काठमाडौँ, नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजी बजारलाई सेयर कारोबारमा मात्र सीमित नराखी ग्रामीण अर्थतन्त्र, उत्पादनमूलक क्षेत्र र आम नागरिकको आर्थिक जीवनसँग जोड्नुपर्ने बताएका छन् ।
मिडिया इन्टरनेसनलले आज काठमाडौँमा शुभारम्भ गरेको ‘सम्भावना’ कार्यक्रममा अध्यक्ष भट्टले पुँजी बजारको दायरा विस्तार गरी देशको आर्थिक विकास र उत्पादन वृद्धिसँग जोड्नुपर्नेमा जोड दिए । उनले आमनागरिकले पुँजी बजारलाई मुख्यतः सेयर किनबेचका रूपमा बुझ्ने गरेको उल्लेख गर्दै यसको वास्तविक उद्देश्य, सम्भावना र आर्थिक विकासमा पु¥याउनसक्ने योगदानबारे व्यापक जनचेतना आवश्यक रहेको बताए ।
अध्यक्ष भट्टका अनुसार नेपालमा पुँजी बजारको चर्चा हुँदा प्रायः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हुने सेयर कारोबार, बजार परिसूचकमा आउने उतारचढाव तथा लगानीकर्ताले कमाउने वा गुमाउने रकमलाई प्राथमिकता दिने गरिएको छ ।