नेपाल चाडपर्व र संस्कृतिले समृद्ध देश हो । यहाँका चाडपर्व केवल धार्मिक आस्था र सांस्कृतिक परम्पराका प्रतीक मात्र होइनन्, परिवारको पुनर्मिलन, सामाजिक सद्भाव, आत्मीयता र खुसी साटासाट गर्ने विशेष अवसर पनि हुन् । दशैँ, तिहार, छठलगायतका पर्व आउँदा गाउँदेखि सहरसम्म छुट्टै उत्साह देखिन्छ । घरआँगनको सरसफाइदेखि नयाँ लुगा किन्ने, मीठोमसिनो खाने, आफन्तसँग भेटघाट गर्ने र बालबालिकालाई दक्षिणा दिने तयारीसम्मले बजार र घरपरिवार दुवैलाई चलायमान बनाउँछ ।
तर, यी चाडपर्वको रौनकसँगै जोडिएको एउटा महत्वपूर्ण आर्थिक पक्ष पनि छ—रेमिट्यान्स अर्थात् विदेशमा काम गर्ने नेपालीले आफ्नो परिवार तथा आफन्तका लागि स्वदेश पठाउने रकम । सामान्य समयमा पनि नेपालको अर्थतन्त्रलाई ठूलो सहारा दिने रेमिट्यान्स चाडपर्वको समयमा अझ बढी चर्चामा आउँछ । आखिर किन दशैँ, तिहार र छठजस्ता पर्वको आसपास नेपालमा रेमिट्यान्सको प्रवाह बढ्छ ? यसको पछाडि पारिवारिक भावना, सांस्कृतिक परम्परा, आर्थिक आवश्यकता र वैदेशिक रोजगारीसँग जोडिएका विभिन्न कारण छन् ।
नेपालमा चाडपर्वलाई परिवारसँग जोडेर हेर्ने परम्परा छ । दशैँमा मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने र छठमा पारिवारिक तथा सामुदायिक आस्थालाई अभिव्यक्त गर्ने चलन छ । यस्तो समयमा परिवारका सबै सदस्य सँगै हुन पाए हुन्थ्यो भन्ने चाहना स्वाभाविक हुन्छ । तर रोजगारी, अध्ययन र आर्थिक अवसरको खोजीमा लाखौँ नेपाली देशबाहिर छन् । कोही खाडी मुलुकमा पसिना बगाइरहेका छन्, कोही मलेसियाका उद्योगमा काम गरिरहेका छन् भने कोही युरोप, अमेरिका, अस्ट्रेलिया, जापान र दक्षिण कोरियामा आफ्नो भविष्य निर्माण गरिरहेका छन् । उनीहरूमध्ये धेरैका लागि चाडपर्वमा घर फर्कन सम्भव हुँदैन । बिदा नपाउने, हवाई टिकट महँगो हुने, यात्रा खर्च बढी लाग्ने र कामबाट लामो समय अनुपस्थित हुन नसक्ने जस्ता कारणले उनीहरू विदेशमै बस्न बाध्य हुन्छन् ।
यस्तो अवस्थामा परिवारसँग प्रत्यक्ष उपस्थित हुन नसके पनि आर्थिक सहयोगमार्फत आफ्नो माया र जिम्मेवारी व्यक्त गर्ने माध्यम बन्छ रेमिट्यान्स । विदेशमा रहेका नेपालीले दशैँको खर्च, नयाँ लुगा, खाद्यान्न, घरखर्च, बालबालिकाको आवश्यकता र आफन्तलाई दक्षिणा दिनका लागि रकम पठाउँछन् । उनीहरूका लागि पैसा पठाउनु केवल आर्थिक कारोबार होइन, टाढा रहेर पनि परिवारको खुसीमा सहभागी हुने एउटा माध्यम हो ।
रेमिट्यान्स बढ्नुको अर्को प्रमुख कारण चाडपर्वमा घरपरिवारको खर्च बढ्नु हो । सामान्य महिनामा नियमित घरखर्च चलाउन पठाइने रकमले चाडपर्वको आवश्यकता पूरा गर्न पर्याप्त नहुन सक्छ । दशैँमा नयाँ लुगा किन्ने, घर मर्मत गर्ने, मासु तथा अन्य खाद्यवस्तु खरिद गर्ने, यातायात खर्च बेहोर्ने र आफन्तलाई उपहार दिने चलन छ । तिहारमा मिठाई, फूलमाला, बत्ती, पूजासामग्री र उपहारका लागि खर्च हुन्छ । छठ पर्वका लागि पनि पूजासामग्री तथा आवश्यक खाद्यवस्तु जुटाउन रकम चाहिन्छ ।
यसका अतिरिक्त, गाउँबाट सहर वा सहरबाट गाउँ फर्कने मानिसको यात्रा खर्च पनि बढ्छ । विद्यार्थीलाई खर्च दिनुपर्ने, परिवारका सदस्यलाई आवश्यक सामग्री किनिदिनुपर्ने र सामाजिक सम्बन्ध निर्वाह गर्नुपर्ने दायित्व पनि थपिन्छ । यस्ता आवश्यकताले गर्दा विदेशमा रहेका नेपालीले नियमित रूपमा पठाउने रकमभन्दा चाडपर्वको समयमा केही बढी रकम पठाउने गर्छन् । यहाँ अर्को पक्ष पनि महत्वपूर्ण छ । नेपालमा चाडपर्वको समयमा उपभोग बढ्ने भएकाले बजारमा वस्तु तथा सेवाको माग बढ्छ । यही माग पूरा गर्न परिवारहरूले विदेशमा रहेका आफन्तसँग थप रकम माग्न सक्छन् । यसरी चाडपर्वको सामाजिक र सांस्कृतिक आवश्यकताले रेमिट्यान्सको प्रवाहलाई मौसमी रूपमा प्रभावित गर्छ । रेमिट्यान्सको चर्चा गर्दा हामीले प्रायः बैंकमा आएको रकम, बढेको विदेशी मुद्रा सञ्चिति र बजारमा देखिएको चहलपहललाई मात्र हेर्ने गर्छौँ। तर ती रकमका पछाडि लुकेको श्रम, त्याग र संघर्षलाई पनि बुझ्न आवश्यक छ ।
विदेशमा काम गर्ने धेरै नेपाली कठिन परिस्थितिमा श्रम गर्न बाध्य छन् । कसैले चर्को गर्मीमा निर्माण क्षेत्रमा काम गर्छन्, कसैले लामो समय कारखानामा बिताउँछन् भने कसैले घरपरिवारबाट टाढा रहेर सेवा क्षेत्रमा श्रम गर्छन् । उनीहरूले आफ्नो आम्दानीको ठूलो हिस्सा परिवारको खर्च, ऋण भुक्तानी, बालबालिकाको शिक्षा र भविष्यको सुरक्षाका लागि बचत गर्ने प्रयास गर्छन् ।
दशैँमा घरका सदस्यहरू नयाँ लुगामा सजिँदा विदेशमा रहेको सदस्यले भने आफ्ना लागि नयाँ कपडा किन्नसमेत पैसा बचाउन सक्छ । घरमा मिठोमसिनो पाक्दा विदेशमा रहेको नेपालीले आफ्नो खर्च कटौती गरेर पैसा पठाएको हुन सक्छ । घरमा टीका लगाएर खुसी मनाइँदा उता परदेशमा कामको समय पूरा गर्नुपर्ने अवस्था पनि हुन सक्छ । त्यसैले चाडपर्वमा आएको रेमिट्यान्सलाई केवल रकमका रूपमा हेर्नु पर्याप्त हुँदैन । यसमा आमाबुबाप्रतिको जिम्मेवारी, छोराछोरीप्रतिको माया, श्रीमान्–श्रीमतीबीचको भरोसा र परिवारको भविष्यप्रतिको आशा जोडिएको हुन्छ । रेमिट्यान्सको प्रत्येक रुपैयाँसँग कसैको पसिना र परदेशमा बितेको समय गाँसिएको हुन्छ ।
रेमिट्यान्स नेपाली परिवारको जीवनस्तर सुधार गर्ने माध्यम मात्र होइन, राष्ट्रिय अर्थतन्त्रको पनि महत्वपूर्ण आधार हो । यसले घरपरिवारको उपभोग खर्च धान्न, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच बढाउन, ऋण तिर्न र साना व्यवसाय सञ्चालन गर्न सहयोग पुर्याउँछ । साथै, औपचारिक माध्यमबाट प्राप्त रेमिट्यान्सले देशको विदेशी मुद्रा सञ्चितिमा योगदान गर्छ र आयात भुक्तानी तथा बाह्य क्षेत्रको स्थिरतामा सहयोग पुर्याउँछ । रेमिट्यान्सबाट आएको रकमले स्थानीय बजारमा माग बढाउँछ । कपडा पसल, खाद्यान्न व्यवसाय, यातायात, होटल, उपहार पसल र अन्य सेवामूलक व्यवसायले चाडपर्वको समयमा बढी कारोबार गर्न सक्छन् । यसले साना व्यवसायीको आम्दानी बढाउन र अस्थायी रोजगारी सिर्जना गर्न सहयोग पुर्याउँछ । यस अर्थमा रेमिट्यान्सको प्रभाव विदेशबाट पैसा पठाउने परिवारमा मात्र सीमित रहँदैन, त्यसको केही प्रभाव समग्र बजारमा पनि फैलिन्छ । रेमिट्यान्सले नेपाली अर्थतन्त्रलाई ठूलो सहयोग पु¥याए पनि यसमा अत्यधिक निर्भर रहनु दीर्घकालीन समाधान होइन । चाडपर्वमा बढी रकम भित्रिनु सकारात्मक देखिए पनि त्यसले देशभित्र पर्याप्त रोजगारी सिर्जना भएको, उत्पादन बढेको वा आर्थिक आत्मनिर्भरता हासिल भएको प्रमाण दिँदैन ।
यदि परिवारले प्राप्त गरेको अधिकांश रकम तत्काल उपभोगमा खर्च गर्छ भने त्यसबाट प्राप्त हुने दीर्घकालीन आर्थिक लाभ सीमित हुन सक्छ । चाडपर्वमा आवश्यक खर्च गर्नु स्वाभाविक हो, तर आम्दानीभन्दा बढी खर्च गर्ने, देखासिकीका लागि महँगा वस्तु किन्ने वा सामाजिक प्रतिष्ठा कायम राख्न अनावश्यक ऋण लिने प्रवृत्तिले परिवारलाई आर्थिक दबाबमा पार्न सक्छ । त्यसैगरी, रेमिट्यान्सको ठूलो हिस्सा आयातित वस्तु खरिदमा खर्च हुँदा यसको केही लाभ विदेशी उत्पादकसम्म पुग्छ । त्यसैले रेमिट्यान्सले बजारमा माग बढाए पनि स्वदेशी उत्पादन, उद्योग र रोजगारीसँग यसको सम्बन्ध बलियो बनाउनु आवश्यक छ । अर्कोतर्फ, वैदेशिक रोजगारीमा अत्यधिक निर्भर हुँदा परिवारबाट लामो समय अलग रहनुपर्ने, बालबालिकाको हेरचाहमा कठिनाइ हुने र सामाजिक सम्बन्धमा दूरी बढ्ने समस्या पनि देखिन सक्छ ।
चाडपर्वमा भित्रिने रेमिट्यान्सलाई परिवारको खुसी र आवश्यकतामा खर्च गर्नु स्वाभाविक हो । तर त्यससँगै भविष्यका लागि आर्थिक योजना बनाउने संस्कार विकास गर्न सकियो भने यसको लाभ अझ बढाउन सकिन्छ । परिवारहरूले आम्दानीको केही हिस्सा नियमित बचत, बालबालिकाको शिक्षा, स्वास्थ्य सुरक्षा र उत्पादनमूलक काममा छुट्याउन सक्छन् । स्थानीय तह तथा वित्तीय संस्थाले पनि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको सीप र पुँजीलाई कृषि, पशुपालन, पर्यटन, घरेलु उद्योग, सूचना प्रविधि र अन्य उद्यममा लगानी गर्न सहयोग गर्न सक्छन् ।