काठमाडौं, निर्जीवन बीमा कम्पनीहरूले पछिल्लो समय दुई लाख ५४ हजारभन्दा बढी बीमालेख जारी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको साउन महिनामा कुल दुई लाख ५४ हजार छ सय सातवटा बीमालेख जारी गरेका हुन् ।
प्राधिकरणका अनुसार यस अवधिमा प्रदेशगत रूपमा सबैभन्दा धेरै बीमालेख बाग्मती प्रदेशबाट जारी भएको छ । चालू आवको साउनमा बागमती प्रदेशबाट मात्र एक लाख २३ हजार तीन सय ६९ वटा बीमालेख जारी भएको छ । त्यसपछि लुम्बिनी प्रदेशबाट ३९ हजार ९९ वटा बीमालेख जारी हुँदा कोशी प्रदेशबाट २८ हजार एक सय ९० वटा बीमालेख जारी भएको छ । मधेश प्रदेशबाट पनि यस अवधिमा २६ हजार चार सय ९९ वटा बीमालेख जारी हुँदा गण्डकी प्रदेशबाट २० हजार छ सय ९६ वटा बीमालेख जारी भएको छ भने सुदूरपश्चिम प्रदेशबाट ११ हजार छ सयवटा बीमालेख जारी भएको छ । प्राधिकरणका अनुसार सबैभन्दा कम बीमालेख भने कर्णाली प्रदेशबाट जारी भएको छ । चालू आवको साउनमा कर्णालीबाट जम्मा चार हजार नौ सय ३४ वटा निर्जीवन बीमालेख जारी भएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका अनुसार बीमालेखको प्रकार हेर्दा साउनमा सबैभन्दा धेरै गाडी (मोटर) बीमालेख जारी भएको छ । मोटर बीमामा मात्र साउनमा एक लाख २५ हजार चार सय ३१ वटा बीमालेख जारी भएका छन् । यसबाहेक सम्पत्ति बीमातर्फ ३६ हजार सात सय ९९ बीमालेख जारी हुँदा सामुद्रिक बीमातर्फ ३० हजार चार सय ९१ बीमालेख जारी भएको प्राधिकरणको भनाइ छ ।
कृषि तथा बाली बीमातर्फ १८ हजार छ सय ४० वटा बीमालेख जारी हुँदा लघु बीमातर्फ २५ हजार छ सय ९२ बीमालेख जारी भएको छ । विविध बीमातर्फ १३ हजार छ सय ५४ बीमालेख जारी हुुँदा स्वास्थ्य बीमातर्फ दुई हजार पाँच सय ५५ वटा बीमालेख जारी भएको छ । इन्जिनियरिङ तथा ठेकेदारसम्बन्धी बीमातर्फ भने एक हजार छ सय ३२ वटा बीमालेख जारी हुँदा दायित्व बीमातर्फ एक सय दुईवटा र हवाइ बीमातर्फ २६ वटा बीमालेख जारी भएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका अनुसार प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा मोटर बीमाका ६६ हजार एक सय १० वटा बीमालेख जारी भएको छ । त्यस्तै सम्पत्ति बीमाका १५ हजार चार सय ३२, सामुद्रिकका नौ हजार एक सय एक, विविधका १० हजार सात सय ५७, कृषि तथा बालीका सात हजार नौ सय ९३ र लघु बीमाका १२ हजार एक सय ९४ बीमालेख जारी भएको छ । मोटरबीमातर्फ लुम्बिनी प्रदेशमा पनि चालू आवको साउन महिनामा ३९ हजार ९९, कोशीमा २८ हजार एक सय ९०, मधेशमा २६ हजार चार सय ९९, गण्डकीमा २० हजार छ सय ९६, सुदूरपश्चिममा ११ हजार छ सय र कर्णालीमा चार हजार नौ ३४ वटा बीमालेख जारी भएको प्राधिकरणले जानकारी दिएको छ ।