काठमाडौं, फ्लोरिकल्चर एसोसिएसन नेपालले आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको जनाएको छ । एसोसिएसनले मंगलबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने अनुमान गरिएको जानकारी दिए । उनले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी पनि गरे । तिहारमा करिब ५२ लाख विभिन्न फूलका माला आवश्यक पर्ने अनुमान गरेका छौँ । उनले भने, ‘५२ लाख फूलका मालाका लागि करिब ४८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।’ एसोसिएसनले ५२ लाख मालामध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाटै हुने अपेक्षा गरिएको बताए ।
तिहारमा सयपत्री फूलको ४५ लाख मालालाई औसत ९० रुपैयाँ थोक मूल्यको आधारमा ४० करोड ५० लाख रुपैयाँ, मखमली फूलको छ लाख मालालाई औसत थोक मूल्य ४५ रुपैयाँका दरले दुई करोड ७० लाख, गोदाबरी फूलको २० हजार मालालाई औसत थोक मूल्य एक हजार २०० रुपैयाँका दरले दुई करोड ४० लाख र मिक्स फूलको ६० हजार मालालाई औसत थोक मूल्य ४०० रुपैयाँका दरले दुई करोड ४० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
साथै, एसोसिएसनले कात्तिक १२ गतेदेखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ । एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले मेलामा सेल्फिसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहने जानकारी दिए । मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा राखिने उनको भनाइ छ । मेलाको करिब ३९ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।