काठमाडौं, भारतीय विद्युतीय स्कुटर निर्माता कम्पनी रिभर मोबिलिटीले नेपालको बजारमा प्रवेश गरेको छ । कम्पनीले विशाल ग्रुपसँगको साझेदारीमा काठमाडौंमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शोरुम सञ्चालनमा ल्याएको हो ।
काठमाडौंको नक्साल–१, नारायणचौरस्थित शोरुमबाट ग्राहकले स्कुटरको परीक्षण सवारी (टेस्ट राइड), उत्पादनसम्बन्धी अनुभव, बुकिङ, एसेसरिज तथा ब्रान्डका सामग्री प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई बिक्रीपछिको सेवा उपलब्ध गराउन कम्पनीले काठमाडौंको भिमसेनस्थान–२०, परोपकारस्थित ताधा मार्गमा रहेको भीजी सुजुकी सर्भिस सेन्टरमा छुट्टै सेवा केन्द्रसमेत स्थापना गरेको छ ।
गत महिना काठमाडौंमा आयोजित नाइमा एक्स्पो २०२६ मा सहभागी हुँदै कम्पनीले आफ्नो ‘इन्डी’ विद्युतीय स्कुटर सार्वजनिक गरेको थियो । उक्त प्रदर्शनीमार्फत नेपाली बजारमा प्रवेश गरेको कम्पनीले ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएको जनाएको छ । प्रदर्शनीका क्रममा १५० भन्दा बढी स्कुटरको अग्रिम बुकिङ भएको र शोरुम उद्घाटनका दिन सामूहिक रूपमा स्कुटर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार इन्डीमा ४ किलोवाट आवर (४ केडब्लूएच) क्षमताको ब्याट्री रहेको छ । यसले आईडीसी प्रमाणित मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा १६० किलोमिटरसम्म रेन्ज दिने र अधिकतम ९० किलोमिटर प्रतिघण्टाको गति लिन सक्नेछ । स्कुटरमा १७७ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, १४ इन्चका पाङ्ग्रा र १८ डिग्रीसम्मको उकालो चढ्न सक्ने क्षमता रहेको छ । यी विशेषताले नेपाली सडक तथा पहाडी भूभागमा यसको उपयोगिता बढाउने कम्पनीको दाबी छ । साथै, ५५ लिटर क्षमताको लक गर्न मिल्ने भण्डारण सुविधाले दैनिक आवागमन तथा सामान ओसारपसारमा सहजता प्रदान गर्नेछ । कम्पनीले इन्डीको मूल्य ३ लाख ७० हजार रुपैयाँ तोकेको छ ।
रिभर मोबिलिटीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अरविन्द मणिले कम्पनीको नेपाल प्रवेश भारतबाहिरको विस्तार यात्रामा महत्वपूर्ण उपलब्धि भएको बताए । रिभर मोबिलिटीले सन् २०२८ मार्चसम्म नेपालका सबै प्रदेशमा शोरुम विस्तार गर्ने योजना बनाएको जनाएको छ ।