विराटनगर, भन्सार विन्दुमा नै अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल लगाएर मात्रै आयातित सामानको भन्सार जाँचपास गर्ने नीति कार्यन्वयनमा आएको छ । चालू आर्थिक वर्ष सुरु भएसंगै उक्त नियम कार्यन्वयनमा ल्याइएको हो । विराटनगर भन्सारलगायत देशभरका भन्सारबाट आयात हुने सामग्रीहरूमा अब अनिवार्य रुपमा एमआरपी उल्लेख गर्नुपर्नेछ ।
सरकारले गत वैशाखदेखि नै भन्सार विन्दुमा एमआरपी अनिवार्य गर्ने निर्णय गरेको थियो । तर व्यवसायीहरूको चर्को विरोधले आयात नै ठप्प भएपछि असार मसान्तसम्मलाई एमआरपी स्वघोषणा गरेर जाँचपास गर्न दिएको थियो । सरकारले दिएको समयसीमा सकिएसँगै साउन १ गतेदेखि भने आयात गरिने हरेक वस्तुमा पहिले नै एमआरपी लेबल लगाएको हुनुपर्ने व्यवस्था लागू भएको छ । हाल उक्त व्यवस्था देशभरका सम्पूर्ण भन्सार कार्यालयमा कार्यान्वयनमा आएसँगै केही महिनादेखि सेलाएको एमआरपी विवाद पुनः बल्झिने हो की भन्ने त्रास पनि देखिन थालेको छ । जसले गर्दा यस बेला सबैभन्दा अप्ठ्यारोमा भन्सार एजेन्टहरू परेको देखिन थालेका छन् ।
प्राविधिक समस्या र चुनौतीका बीच सरकारले भन्सार विन्दुमै एमआरपी अनिवार्य गरेपछि व्यवसायीसँग कुनै विकल्प नरहेको भन्सार एजेन्ट महासंघ विराटनगर भन्सारका अध्यक्ष देवकीनन्दन शर्माले बताए । भारतीय बजारका उत्पादनमा भारतमै लगाइएको एमआरपी नेपाल भित्रँदासम्म निकै फरक पर्ने उनी बताउँछन् । ‘समस्याहरू हुँदाहुँदै पनि माथिबाटै लागू गर्ने भनेपछि कोही व्यवसायी पनि अहिलेसम्म विरोध गर्ने कुरा गर्न सकिरहेका छैनन्’, उनले भने । भारतबाट मालसामान ल्याउँदा त्यसमा भएको भारतीय एमआरपीले नेपाल भित्रिँदा थुप्रै प्राविधिक समस्या हुने गरेको छ । यो कुराको समाधान सरकारले निकाल्नुपर्ने थियो तर सरकारले ननिकालेका कारण व्यवसायीहरू अझै अन्योलमा नै छन् ।
बजारलाई औपचारिक बनाउनका लागि एमआरपी लागू गरिएको र त्यसमा आफूहरू सक्रिय रहेको विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए । उनले पछिल्लो समय प्राय सबै आयात हुने सामानमा एमआरपी लागेर नै आइरहेको जानकारी दिए । उनले भने, ‘केही सामान आयात हुँदा एमआरपी छैन भने भन्सारको गोदाममा सामान राखेर पनि एमआरपी लगाएर मात्रै भन्सारले सामान जाँचपास गर्ने गरेको छ ।’ विदेशबाट आयात गरिने मालवस्तुमा भन्सारमै एमआरपी लगाउने काम अर्थ मन्त्रालयसँगको सहकार्यमा भन्सार विभागले गर्दै आएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए । अहिले पनि त्यत्ति असहज अवस्था नरहेको भए पनि अधिकांश सामानमा एमआरपी लगाएरै आयात हुने गरेको उनले जानकारी दिए ।
तेस्रो मुलुकबाट आयात हुने केही सामानमा एमआरपी नहुँदा भन्सारभित्रै स्वघोषित एमआरपी लगाएर सामान आयात गरिरहेको उनले बताए । यसअघि गत वैशाखमा सरकारले भन्सार विन्दुमै एमआरपी नभई जाँचपास नगरेपछि एक सातासम्म आयात ठप्प हुने अवस्था पुगेको थियो । त्यसपछि सरकारले वार्ता गर्दै केही समयका लागि सामान आयातकर्तालाई सहजीकरण मात्रै गरिदिएको थियो । असार मसान्तसम्म स्वघोषणा गरेर जाँचपास गर्न सुविधा दिएको सरकारले साउन १ गतेदेखि भने अनिवार्य रूपमा आयातकर्ताले भन्सार विन्दुमा ल्याउनुभन्दा पहिले नै एमआरपी लगाउनुपर्ने निर्णय गरेको थियो ।