काठमाडौं, लर्ड बुद्ध एजुकेशन फाउन्डेसन एलबीईएफले स्थापनाको २८औँ वार्षिकोत्सवका अवसरमा फ्रन्टलाइन अस्पतालसँग स्वस्थ्य सहकार्य गरेको छ । एलबीईएफ सञ्जीवनीको उद्घाटनसँगै, नवप्रवर्तन, सेवालगायतका विषयमा सहकार्यको सम्झौता भएको हो । वार्षिकोत्सवका अवसरमा फ्रन्टलाइनसँग समझदारीपत्र (एमओयू)मा हस्ताक्षर, फ्रन्टलाइनद्वारा ‘एलबीईएफ सञ्जीवनी’को उद्घाटनसँगै ‘फाइनल इयर प्रोजेक्ट (एफवाईपी) एक्स्पो २०२६’ आयोजना गरिएको थियो ।
दुई संस्थाबीच भएको समझदारीपछि एलबीईएफ सदस्यहरूको स्वास्थ्य तथा सहयोगसम्बन्धी सेवाहरूलाई थप सुदृढ बनाउने महत्वपूर्ण पहल अघि बढेको छ । यो पहलले शैक्षिक गतिविधिसँगै विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा समग्र कल्याणलाई समान प्राथमिकता दिने एलबीईएफको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको फाउण्डेशनका अध्यक्ष इ. पंकज जालानले जानकारी दिए ।
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा फ्रन्टलाइनका प्रमुख कार्यकारी अधिकृत डा. अशोकवर्धन चोर्डिया, एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसनका अध्यक्ष पंकज जालान, कार्यकारी निर्देशक प्रकाश केजरीवाल तथा प्रमुख सञ्चालन अधिकृत नीलमणि न्यौपानेको उपस्थिति थियो । वार्षिकोत्सवकै अवसरमा आयोजना गरिएको एफवाईपी एक्स्पो २०२६ मा बीएससी आईटीका अन्तिम सेमेस्टरका ८० जना विद्यार्थीले विकास गरेका विभिन्न परियोजना प्रदर्शन गरिएको थियो ।
प्रदर्शनीले विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्राका क्रममा हासिल गरेको ज्ञान, प्राविधिक सीप, सिर्जनशीलता तथा समस्या समाधान गर्ने क्षमतालाई प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो । विद्यार्थीहरूले आफ्ना परियोजनामार्फत वास्तविक जीवनका चुनौती समाधान गर्न सूचना प्रविधिको प्रयोग गर्दै नवीन अवधारणा तथा व्यावहारिक समाधान प्रस्तुत गरेका थिए ।