काठमाडौँ, रसुवा बाढीपछि प्रभावित क्षेत्रका नागरिकको जनस्वास्थ्यमा गम्भीर सङ्कट आउनसक्ने हुँदा समयमै सावधानी अपनाउन ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. अमित गौलीले सल्लाह दिएका छन् ।
बाढीपछि विशेषगरी दूषित पानी र अस्वस्थ खानपानका कारण झाडापखालाजस्ता पेटसम्बन्धी रोग र श्वासप्रश्वासको समस्या बढ्ने सम्भावना भएकाले विशेष सावधानी अपनाउनुपर्ने डा. गौलीले बताए ।
बाढीका क्रममा लागेका घाउचोटमा सङ्क्रमणको जोखिम हुने भएकाले समयमै उपचारको व्यवस्था मिलाउन आवश्यक रहेको भन्दै डा. गौलीले उच्च रक्तचाप, दम, मधुमेह र क्यान्सरजस्ता दीर्घरोग भएका बिरामीका लागि अझ चुनौतीपूर्ण हुने बताए ।
बाढी प्रभावित घरबारविहीन र मानसिक तनावमा रहेका बासिन्दाका लागि मनोपरामर्शदाताको परिचालन गरी आत्मविश्वास बढाउन जरुरी रहेको चिकित्सकहरुको भनाइ छ । ज्वरो वा सामान्य समस्या देखिनेबित्तिकै जथाभावी एन्टिबायोटिक प्रयोग नगरि स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि सेवन गर्न विशेषज्ञ चिकित्सको सुझाव छ ।
चिकित्सकका अनुसार बाढी प्रभावितको मानसिक अवस्थालाई विशेष ख्यालगरी स्वास्थ्योपचारमा प्राथमिकता राख्नुपर्ने छ । उनीहरुले बाढी प्रभावित क्षेत्रमा तत्काल आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउन सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गर्न ध्यानाकर्षण गराएका छन् ।