काठमाडौं, नवलपरासीको त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा आगामी मंसिर १ देखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुने भएको छ ।
महायज्ञमा पाँच करोड दीप प्रज्ज्वलन, विशाल धनधान्याचल स्थापना, शास्त्रीय पाठपारायण, पितृ उद्धार अनुष्ठान तथा सामूहिक धार्मिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को सत्संकल्पमा आयोजना हुन लागेको महायज्ञको उद्देश्य सनातन धर्म, वैदिक सभ्यता, संस्कार, संस्कृति तथा आध्यात्मिक ज्ञानको संरक्षण र प्रवर्द्धन गर्नु रहेको प्रचारप्रसार समितिका संयोजक अच्युतकृष्ण शरणले जानकारी दिए । महायज्ञमार्फत श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई क्रमशः विशिष्ट महाविद्यालयका रूपमा विकास गर्दै वैदिक ज्ञान, संस्कृत शिक्षा, धर्मदर्शन तथा आध्यात्मिक विषयमा अध्ययन र अनुसन्धान विस्तार गर्ने लक्ष्य राखिएको छ । दीर्घकालीन रूपमा नमुना वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यसमेत महायज्ञसँग जोडिएको आयोजकले जनाएको छ ।
महायज्ञको मुख्य आकर्षणका रूपमा विशाल धनधान्याचल तथा अष्टाचल स्थापना गरिनेछ । धार्मिक विधिअनुसार निर्माण गरिने धनधान्याचलमा विभिन्न देवीदेवताका मूर्ति स्थापना गरी शिरमा भगवान् श्रीशालिग्राम विराजमान गराउने योजना रहेको छ । धनधान्याचललाई मेचीदेखि महाकालीसम्मका विभिन्न देवस्थल तथा तीर्थस्थलको यात्रा गराएपछि महायज्ञस्थलमा विधिपूर्वक स्थापना गरिने आयोजकले जनाएको छ । अष्टाचलमा तिल, जौ, गहुँ, मकै, चना, मासलगायतका अन्न अर्पण गर्न सकिने व्यवस्था मिलाइनेछ । महायज्ञमा चार वेद, उपनिषद्, १८ पुराण, श्रीमद्वाल्मीकीय रामायण, महाभारत, दिव्यप्रबन्ध तथा विभिन्न स्तोत्रको पाठपारायण गरिनेछ । श्रीगजेन्द्रमोक्ष स्तोत्र, श्रीविष्णुसहस्रनाम र मूल रामायणको सहस्रावृत्ति पारायणसँगै गोवंश संरक्षण तथा समृद्धिको कामनासहित श्रीपञ्चमहालक्ष्मी हवन आराधना पनि गरिने कार्यक्रम छ ।
महायज्ञ अवधिभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धर्माचार्य, विद्वान् तथा विदुषीबाट शास्त्रीय प्रवचन प्रस्तुत गरिनेछ । धार्मिक कलाकारबाट भजनकीर्तन, देवलीला, झाँकी तथा चेतनामूलक नाटक प्रदर्शन गर्ने कार्यक्रम पनि तय गरिएको छ । आयोजकका अनुसार महायज्ञमा सयौँ गौमाताको सामूहिक पूजन, सामूहिक श्रीशालिग्राम तथा गण्डकी पूजन र एक हजार आठ कन्या तथा बटुकको पूजन गरिनेछ । दैनिक योग तथा ध्यान शिविर सञ्चालन गर्नुका साथै पाँच करोड दीप प्रज्ज्वलन गर्ने लक्ष्य राखिएको छ । नेपालका जलसम्पदा, प्राकृतिक तथा सांस्कृतिक सम्पदा र धार्मिक तीर्थस्थलको महत्त्वबारे प्रवचन तथा विमर्शसमेत गरिनेछ । यस्ता कार्यक्रममार्फत नेपालको मौलिक सभ्यता र आध्यात्मिक परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने लक्ष्य आयोजकले लिएको छ ।