काठमाडौं, माछापुच्छ्रे बैंक लिमिटेडले सुनसरीमा निर्माण हुने २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ । कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित उक्त परियोजनाको वित्तीय व्यवस्थापन माछापुच्छ्रे बैंकको एकल लगानीमा सम्पन्न भएको हो ।
बैंकका अनुसार परियोजनाको कुल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी बैंकले गर्नेछ । परियोजनाको निर्माण अवधि करिब १.५ वर्ष रहनेछ । २० मेगावाट क्षमताको उक्त ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाबाट नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जाको उत्पादन क्षमता विस्तार हुनुका साथै ऊर्जा क्षेत्रमा दिगो पूर्वाधार विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । माछापुच्छ्रे बैंकले वातावरणमैत्री तथा दिगो विकासमा योगदान पुर्याउने ऊर्जा पूर्वाधार परियोजनामा वित्तीय पहुँच विस्तार गर्दै आएको जनाएको छ । सुनसरीमा निर्माण हुन लागेको सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुनु नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने बैंकको प्रतिबद्धताको निरन्तरता भएको बैंकले जनाएको छ ।
बैंकले नेपालको बढ्दो ऊर्जा आवश्यकता परिपूर्ति, स्वच्छ ऊर्जाको प्रवर्द्धन तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने परियोजनालाई आगामी दिनमा पनि प्राथमिकताका साथ वित्तीय सहयोग उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।