काठमाडौं, पछिल्लो एक महिनामा नेपालमा ८५ हजारभन्दा बढी विदेशी पर्यटन नेपाल भित्रिएका छन् । सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार चार सय ४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका हुन् ।
अघिल्लो वर्षको तुलनामा भने पर्यटकको आगमनमा कमी देखिएको छ । सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार छ सय ८० जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट मात्रै २६ हजार तीन सय ७३ जना पर्यटन नेपाल भित्रिएका हुन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । भारतपछि चीनबाट १० हजार तीन सय चार जना पर्यटक आएका छन् । चीनको आगमन गत वर्षको अगस्टको तुलनामा सात हजार ५३३ को तुलनामा ३६ दशमलव ७८ प्रतिशत बढेको छ । त्यस्तै, श्रीलंकाबाट आठ हजार सात सय १० जना आएका छन्, जुन गत वर्षको तुलनामा ४६ दशमलव २४ प्रतिशत वृद्धि हो ।
अमेरिकाबाट छ हजार दुई सय ९३ जना पर्यटक आएका छन् । बंगलादेशबाट चार हजार चार सय ८७ जना आएका छन् भने बेलायतबाट तीन हजार चार सय ७६ जना पर्यटक आएका छन् । क्षेत्रगत रूपमा हेर्दा अगस्टमा सबैभन्दा बढी पर्यटक दक्षिण एसियाबाट ४१ हजार चार सय २२ जना आएका छन् । अन्य एसियाली मुलुकबाट १८ हजार दुई सय ७५ जना आएका छन् । युरोपबाट १० हजार आठ सय ७५ जना पर्यटक आएका छन् भने ओसियानिया क्षेत्रबाट दुई हजार पाँच सय २९ जना आएका छन्, जुन ३ दशमलव ८६ प्रतिशत वृद्धि हो ।
अमेरिकी मुलुकबाट भने सात हजार चार सय ७३ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा २.४७ प्रतिशत बढी हो । मध्यपूर्वबाट एक हजार १० जना आएका छन् भने यो क्षेत्रमा ६ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । अफ्रिकाबाट तीन सय ३८ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ४ दशमलव ९७ प्रतिशत बढी हो । अगस्ट २०२६ मा केही प्रमुख बजारबाट उल्लेख्य वृद्धि भएको छ । रुसबाट सात सय ६९ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ५१ दशमलव ३८ प्रतिशत वृद्धि हो । युक्रेनबाट २१६ जना आएका छन्, जसमा ८३ दशमलव ०५ प्रतिशत वृद्धि भएको छ ।
त्यस्तै, कम्बोडियाबाट ६८ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा २७७ दशमलव ७८ प्रतिशत वृद्धि हो । भुटानबाट एक हजार २८८ जना आएका छन् भने आगमन ४९ दशमलव २५ प्रतिशत बढेको छ । मलेसियाबाट एक हजार छ सय १८ जना र थाइल्यान्डबाट छ सय ८१ जना पर्यटक आएका छन् । यी बजारबाट क्रमशः १३ दशमलब ०७ प्रतिशत र १९ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ ।