काठमाडौं, मुक्तिनाथ विकास बैंकले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ग्राहकका लागि विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले घर कर्जा योजनाअन्र्तगत आधार दरमा अधिकतम +०.२५ प्रतिशतसम्मको विशेष ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा उपलब्ध गराउने जनाएको छ ।
योजनाअन्तर्गत ग्राहकले घरजग्गाको मूल्यांकनको अधिकतम ७० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । पहिलो घर कर्जा लिने ग्राहकका हकमा भने घरजग्गाको मूल्यांकनको अधिकतम ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकले जनाएको छ ।
नेपालीहरूको प्रमुख चाडपर्वको अवसरमा आफ्नै घर निर्माण वा खरिद गर्ने योजना बनाएका ग्राहकलाई लक्षित गरी योजना ल्याइएको बैंकले जनाएको छ । प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध हुने भएकाले घर निर्माण तथा खरिद गर्न चाहने ग्राहकलाई यसबाट सहज हुने बैंकको विश्वास छ । विशेष घर कर्जा योजना २०८३ साल कार्तिक मसान्तसम्म लागू हुनेछ । उक्त अवधिपछि बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जाका अन्य सर्तहरू लागू हुनेछन् ।
बैंकका अनुसार उक्त कर्जा सुविधा देशभर रहेका आफ्ना एक सय ७६ वटै शाखाबाट उपलब्ध हुनेछ । इच्छुक ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी योजनाका साथै कर्जा प्रक्रियासम्बन्धी थप जानकारी लिन सक्नेछन् । यसैबीच, मुक्तिनाथ विकास बैंकले अटो लोन तथा कृषि एवं एसएमई व्यवसाय कर्जाका लागि समेत विशेष योजनाहरू सञ्चालनमा ल्याएको जनाएको छ ।