मानिस कतिपय अवस्थामा आफैंले खनेको खाल्डोमा आफैं फस्छ । नचाहिने रवाफ देखाउन खोज्दा आफैंलाई पीडा दिन्छ । आफ्नो क्षमताभन्दा धेरै आर्थिक भार लिन खोज्छ र त्यही भारले मानसिक तनाव बढाउँछ । घरमा अशान्ति निम्त्याउँछ । भविष्यका लागि बचत गर्न सक्दैन, आफ्नै स्वास्थ्य र आवश्यकतामा ध्यान दिन सक्दैन, तर देखावटी कुरामा भने बढीभन्दा बढी खर्च गर्न अघि सर्छ ।
आवश्यक कुरा किन्न पनि कतिपयलाई गाह्रो हुन्छ, राम्रो जीवन बिताउन सकिरहेको हुँदैन । कति परिस्थितिले निम्त्याउँछ भने कति आफैंले । जीवनमा के राम्रो हो र के नराम्रो हो, यसको कुनै एउटै मापदण्ड हुँदैन । त्यसैगरी, केलाई खुसी भन्ने र केलाई दुःख भन्ने कुराको पनि एउटै परिभाषा हुँदैन । खुसी क्षणिक हुन्छ, दुःख पनि क्षणिक नै हुन्छ । जीवन एउटा चक्र हो । तर आफ्नो मनलाई स्थिर राखेर, बुद्धिमानीपूर्वक निर्णय गर्दै अघि बढ्न सके मानिसले धेरै हदसम्म सहज जीवन बिताउन सक्छ ।
नेपालमा एउटा सामान्य परिवारलाई बच्चा पढाउन, घरभाडा तिर्न, बिरामी पर्दा उपचार गर्न, राम्रो खान र लगाउन पनि निकै धौधौ पर्न सक्छ । मानिसले सधैं अघि बढ्ने प्रयास गर्नुपर्छ, मेहनत गर्नुपर्छ । तर मेहनत गर्दागर्दै पनि कहिलेकाहीँ आम्दानी कम हुन्छ, व्यापारमा घाटा हुन्छ, ऋण थपिन्छ र मानिस तनावमा पर्छ ।
त्यसैले ‘घाँटी हेरेर हाड निल्नु’ भनेझैं आफ्नो क्षमता र आम्दानीअनुसार जीवनशैली बनाउन आवश्यक हुन्छ । अरूको जीवनशैलीको नक्कल गर्नुभन्दा आफ्नो परिस्थितिअनुसार जीवनलाई व्यवस्थित र सरल बनाउनु बुद्धिमानी हो ।
विशेषगरी विवाहपछि परिवारको जिम्मेवारी बढ्छ । बच्चा भएपछि उसको लालनपालन, शिक्षा, स्वास्थ्य र भविष्यको जिम्मेवारी थपिन्छ । यस्तो अवस्थामा आफ्नो आम्दानीअनुसार खर्च व्यवस्थापन गर्न सके आर्थिक भार कम हुन्छ र परिवारमा पनि शान्ति कायम गर्न सजिलो हुन्छ ।
विशेषगरी आफ्नै ठाउँमा बस्ने हुन् वा एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने तथा गाउँबाट सहरमा बसाइँ सरेर आएका, संघर्ष गरिरहेका र सीमित आम्दानीमा परिवार चलाइरहेका मानिसहरूले केही सामान्य कुरामा ध्यान दिन सके जीवनलाई धेरै हदसम्म सहज बनाउन सक्छन् । अर्थात् जति आम्दानी छ, त्यही अनुसार मिलाएर खर्च गर्दा अनावश्यक तनावबाट मुक्ति पाउन सकिन्छ । हुनत मानिसको जीवनभर आवश्यकता असीमित हुन्छन्, हिँड्ने बेला साइकल चढ्ने रहर, अनि क्रमैसँग एक पछि अर्को ठूलो सवारीसाधनको रहर हुन्छ नै, तर सकेको काम गर्ने, मेहनत गर्ने र सोचविचार गरी वित्तीय व्यवस्थापन गरी अगाडि बढ्नु राम्रो हुन्छ । यसमध्ये विशेष ध्यान पुर्याउनु पर्ने कुराहरूलाई निम्नानुसार मान्न सकिन्छ ।
१. बच्चालाई विद्यालय भर्ना गर्दा सोचविचार गर्ने
हाम्रो समाजमा महँगो विद्यालय नै सबैभन्दा राम्रो हुन्छ भन्ने धारणा छ, तर यो पटक्कै होइन । आफ्नो गच्छेअनुसारको विद्यालयको छनोट गर्नु बुद्धिमानी मानिन्छ । बच्चाको शिक्षा महत्वपूर्ण हो, तर विद्यालय छनोट गर्दा आफ्नो आर्थिक क्षमताको पनि विचार गर्नुपर्छ ।
घरबाट सहज रूपमा पुग्न सकिने, राम्रो शैक्षिक वातावरण भएको र आफ्नो आम्दानीले धान्न सक्ने विद्यालय रोज्नु बुद्धिमानी हुन्छ । बच्चालाई महँगो विद्यालयमा पढाउनकै लागि अभिभावकले ऋण लिएर र अन्य आवश्यक खर्च कटौती गरी गरी महँगो विद्यालयको छनोट गर्नु हुन्न । यही कारण आर्थिक तनावमा बस्नुपर्ने अवस्था आउनु उचित हुँदैन । अतिरिक्त शुल्क पनि हुने हुँदा केवल शुल्क हेरेर होइन, समग्र शैक्षिक खर्चको र गुणस्तर हेरी विद्यालय छनोट गर्नुपर्छ ।
२. घरभाडा लिँदा र घर बनाउँदा आफ्नो आवश्यकता र आम्दानी हेर्ने
घर भाडामा लिँदा ठूलो र महँगो घर नै राम्रो हुन्छ भन्ने सोच राख्नु आवश्यक छैन । आफूले तिर्न सक्ने भाडामा सफा, सुरक्षित र सुविधाजनक घर रोज्न सकिन्छ । काम गर्ने ठाउँ, बच्चाको विद्यालय, बजार, स्वास्थ्य संस्था तथा सार्वजनिक यातायात सहज हुने ठाउँमा बस्न सके समय र यातायात खर्च पनि बचत हुन्छ । केही सस्तो घरको खोजीमा अत्यन्त टाढा बस्दा दैनिक यातायातमा धेरै पैसा र समय खर्च हुन सक्छ । घर छनोट गर्दा भाडाको साथै पायक पर्ने कुराको र समयको मूल्य पनि विचार गर्नुपर्छ ।
३. आफ्नो गच्छेअनुसार सफा र व्यवस्थित जीवन बिताउने
ठूलो, महँगो वा विलासी घरमा बस्दैमा जीवन राम्रो हुन्छ भन्ने छैन । आफ्नो क्षमता र आवश्यकताअनुसारको घरमा सफा, व्यवस्थित र शान्त वातावरण बनाउन सकिन्छ । घर सानो भए पनि सफा र व्यवस्थित हुन सक्छ । आफ्नो आम्दानीभन्दा धेरै महँगो ठाउँमा बस्दा वा खर्चिलो घर बनाउँदा हरेक महिना भाडा÷किस्ताको तनाव बढ्न सक्छ । त्यसैले आफ्नो क्षमताभन्दा बाहिरको जीवनशैली देखाउनुभन्दा आफ्नो क्षमताभित्रको व्यवस्थित जीवन राम्रो हुन्छ ।
४. मितव्ययिता अपनाउने
मितव्ययिता भनेको पैसा खर्च नगर्नु मात्र होइन, पैसाको सही ठाउँमा सही मात्रामा प्रयोग गर्नु हो । नचाहिने सामान किन्ने, प्रयोग नै नहुने वस्तुमा पैसा खर्च गर्ने, अरूले किनेको देखेर आफूले पनि किन्नुपर्ने सोच राख्ने बानीले आर्थिक भार बढाउँछ । सक्दो ‘क्बखभ ःयचभ, क्उभलम ीभकक’ को सिद्धान्त अपनाउन सकिन्छ । आम्दानीबाट केही रकम नियमित रूपमा बचत गर्ने र बाँकी रकम आवश्यकताअनुसार खर्च गर्ने बानीले भविष्यको आर्थिक जोखिम कम गर्न मद्दत गर्छ ।
५. सकेसम्म स्वस्थ खाना घरमै बनाएर खाने र मौसमी खानामा ध्यान दिने
बाहिरको खाना खानु कहिलेकाहीँ आवश्यक वा रमाइलो हुन सक्छ । तर दैनिकजसो बाहिर खाना खाने बानीले खर्च पनि बढाउँछ र खानाको गुणस्तरमा पनि सधैं नियन्त्रण रहँदैन । सकेसम्म घरमै स्वस्थ खाना बनाएर खाने बानीले स्वास्थ्य पनि राम्रो र आर्थिक भारमा कमी ल्याउन सकिन्छ । काममा लैजान मिल्ने अवस्था छ भने घरबाटै टिफिन लैजान सकिन्छ । यसले दैनिक खर्च घटाउनुका साथै परिवारले के खाइरहेको छ भन्ने कुरामा पनि बढी नियन्त्रण दिन्छ ।
मौसमअनुसार उत्पादन हुने फलफूल, तरकारी तथा अन्य खाद्यवस्तु सामान्यतया सहज रूपमा उपलब्ध हुन्छन् र धेरै अवस्थामा सस्तो पनि पर्न सक्छन् ।
त्यसैले महँगो वा मौसमबाहिरका खानेकुराभन्दा स्थानीय तथा मौसमी खाद्यवस्तुलाई प्राथमिकता दिन सकिन्छ । यसले खानाको खर्च व्यवस्थापन गर्न सहयोग गर्छ र स्वस्थ खानाको बानी पनि विकास गर्न सक्छ ।
६. छिमेकी र समाजको अनावश्यक नक्कल नगर्ने
‘अरूले के गर्लान् ?’ भन्ने सोचले मानिसलाई अनावश्यक खर्चतर्फ धकेल्न सक्छ । छिमेकीले केही नयाँ कुरा किन्यो भने आफूले पनि ऋण लिएर भए पनि किन्नुपर्ने छैन । कसैले महँगो कपडा लगाएको छ भन्दैमा आफूले पनि त्यस्तै गर्नुपर्छ भन्ने छैन । अरूको जीवन हेरेर आफ्नो आवश्यकता निर्धारण गर्नु हुँदैन । आफ्नो परिवारको आवश्यकता, आम्दानी र भविष्यलाई प्राथमिकता दिनुपर्छ । अरूको हेरेर आफ्नो जीवनलाई ढाल्नु हुँदैन ।
७. साथीभाइको घेरा पनि सन्तुलित बनाउने
धेरै साथी हुनु नराम्रो कुरा होइन । तर साथीभाइको संगतले आफ्नो आर्थिक व्यवहार र जीवनशैलीमा अनावश्यक दबाब सिर्जना गर्छ भने त्यसमा विचार गर्नुपर्छ । मादक पदार्थ खाने, चुरोट खैनी खाँदै हिँड्ने र जहाँ बोलायो त्यही निम्तो मान्न जाने र हरेक निम्तो स्वीकार गर्ने, हरेक पटक बाहिर खाने बानीले र साथीहरूले गरेको खर्चमा आफूले पनि प्रतिस्पर्धा गर्नाले अनावश्यक घरमा तनाव हुने र आर्थिक भार पर्ने हुन्छ । त्यसैले थोरै तर असल, सहयोगी र सकारात्मक सोच भएका साथीहरू पर्याप्त हुन्छन् र तनाव कम हुन्छ ।
८. स्वास्थ्यलाई प्राथमिकता दिने
स्वास्थ्यमा गरिएको लगानीलाई खर्चका रूपमा मात्र हेर्नु हुँदैन । स्वस्थ जीवनशैलीले शारीरिक तथा मानसिक स्वास्थ्य दुवैलाई राम्रो राख्न सहयोग गर्छ । सन्तुलित खाना, नियमित हिँडडुल वा व्यायाम, पर्याप्त निद्रा, योग, ध्यान तथा सकारात्मक सोचजस्ता कुराले दैनिक जीवनमा राम्रो प्रभाव पार्न सक्छन् । स्वस्थ जीवनशैलीले बिरामी पर्ने जोखिम घटाउन सहयोग गर्न सक्छ र त्यसबाट उपचारमा लाग्ने सम्भावित खर्च पनि कम हुन सक्छ । त्यसैले पैसा कमाउने क्रममा स्वास्थ्यलाई बेवास्ता गर्नु हुँदैन ।
९. देखावटी प्रतिस्पर्धाबाट टाढा रहने
‘अरूले के भन्लान् ?’ भन्ने डरले मानिसले आफ्नो क्षमताभन्दा धेरै खर्च गर्न सक्छ । महँगो कपडा लगाउँदैमा मानिस राम्रो देखिन्छ भन्ने छैन । सफा, मिलेको र अवसरअनुसारको पोसाक पनि पर्याप्त हुन्छ । महँगो मोबाइल, गाडी, कपडा, भोज वा अन्य वस्तु देखाएर आफ्नो सामाजिक हैसियत प्रमाणित गर्न खोज्दा आर्थिक भार बढ्न सक्छ । आफूलाई आवश्यक कुरा प्रयोग गर्ने र अनावश्यक प्रतिस्पर्धाबाट टाढा रहने बानीले आर्थिक तथा मानसिक दुवै तनाव घटाउन सक्छ ।
१०. सबैसँग राम्रो सम्बन्ध कायम गर्ने
मानिस सामाजिक प्राणी हो । परिवार, छिमेकी, साथीभाइ र सहकर्मीसँगको राम्रो सम्बन्धले जीवनमा सकारात्मक ऊर्जा दिन सक्छ । सबैसँग हाँस्ने, बोल्ने, सम्मान गर्ने र सकेसम्म सहयोगी व्यवहार गर्ने बानीले सामाजिक सम्बन्ध बलियो बनाउँछ । कठिन समयमा असल सम्बन्ध भएका मानिसबाट सहयोग, सुझाव वा हौसला पनि प्राप्त हुन सक्छ र जीवन सहज हुन्छ ।
११. सामाजिक सञ्जालको प्रयोग सीमित गर्ने
सामाजिक सञ्जालमा अरूको जीवन हेर्दा आफ्नो जीवनसँग तुलना गर्ने बानी विकास हुन सक्छ । अरूको सफलता, महँगो यात्रा, घर, गाडी वा जीवनशैली देखेर आफूलाई कमजोर ठान्ने अवस्था पनि आउन सक्छ ।
त्यसैले सामाजिक सञ्जालमा आवश्यकभन्दा धेरै समय बिताउनु हुँदैन । अनावश्यक समाचार, विवाद, नकारात्मक भिडियो वा लगातार मन अशान्त बनाउने सामग्रीबाट पनि दूरी राख्न सकिन्छ । नचाहिने कुरा आवश्यक हुँदैन ।
१२. कार्यस्थलमा पनि राम्रो सम्बन्ध बनाउने
काम गर्ने ठाउँमा सहकर्मी, वरिष्ठ तथा अन्य व्यक्तिसँग सम्मानजनक र सहयोगी व्यवहार राख्दा काम गर्ने वातावरण सहज बन्न सक्छ । कार्यालयमा निरन्तर विवाद, रिस, ईष्र्या र तनावको वातावरण बनाइराख्दा कामको गुणस्तर मात्र होइन, व्यक्तिगत जीवनमा पनि त्यसको प्रभाव पर्न सक्छ । त्यसैले आफ्नो जिम्मेवारी पूरा गर्दै अरूलाई सम्मान गर्ने, आवश्यक ठाउँमा सहयोग गर्ने र समस्या आएमा संवादबाट समाधान खोज्ने बानीले तनाव कम गर्न मद्दत गर्छ ।
१३. जे छ त्यसमा सन्तुष्ट हुँदै अघि बढ्ने
सन्तोषी सदा सुखी, असन्तोषी सदा दुःखी हो । सन्तुष्ट हुनु भनेको प्रगतिको प्रयास नै नगर्नु होइन । मानिसले आफ्नो अवस्था सुधार्न निरन्तर मेहनत गर्नुपर्छ तर चाहेको कुरा तुरुन्त प्राप्त भएन भन्दैमा निरन्तर दुःखी भइरहनु पनि उचित हुँदैन । आफूले पाएको कुराको मूल्य बुझ्दै, नपाएको कुरा प्राप्त गर्न प्रयास गर्दै अघि बढ्नुपर्छ । आम्दानी बढाउने प्रयास गर्नुपर्छ, तर भएकोलाई व्यवस्थित बनाउँदै अगाडि बढ्नुपर्दछ ।
१४. अरूको जीवनसँग आफ्नो जीवन तुलना नगर्ने
‘उसले घोडा चढ्यो भन्दैमा आफू धुरी चढ्नुपर्छ’ भन्ने होइन । अरू मानिस कहाँ पुगे, उनीसँग के छ, उनी कस्तो घरमा बस्छन् वा कस्तो गाडी चढ्छन् भन्ने कुराले आफ्नो जीवनको मूल्य निर्धारण गर्दैन । आफ्नो जे छ त्यसमा रमाउनु पर्दछ । कुनै कारणले सपना पूरा नहुँदैमा आफ्नो सम्पूर्ण जीवनलाई असफल ठान्नु हुँदैन । सानो–सानो उपलब्धिमा पनि खुसी हुन सिक्नुपर्छ । जीवनका सामान्य खुसीहरू—परिवारसँगको समय, स्वस्थ शरीर, शान्त निद्रा, प्रकृतिसँगको सम्बन्ध, असल सम्बन्ध र मनको शान्ति—पनि अत्यन्त मूल्यवान् हुन्छन् ।
१५. पैसा खर्च गरेर मात्र खुसी खोज्नुभन्दा प्रकृतिसँग पनि रमाउन सिक्ने
आजको जीवनमा धेरैपटक पैसा खर्च गर्नुलाई नै मनोरञ्जन र खुसीसँग जोडिन्छ । महँगो रेस्टुरेन्ट, यात्रा, किनमेल वा अन्य उपभोगबाट क्षणिक खुसी प्राप्त हुन सक्छ । तर प्रकृतिमा हिँड्नु, बिहानको घाममा बस्नु, परिवारसँग समय बिताउनु, साथीभाइसँग कुराकानी गर्नु, पुस्तक पढ्नु, बगैंचामा काम गर्नु वा शान्त वातावरणमा केही समय बिताउनु पनि जीवनका सुन्दर अनुभव हुन सक्छन् । यसको अर्थ पैसा आवश्यक छैन भन्ने होइन । पैसा जीवनका आधारभूत आवश्यकता पूरा गर्न आवश्यक छ । त्यसका लागि मेहनत गर्नुपर्छ, कमाउनुपर्छ र बचत पनि गर्नुपर्छ । तर पैसालाई नै सर्वोपरि ठान्नु हुँदैन ।
अन्त्यमा भन्नुपर्दा,
जीवनलाई कठिन बनाउने धेरै कुरा बाहिरी परिस्थितिबाट आउँछन्, आफू शान्त हुने, भएकोमा खुसी हुने, सन्तुलित जीवन जिउने, अनावश्यक ऋण, देखावटी जीवनशैली, अरूसँगको तुलना, नचाहिने खर्च, असन्तुलित जीवनशैली र सामाजिक दबावको दलदलमा फस्नु हुँदैन । जीवनमा सधैं ठूलो कुरा मात्र खोजिरहनु आवश्यक छैन । सानो कुरामा खुसी खोज्ने, आफ्नो क्षमतामा अगाडि बढ्ने, आम्दानीअनुसार खर्च गर्ने, स्वास्थ्यको ख्याल गर्ने, परिवारलाई समय दिने र अरूसँग अनावश्यक प्रतिस्पर्धा नगर्ने हो भने जीवन धेरै सहज बन्न सक्छ । यो धर्ती सुन्दर छ । यसमा खुसी हुने धेरै कारण खोज्न जान्नुपर्छ । यो अमूल्य जीवनलाई अनावश्यक तनावले होइन, सरलता, सन्तोष, मेहनत, माया र शान्तिले भर्ने प्रयत्न गर्नु पर्दछ ।
सहज जीवन जिउने आधार खोजौं, बुद्धिमानीपूर्वक बच्न सिकौं, जीवनलाई सुन्दर मार्गमा लैजाने प्रयत्न गरौं । दौरा न सुरुवालको खल्ती भन्ने उखान झैं नभएको कुरालाई आडम्बरी नगरौं । जीवनलाई सहजीकरण खोजौं । सरल, नम्र र खुसी हुने बाटो खोजौं ।