काठमाडौं, नेपालको विज्ञापन उद्योगको प्रतिष्ठित सम्मान ‘कृति अवाड्र्स २०८३’ आयोजना गर्ने घोषणा गरिएको छ । यस पटको कार्यक्रम ‘रेडबुल इनर्जी ड्रिक्सले मुख्य प्रायोजन गरेकोले रेडबुल १३औँ कृति अवाड्र्स २०८३ नामाकरण गरिएको जनाइएको छ ।
नेपाल विज्ञापन संघ नेपाल (आन)को आयोजना तथा मुख्य प्रायोजक रेडबुलको सहकार्यमा आगामी महिना भव्य रूपमा अवार्ड समारोह आयोजना गर्न लागिएको हो । ‘कृति अवाड्र्स’ले नेपाली विज्ञापन, मार्केटिङ तथा सञ्चार क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने एजेन्सी, सिर्जनाकर्ता, र ब्राण्डहरूलाई सम्मान गर्दै आएको छ ।
यसपटक टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट, सामाजिक सञ्जाल तथा एकीकृत अभियान गरी ३१ विधामा ५५ वटा अवार्डका लागि प्रतिस्पर्धा गराइनेछ भने यस वर्ष डिजिटल, इभेन्ट्स र इन्टेग्रेटेड गरी ३ वटा नयाँ क्षेत्रसहित २४ वटा नयाँ विधा समावेश गरिएको छ । पारदर्शी मूल्यांकन लागि काठमाडौं विश्वबिद्यालय व्यवस्थापन संकायका डिन प्राडा बिजय केसीको अध्यक्षतामा सञ्चारकर्मी भारती सिलवाल गिरी र मार्केटिङ विज्ञ रबिन्द्रमान श्रेष्ठ क्षेत्रगत विशेषज्ञहरू समावेश भएको जुरी गठन गरिएको जनाइएको छ ।
आनका अनुसार यस वर्षको मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ । इच्छुक विज्ञापन एजेन्सी तथा ब्राण्डहरूले २०८० वैशाख १ गते देखि २०८३ असार मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्यहरू दर्ता गराउन सक्नेछन् । आनका अध्यक्ष सुदिप थापाले यस पटक धेरै विधाहरूलाई समेटेर सिर्जनात्मकतालाई थप प्रोत्साहन गर्न लागिएको जानकारी दिए । कृति अवार्ड्सले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउने र विज्ञापन बजारलाई थप बिस्तार गर्ने अपेक्षा गरिएको छ ।
यस वर्षको अवार्डमा नेपाल मिडिया सोसाईटी, मिडिया एलायन्स नेपाल ब्रोडकास्टिङ एसोसियसन, एकोर्याब र ब्रोडकास्टर्स फोरम पनि सहआयोजकका रुपमा सहयोगी भएका छन् भने नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल सरकारको विज्ञापन बोर्डले इन्डोर्समेन्ट सहित सम्बन्धन मान्यता प्रदान गरेका छन् ।