काठमाडौं, प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन तथा फिन्टेक क्षेत्रमा विकसित नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ‘एनआरबी फिन्टेक इनोभेसन सोकेस इभेन्ट २०२६’ कार्यक्रम सम्पन्न भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा काठमाडौंस्थित केन्द्रीय बैंकको बालुवाटार परिसरमा आयोजित कार्यक्रम आईतबार सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले प्रविधिमा आधारित वित्तीय सेवाको विकास र विस्तारलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको बताए । उनले फिन्टेक क्षेत्रको विकाससँगै सिर्जना हुने अवसर र चुनौतीलाई व्यवस्थापन गर्न नवप्रवर्तनमैत्री नियामकीय तथा सुपरिवेक्षकीय प्रणाली आवश्यक रहेको उल्लेख गरे ।
गभर्नर पौडेलले वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी प्रणाली र ग्राहक संरक्षण सुनिश्चित गर्दै नयाँ प्रविधिसँगै विकसित हुने जोखिमलाई सम्बोधन गर्नु राष्ट्र बैंकको महत्वपूर्ण जिम्मेवारी भएको बताए । साथै, फिन्टेक क्षेत्रको विकासका लागि सरकार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था र प्रविधि कम्पनीबीच समन्वय तथा सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा डेपुटी गभर्नर किरण पण्डितले फिन्टेक प्रवर्द्धनका लागि राष्ट्र बैंकले गरेका नीतिगत तथा संरचनागत प्रयासबारे जानकारी गराएका थिए । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले कार्यक्रमको उद्देश्य र डिजिटल वित्तीय सेवासम्बन्धी नीतिगत व्यवस्थाबारे प्रकाश पारेका थिए । प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था र फिन्टेक कम्पनीका २७ वटा स्टल राखिएका थिए । ती स्टलमार्फत डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, डिजिटल कर्जा, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, वित्तीय ठगी तथा जोखिम व्यवस्थापन र रेगटेकलगायतका क्षेत्रमा विकसित नवीन प्रविधि तथा समाधान प्रदर्शन गरिएको थियो । प्रदर्शनीको एक हजारभन्दा बढी प्रतिनिधि तथा सहभागीले अवलोकन गरेका थिए ।
राष्ट्र बैंकले आगामी दिनमा फिन्टेक वर्कशप, ह्याकाथन तथा इनोभेसन च्यालेन्जजस्ता कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ । यस्ता पहलले वित्तीय प्रविधिमा नयाँ विचार, समाधान तथा व्यावसायिक सम्भावनाको विकासलाई प्रोत्साहन गर्नुका साथै नेपालको डिजिटल वित्तीय सेवा क्षेत्रलाई थप सुरक्षित, व्यवस्थित र नवप्रवर्तनमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।