काठमाडौं, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी गर्न क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।
क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन २०२६ तथा ‘ट्रेड सो’मा सहभागी हुन क्यानेडा पुगेका अध्यक्ष डाँगीले लगनी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यको लागि आग्रह गरेका हुन् । क्यानडासँग बाँध इन्जिनियरिङ, जलाशययुक्त आयोजना, जलविद्युत् प्रविधि र जलवायु उत्थानशील पूर्वाधार विकासमा रहेको अनुभव नेपालका लागि उपयोगी हुने हुँदा सहकार्य गर्न सकिने उनको भनाइ थियो । अध्यक्ष डाँगीले नेपालमा जलविद्युत् विकासका लागि अपार सम्भावना रहेको उल्लेख गर्दै सुरक्षित, दिगो र जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने जलविद्युत् आयोजना निर्माणमा नेपाल र क्यानडाबीच सहकार्यको ठूलो अवसर रहेको बताए । नेपालले पर्याप्त जलविद्युत् सम्भावना र विस्तार हुँदै गएको ऊर्जा बजार उपलब्ध गराउन सक्ने भएकाले दुवै देशका लागि दीर्घकालीन तथा पारस्परिक लाभदायक साझेदारीको अवसर रहेको उनले उल्लेख गरे । उनले नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार गर्न, ठूला जलाशययुक्त आयोजना विकास गर्न, बाँध सुरक्षालाई प्रभावकारी बनाउन तथा आधुनिक प्रविधिको उपयोग बढाउन क्यानडाको अनुभव महत्वपूर्ण हुने बताए ।
नेपालको जलविद्युत् सम्भावना विशाल रहेको उल्लेख गर्दै अध्यक्ष डाँगीले सन् २०१९ मा जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको आकलन तथा अन्य विभिन्न अध्ययनले नेपालमा २०० गिगावाटभन्दा बढी जलविद्युत् उत्पादनको प्राविधिक सम्भावना रहेको बताए । रन अफ रिभर, पिकिङ रन अफ रिभर, जलाशययुक्त तथा पम्प्ड स्टोरेज आयोजना विकासमार्फत नेपाल दक्षिण एसियाको स्वच्छ तथा हरित ऊर्जाको प्रमुख केन्द्र बन्न सक्ने उनको भनाइ थियो । नेपाल सरकारले सन् २०३५ सम्म विद्युत् उत्पादनको जडित क्षमता ३० हजार मेगावाट पुर्याउने महत्वाकांक्षी लक्ष्य लिएको बताउँदै उनले लक्ष्य हासिल गर्न हालको क्षमताबाट थप २४ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । यसमा निजी क्षेत्रको लगानी आवश्यक हुने उनको भनाइ छ । उत्पादन आयोजना, प्रसारण लाइन तथा अन्तरदेशीय विद्युत् व्यापारका पूर्वाधारको विकाससँगै नेपालले छिमेकी देशहरूमा १५ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने लक्ष्य राखेको उनले जानकारी गराए ।
अध्यक्ष डाँगीले नेपालमा लगानी र अन्तर्राष्ट्रिय सहकार्यका लागि सम्भावना बोकेका प्रमुख आयोजनाहरूको चर्चा गर्दै तमोर जलाशय (७६२ मेगावाट), दूधकोशी जलाशय (६७० मेगावाट), बूढीगण्डकी जलाशय (१२०० मेगावाट) र माथिल्लो अरुण (१०६० मेगावाट) लगायत आयोजना लगानीका लागी उपयुक्त हुने बताए । उनले जलविद्युत् आयोजना विकास, लगानी, अनुसन्धान, प्रविधि हस्तान्तरण, व्यावसायिक तालिम तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने पूर्वाधार निर्माणका क्षेत्रमा अन्तर्राष्ट्रिय संस्था, लगानीकर्ता, विकासकर्ता र प्राविधिक विज्ञलाई नेपालसँग सहकार्य गर्न आग्रह गरे ।