काठमाडौँ, साताको दोस्रो कारोबार दिन मंगलबार सेयरबजार परिसूचक नेप्से झिनो अंकले बढे पनि अधिकांश उपसमूहमा गिरावट देखिएको छ । सोमबार चार दशमलव ३४ अंकले घटेको नेप्से मंगलबार भने शून्य दशमलव ९४ अंकले बढेको हो ।
योसँगै सेयरबजार दुई हजार छ सय ३० दशमलव ७६ विन्दुमा पुगेको छ । बजार परिसूचकमा सामान्य सुधार देखिए पनि बैंकिङ, विकास बैंक, जीवन बीमालगायतका उपसमूहमा यसदिन दबाब देखिएको छ । यसदिन तीन सय ६० वटा कम्पनीका ५३ हजार ३० पटक कारोबार भयो । यसमा एक करोड ५३ लाख ४६ हजार दुई सय २६ कित्ता शेयर किनबेचपछि पाँच अर्ब ७९ करोड ९३ लाखभन्दा बढीको कुल कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये यसदिन जलविद्युत्, लघुवित्त, सामूहिक लगानी कोष र अन्य गरी चार उपसमूहका सूचक बढेका छन् । बाँकी नौ उपसमूहका सूचक घटेका छन् । जलविद्युत् उपसमूह सबैभन्दा बढी ५९ दशमलव शून्य पाँच अंकले बढेर तीन हजार छ सय २९ दशमलव ६८ विन्दुमा पुगेको छ । यसैगरी लघुवित्त उपसमूह शून्य दशमलव ७६, सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात र अन्य उपसमूह एक दशमलव १३ अंकले बढेका छन् ।
यता जीवन बीमा उपसमूहमा सबैभन्दा ठूलो गिरावट आएको छ । उक्त उपसमूहको सूचक ७० दशमलव ९१ अंकले घटेर ११ हजार आठ सय १५ दशमलव ४७ विन्दुमा झरेको छ । उत्पादनमूलक उपसमूह पनि ५४ दशमलव ४१ अंकले घटेको छ । विकास बैंक उपसमूह २४ दशमलव ७२ अंकले घटेर पाँच हजार चार सय १९ दशमलव ७३ विन्दुमा झरेकोमा वाणिज्य बैंक उपसमूह पाँच दशमलव ८९ अंकले घटेर एक हजार पाँच सय ६० दशमलव ७४ विन्दुमा पुगेको छ भने फाइनान्स उपसमूह चार दशमलव १५ अंकले घटेर दुई हजार एक सय ८७ दशमलव २९ विन्दुमा सीमित भएको छ ।
यसैगरी निर्जीवन बीमा उपसमूह पाँच दशमलव ८६ अंकले घटेर नौ हजार पाँच सय चार दशमलव ६५ विन्दुमा झरेको छ । यीबाहेक होटल तथा पर्यटन उपसमूह ३५ दशमलव २३, व्यापार उपसमूह आठ दशमलव ३९ र लगानी उपसमूह शून्य दशमलव २२ अंकले ओरालो लागेका छन् ।
मंगलबारको कारोबारमा बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड सबैभन्दा बढी कमाउने कम्पनी बनेको छ । यसको विपरीत युनिलिभर नेपाल लिमिटेड सबैभन्दा बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको छ । कारोबार रकमका आधारमा भने घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।