काठमाडौँ, विकास बैंकहरूले खुद मुनाफा बढे पनि पाँचवटा विकास बैकहरू अझै खुद नोक्सानीमा देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा विकास बैंकहरूको खुद मुनाफा गत आवको सोही अवधिको तुलनामा १२ दशमलव २८ प्रतिशतले बढेर एक अर्ब ४२ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा यस्तो मुनाफा एक अर्ब २७ करोड ११ लाख रुपैयाँ थियो । अर्थात्, एक वर्षको अन्तरमा समग्र नाफा १५ करोड ६१ लाख रुपैयाँले बढेको छ । नाफा बढे पनि चालू आवको पछिल्लो दुई महिनामा क्षेत्रीयस्तरको सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंक भने खुद नोक्सानीमा देखिएका छन् ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो दुई महिनामा गरिमा विकास बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । यस अवधिमा गरिमाले २८ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ, जुन गत आवको सोही अवधिको २७ करोड ४६ लाख रुपैयाँको तुलनामा चार दशमलव ८१ प्रतिशत बढी हो । मुक्तिनाथ विकास बैंक भने नाफाका आधारमा दोस्रो स्थानमा रहे पनि यसको नाफा खुम्चिएको छ । बैंकले गत आवको भदौसम्म ३६ करोड १७ लाख रुपैयाँ खुद मुनाफा कमाएकोमा चालू आवको भदौसम्ममा २५ करोड १४ लाख रुपैयाँ मात्रै कमाएको छ । मुक्तिनाथले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा ३० दशमलव ५० प्रतिशत अर्थात ११ करोड तीन लाख रुपैयाँले कम हो ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आवको भदौसम्म १७ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा कमाएकोमा चालू आवको सोही अवधिमा २० करोड ८४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा १८ दशमलव ७२ प्रतिशतले बढी हो । कामना सेवा विकास बैंकको खुद मुनाफा पनि गत आवको भदौ महिनासम्मको १७ करोड ७७ लाख रुपैयाँबाट बढेर १९ करोड २६ लाख रुपैयाँ पुगेको छ । यो नाफा गत आवको भदौ महिनासम्मको तुलनामा आठ दशमलव ३७ प्रतिशतले बढी हो । ज्योति विकास बैंकको नाफा पनि पछिल्लो अवधिमा १७ करोड तीन लाख रुपैयाँबाट बढेर १८ करोड ६३ लाख रुपैयाँ पुगेको छ । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा नौ दशमलव ४२ प्रतिशतले बढी हो । महालक्ष्मी विकास बैंकले पनि गत आवको भदौ महिनासम्ममा १० करोड ७५ लाख रुपैयाँ खुद मुनाफा कमाएकोमा चालू आवको भदौ महिनासम्ममा यस्तो नाफा ७० दशमलव शून्य चार प्रतिशतले बढेर १८ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको खुद मुनाफा भने गत आवको भदौ महिनासम्मको १६ करोड ४० लाख रुपैयाँबाट ४० दशमलव ३१ प्रतिशतले घटेर नौं करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ । क्षेत्रियस्तरको मितेरी डेभलपमेन्ट बैंकको नाफा भने गत आवको सोही अवधिको तुलनामा आठ दशमलव ५४ प्रतिशतले बढेर दुई करोड २२ लाख रुपैयाँ पुगेको छ । यसैगरी ग्रिन डेभलपमेन्ट बैंकको खुद मुनाफा पनि ६४ दशमलव ९० प्रतिशतले बढेर एक करोड ६८ लाख रुपैयाँ पुगेको छ ।
राष्ट्रियस्तरको लुम्बिनी विकास बैंकको खुद मुनाफा भने पछिल्लो अवधिमा घटेको छ । बैंकले गत आवको भदौसम्म तीन करोड ६६ लाख रुपैयाँ खुद मुनाफा कमाएकोमा चालू आवको सोही अवधिमा एक करोड १५ लाख रुपैयाँ मात्रै खुद मुनाफा कमाएको छ । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा ६८ दशमलव ४८ प्रतिशतले कम हो । क्षेत्रीयस्तरको कर्पोरेट डेभलपमेन्ट बैंक घाटाबाट नाफामा फर्किएको छ । गत वर्ष भदौसम्म ७७ लाख रुपैयाँ घाटामा रहेको बैंकले चालू आवको सोही अवधिमा तीन करोड छ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । क्षेत्रिस्तर कै सलापा विकास बैंक भने गत आवको भदौसम्ममा चार करोड ५० लाख रुपैयाँ नाफामा रहेकोमा चालू आवको भदौसम्म ६७ लाख रुपैयाँ घाटामा पुगेको छ ।
राष्ट्र बैंकका अनुसार क्षेत्रीयस्तरको नारायणी डेभलपमेन्ट बैंकको घाटा गत वर्षको एक करोड १८ लाख रुपैयाँबाट घटेर ३१ लाख रुपैयाँमा सीमित भएको छ । यसैगरी सिन्धु विकास बैंकको घाटा पनि गत आवको भदौ महिनासम्मको एक करोड ७८ लाख रुपैयाँबाट घटेर ७८ लाख रुपैयाँमा झरेको छ । कर्णाली डेभलपमेन्ट बैंकको घाटा पनि एक करोड ७४ लाख रुपैयाँबाट घटेर एक करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । एक्सेल डेभलपमेन्ट बैंकको घाटामा पनि पछिल्लो अवधिमा उल्लेख्य रूपमा कमी आएको छ । गत आवको भदौसम्म १८ करोड ६५ लाख रुपैयाँ घाटा व्यहोरेको बैंकको घाटा चालू आवको सोही अवधिमा घटेर ८६ लाख ९० हजार रुपैयाँमा झरेको छ । यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकको खुद मुनाफा पनि दुई करोड ४४ लाख रुपैयाँबाट घटेर एक करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ ।