्छ ।
सरकारले स्थिर नीति, पारदर्शी कारोबार, वैज्ञानिक मूल्यांकन, योजनाबद्ध सहरीकरण, उत्पादनमूलक कर्जा र व्यवस्थित आवास विकासलाई प्राथमिकता दिने हो भने घरजग्गा क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा अझ ठूलो योगदान दिन सक्छ । घरजग्गा क्षेत्रलाई केवल जग्गा किनबेचको व्यवसायबाट निर्माण, आवास, पूर्वाधार र रोजगारी सिर्जना गर्ने उद्योगमा रूपान्तरण गर्नु नै यसको आर्थिक योगदान बढाउने दीर्घकालीन बाटो हो ।
घरजग्गा क्षेत्र कुनै व्यक्तिको व्यक्तिगत सम्पत्ति किनबेचसँग मात्र जोडिएको विषय होइन । मुुलुककको अर्थतन्त्रलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चलायमान बनाउने भएकाले राष्ट्रिय अर्थतन्त्रमा यसको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैले घरजग्गा व्यवसायीले आफ्नो व्यवसायलाई व्यवस्थित, पारदर्शी र उत्पादनमुखी बनाउन आवश्यक छ ।
सबैभन्दा पहिले व्यवसायीले पारदर्शी कारोबार र कर अनुपालनलाई प्राथमिकता दिनुपर्छ । जग्गाको वास्तविक मूल्य लुकाउने, अवैध बाटोबाट कारोबार गर्ने वा कागजी प्रक्रियामा कमजोरी गर्ने प्रवृत्तिले राज्यको राजस्व मात्र घटाउँदैन, समग्र क्षेत्रप्रतिको विश्वास पनि कमजोर बनाउँछ । प्रत्येक कारोबार कानुनी प्रक्रिया पूरा गरी अभिलेखीकरण गर्ने संस्कार विकास गर्नुपर्छ ।
त्यस्तै, घरजग्गा व्यवसायीले खाली जग्गा किनेर मूल्य बढेपछि बिक्री गर्ने परम्पराभन्दा आवास तथा पूर्वाधार विकासमा लगानी बढाउनुपर्छ । व्यवस्थित आवास, अपार्टमेन्ट, व्यावसायिक भवन तथा आवश्यक पूर्वाधार निर्माणमा लगानी बढेमा यस क्षेत्रले निर्माण सामग्री उद्योगदेखि श्रम बजारसम्म ठूलो आर्थिक गतिविधि सिर्जना गर्न सक्छ ।
व्यवसायीका लागि अर्को महत्वपूर्ण विषय व्यावसायिकता र नैतिकता हो । ग्राहकलाई जग्गाको वास्तविक अवस्था, स्वामित्व, बाटो, नक्सा, उपयोगिता र कानुनी जोखिमबारे स्पष्ट जानकारी दिनुपर्छ । गलत सूचना वा भ्रमपूर्ण प्रचारका आधारमा कारोबार गर्ने प्रवृत्तिले बजारलाई अस्थिर बनाउँछ ।
यसैगरी, घरजग्गा व्यवसायीका संघ–संस्थाले सरकार र वित्तीय क्षेत्रसँग सहकार्य गर्दै स्थिर र पूर्वानुमानयोग्य नीतिका लागि सुझाव दिनुपर्छ । घरजग्गा कारोबारलाई अनियन्त्रित रूपमा विस्तार गर्नेभन्दा वास्तविक माग, आयस्तर, सहरीकरण र पूर्वाधार विकाससँग जोडेर अघि बढाउनु आवश्यक छ ।
घरजग्गा क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको उत्पादक क्षेत्रका रूपमा स्थापित गर्ने जिम्मेवारी व्यवसायीको पनि हो । पारदर्शिता, कानुनी अनुशासन, प्रविधिको प्रयोग, उत्पादनमुखी लगानी र दीर्घकालीन सोच अपनाउन सके घरजग्गा व्यवसाय केवल सम्पत्ति कारोबारमा सीमित नरही रोजगारी, राजस्व, निर्माण र लगानी विस्तारको महत्वपूर्ण आधार बन्न सक्छ । त्यसका लागि व्यवसायीले नाफासँगै बजारको दिगो विकासलाई पनि आफ्नो व्यावसायिक जिम्मेवारीका रूपमा लिनुपर्छ ।