आर्थिक दैनिक पत्रिकाको मिति २०८३ साउन १ गते, शुक्रबार प्रकाशित ‘डोल्मा–उपाय विवाद : विदेशी लगानीको नाममा कानुनको खुला उल्लंघन ?’ शीर्षकको सामग्रीमा उपाय समूह (उपाय सिटी कार्गो प्रालि/उपाय वेयरहाउसिङ प्रालि)का व्यवस्थापक सञ्चालक सुमन रायामाझीले खण्डन गर्दै आफ्नो भनाइ लिखित रूपमा पठाएका छन् ।
रायामाझीले उक्त सामग्री प्रकाशित गर्नुअघि कम्पनीसँग कुनै स्पष्टीकरण वा प्रतिक्रिया माग नगरी एकतर्फी रूपमा कम्पनीको प्रतिष्ठामाथि आघात पुग्ने गरी अनुमान र आशंकामा आधारित निष्कर्ष प्रकाशित गरिएको आर्थिक दैनिकलाई पठाइएको लिखित भनाइमा उल्लेख गरेका छन्, ‘प्रकाशित सामग्रीमा उपाय सिटी कार्गो प्रालिले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५को नकारात्मक सूचीअन्तर्गतको ‘आन्तरिक कुरियर सेवा उल्लंघन गरेको’ भनी उल्लेख भएको रहेछ । उक्त विषय फरक परेको छ । यथार्थ ‘ऐनले नै आन्तरिक कुरियार सेवा’को परिभाषा नगरेको र हुलाक ऐन, २०१९ अनुसार ब्याख्या गर्दा कम्पनीको व्यवसाय उक्त सूचीभित्र नपर्ने रहेको छ ।’
पत्रमा भनिएको छ, ‘उपायको वास्तविक व्यावसायिक क्रियाकलाप भनेको नाफामूलक प्रयोजनका लागि व्यापारिक वस्तुहरूको उच्च आवृत्तिको ढुवानी÷लजिस्टिक्स÷डेलिभरी सेवा हो, जुन कानुनी दृष्टिकोणले ‘आन्तरिक कुरियर सेवा’ भित्र पर्दैन । कम्पनीको नाममा कार्गो शब्द रहेकै वा सेवाको सामान्य विवरणकै आधारमा व्यवसायको कानुनी वर्गीकरण गर्न मिल्दैन, बरु उद्योग दर्ता प्रमाणपत्र तथा प्रबन्धपत्रमा उल्लिखित उद्देश्यले नै आधार मान्नुपर्ने हुन्छ ।’
— उद्योग विभागबाट जारी उद्योग दर्ता प्रमाणपत्रमा उपायको मुख्य उद्देश्य विद्युतीय माध्यम (अनलाइन वा सफ्टवेयर वा एप्स वा यस्तै अन्य प्रकारको माध्यम) प्रयोग गरी ढुवानीसम्बन्धी सेवा लिने र दिने बीचको सेवा प्रदान गर्ने भनी किटानसाथ उल्लेख भएको छ ।
पत्रमा उपायले भनेको छ, ‘यसरी उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल राष्ट्र बैंक ऐन कार्यान्वयनका लागि कानुनतः जिम्मेवार तीनवटै निकायले नै उपायको व्यावसायिक वर्गीकरण र सेमा भएको विदेशी लगानीलाई स्वीकृति प्रदान गरिसकेको अवस्थामा, उक्त लगानीलाई कानुनविपरीत भनी आरोप लगाउनु तथ्य र कानुन दुवै दृष्टिले आधारहीन हुन्छ । यसरी उपाय सिटी कार्गो प्रालिको व्यवसाय ऐनको अनुसूचीको क्रम संख्या ५ अन्तर्गतको आन्तरिक कुरियर सेवाको अर्थभित्र पर्दैन र व्यवसाय नै प्रतिबन्धित सूचीभित्र नपरेको हुँदा यसमा भएको विदेशी लगानीलाई नेपाल कानुनविपरीत भनी कुनै हालतमा व्याख्या गर्न मिल्दैन ।’
उपायले आर्थिक दैनिकमा पठाएको पत्रमा भनेको छ, ‘मिति ६ श्रावण २०८३ (२२ जुलाइ २०२६) मा आर्थिक दैनिकमा ‘उपाय समूह बजारमा कसरी टिक्ला ?’ शीर्षक र ‘६६ करोडभन्दा बढी बैंक ऋण र नकारात्मक सञ्चित पुँजीले बढायो वित्तीय जोखिम’ उपशीर्षकमा एउटा समाचार प्रकाशित भएको छ । उक्त समाचारमा उपाय वेयरहाउसिङ प्रालिको सेयर पुँजी (५ करोड ५० लाख), सेयर पुँजीका लागि अग्रिम रकम (४ करोड), दीर्घकालीन ऋण (करिब २८ करोड ९४ लाख) अल्पकालीन ऋण (करिब २१ करोड ८६ लाख) तथा समूहको एकीकृत विवरण अनुसार सेयर पुँजी (करिब ३२ करोड ५७ लाख), सञ्चित घाटा (करिब ४१ करोड २७ लाख), कुल बैंक ऋण (६६ करोडभन्दा बढी) र आर्थिक वर्ष २०८१/०८२ को खुद घाटा (करिब १२ करोड ९० लाख) जस्ता आँकडा उल्लेख गरी समूहको बजारमा टिक्ने क्षमता र ऋण भुक्तानी क्षमतामाथि प्रश्न उठाइएको छ । समाचारमा प्रयोग गरिएका उपरोक्त सबै आँकडा आर्थिक वर्ष २०८१/०८२ (अर्थात असार मसान्त २०८२ मा समाप्त, गणना अनुसार १६ जुलाई २०२५ मा अन्त्य भएको वर्ष) का हुन् । यी आँकडा प्रकाशनको मिति (६ श्रावण २०८३, २२ जुलाइ २०२६) भन्दा एक वर्षभन्दा बढी पुराना हुन् ।’
उपायले आर्थिकमा पठाएको सोही पत्रमा उल्लेख गरेको छ, ‘समाचारमा प्रयुक्त वित्तीय विवरणलाई सार्वजनिक रुपमा उपलब्ध लेखापरीक्षण गरिएको वित्तीय विवरण भनी उल्लेख गरिएको छ । तर उपाय समूहअन्तर्गतका उल्लिखित कम्पनीहरू निजी क्षेत्रको प्रालि कम्पनी भएकाले यस्तो विस्तृत वित्तीय विवरण सर्वसाधारणका लागि खुला अभिलेखको रुपमा कुनै नियामक निकाय (कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड आदि) मा सार्वजनिक रुपमा राखिएको छैन । त्यसैले समाचारमा दाबी गरिएको सार्वजनिक स्रोत ठ्याक्कै के हो (कुन नियामक निकाय, कुन सार्वजनिक अभिलेख वा प्रकाशत हो) भनी यकिन खुलाउन आवश्यक देखिन्छ ।