काठमाडौं, विश्वव्यापी अंग्रेजी भाषा परीक्षण प्रदायक पियरसनले पीटीई परीक्षाको तयारीका लागि आधिकारिक ‘पीटीई एआई प्राक्टिस’ प्लेटफर्म सार्वजनिक गरेको छ ।
पियरसनका अनुसार नयाँ अनलाइन प्लेटफर्म पीटीई एकेडेमिक र पीटीई कोर दुवै परीक्षाको तयारी गर्ने विद्यार्थीलाई लक्षित गरी तयार गरिएको हो । प्लेटफर्ममा पियरसनले नै तयार गरेका आधिकारिक अभ्यास प्रश्न, एआईमा आधारित स्कोरिङ तथा प्रतिक्रिया, पूर्ण मोक टेस्ट, सेक्सनअनुसार अभ्यास र व्यक्तिगत अध्ययन सुझाव उपलब्ध हुनेछन् ।
विद्यार्थीले अभ्यासका क्रममा प्राप्त नतिजा हेरेर आफ्नो प्रगति ट्र्याक गर्न तथा थप सुधार आवश्यक पर्ने विषय पहिचान गर्न सक्नेछन् । पियरसनका अनुसार प्लेटफर्ममा प्रयोग हुने अभ्यास सामग्री वास्तविक पीटीई परीक्षाको ढाँचा र मूल्यांकन मापदण्डसँग मिल्ने गरी तयार गरिएको छ । यसले परीक्षार्थीलाई वास्तविक परीक्षामा कस्तो प्रकारका प्रश्न आउँछन्, उत्तर कसरी मूल्यांकन हुन्छ र कुन क्षेत्रमा थप तयारी आवश्यक छ भन्ने बुझ्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
पूर्ण मोक टेस्ट र विषयगत अभ्यासमार्फत परीक्षा दिनुअघि आफ्नो तयारीको स्तर परीक्षण गर्ने सुविधा पनि प्लेटफर्ममा समेटिएको छ । नेपालबाट उच्च शिक्षा तथा रोजगारीका लागि विदेश जाने विद्यार्थीको संख्या उल्लेख्य रहेकाले आधिकारिक एआई अभ्यास प्लेटफर्म नेपाली परीक्षार्थीका लागि पनि उपयोगी हुने देखिएको छ ।