काठमाडौं, नेपाल निर्माण व्यवसायी महासंघले रसुवा वाढी प्रभावित क्षेत्रमा आ–आफ्नो यन्त्र उपकरणसहित उद्धार कार्यमा सक्रिय हुन निर्माण व्यवसायीहरूलाई आग्रह गरेको छ ।
महासंघले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन लगायतका जिल्लाहरूमा भएको अकल्पनीय मानवीय एवं भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यमा खटिन आग्रह गरेको हो । महासंघका अध्यक्ष निकोलस पाण्डेले विहिवार एक विशेष अपील जारी गर्दै विपत प्रभावित निर्माण श्रमिक, मजदुरलगायत अन्य सबैको खोज उद्धारमा आ—आफ्ना यन्त्र उपकरणहरूसहित क्रियाशील रहन तमाम निर्माण व्यवसायीहरूलाई महासंघले विशेष अपील गरेका हुन् ।
उनले सरकारलाई आवश्यक सबै सहयोग गर्न महासंघ तयार रहेको पनि बताएका छन् । महासंघको तर्फबाट बाढी पीडितहरूको सहयोगार्थ निर्माण व्यवसायी कोषमार्फत छिट्टै राहत घोषणा गरिने पनि महासंघले जनाएको छ ।