केही पहिले प्रधानमन्त्रीले आाफ्नो नेतृत्वको सरकार बनेपछिका दुईअढाइ महिनामै सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम व्यापक नाफामा गएको भनेर सामाजिक सञ्जालमार्फत नाफामा गएको रकमको विवरणसहित बताएका थिए । मिति नै तोकेर उनले जुन बेला नाफामा गएको भनेर बताए तर यता यो संस्था झन्झन् घाटामा गइरहेको उनले बताएभन्दा उल्टो प्रकारका विवरणहरू आउन थाले । निगम कुन हदसम्मको घाटामा गइरहेको छ भन्ने स्वयं पर्यटन मन्त्री र निगमका कार्यकारी तहबाट नै बताउन थालिएका देखियो । अवस्था कस्तोसम्म भने निगमले तलब नदिएका कारण विमान चालकहरूले सामूहिक राजीनामा नै दिन थाले भने यता मुख्य जहाजहरू ग्राउन्डेड नै हुन थाले । यदि प्रधानमन्त्रीले भने जस्तो निगम वास्तवमा नै नाफामा गएको थियो भने यो स्थिति आउने थिएन भन्ने त सामान्य मानिसद्वारा पनि बुझ्न सकिएला । यता–यस्ता दृश्यहरू प्रकट भइरहँदा उता प्रधानमन्त्री भने मौन छन् । कतिसम्म भने ६ जना पाइलटले सामूहिक राजीनामा दिँदा पनि यसलाई कुनै उल्लेख्य विषय मानिएन ।
त्यसबेला प्रधानमन्त्रीले सञ्जालमा जस्तो जवाफ दिए त्यसको पृष्ठभूमिले पनि आफ्नो सरकार बनेपछि नेवानिको नाफाका बारे उनले यो कुरा भन्नैपर्ने ठानेको देखाउँछ अर्थात् यस्तो ठूलो उपलब्धि हुँदाहुँदै आफूमाथि किन आलोचना भइरहेको छ भन्ने कुराको जवाफमा उनले यस्तो जानकारी गराएका हुनुपर्छ । संसद्मा सत्तापक्षका सांसदसमेतले प्रधानमन्त्रीको मौनताबारे प्रश्न सोधिएको लगत्तै भोलिपल्ट उनले सञ्जालमा संसद्मा उठाइएका विषयभन्दा बाहिरका कुरा अर्थात् रुग्ण उद्योगमा के–कस्ता ऐतिहासिक सुधार आएको भन्दै उनले नेपाल वायुसेवा निगम कति नाफामा गएको छ भनेर लेखेका हुन् । त्यसमा गएको चैत्र महिानादेखि त्यही वर्षको असारसम्मको नाफाअंक उल्लेख भएको थियो । उनको सञ्जालमा निगमबारे भनिएको छ– नेपाल वायुसेवा निगमबाट गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरिएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो । यस अवधिमा नेपाल एयरलाइन्सको सिट उपयोगीता अकुपेन्सी बढेर ८६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्न लिइएको ऋणबापतको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत यसै अवधिमा भुक्तानी गरिएको छ ।
नयाँ सरकार बनेको यति छोटो समयमा निगमको आर्थिक अवस्था यति मजबुत भइसकेको थियो भने फेरि त्यसपछि लगत्तै माथि उल्लेख भएजस्तो यो हदसम्मको दूरावस्थामा पुगेको देखिने थिएन होला । यो असौजको पहिलो हप्तादेखि नै नेपाल वायुसेवा निगम धराशायी बन्दै गएको भनेर समाचारका प्रमुख शीर्षकहरू बनिरहेका अवस्थाले पनि धेरै कुरा बताउलान् । यी समाचारमा बेलैमा पदाधिकारी नियुक्ति नहुनेदेखि भएका जहाज पनि राम्ररी चल्न नसक्नेसम्मका समस्या समाधान नहुँदा निगम क्रमशः धराशायी बन्दै गएको अवस्था छ । वास्तवमा नै सुशासनको नाममा बनेको नयाँ सरकारले आफ्नो ६ महिना बितिसकेको समयसम्म पनि निगममा एउटा कार्यकारी अध्यक्ष नियुक्त गर्न नसकिएको अवस्था सामान्य होइन । यो दूरावस्थालाई मध्यनजर गरेर नै यसका पाइलटहरूले धमाधम राजीनामा दिन थालेका बुझ्न सकिन्छ । वर्तमानमा तलबसमेत समयमा दिन सकिएको छैन भने सरकारको अकर्मण्यताले भविष्य झन्झन् असुरक्षित देखिन थालेपछि त्यस्तो संस्थामा को टिकिरहला भन्ने प्रश्न उठ्ने भयो नै । यता निगमको हालत यस्तो छ भने यही अव्यवस्थालाई छोप्न प्रधानमन्त्रीले अघिल्ला सरकारहरूलाई निकम्मा र आफूलाई सबैभन्दा अब्बल देखाउनकै लागि यस्ता झुटा विवरण सुनाउँछन् भने उनका कुरा कसरी पत्याउने भन्ने प्रश्न उठ्ने भयो नै ।