काठमाडौं, रसुवा बाढीबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोर एच नेपालले सरकारसँग माग गरेको छ ।
फोर एच नेपालका संस्थापक अध्यक्ष लोकराज अवस्थीले एक विज्ञेप्ती जारी गरी बाढी गएको दुई हप्ता बितिसक्दा पनि प्रभावित किसान, कृषि उत्पादन, पशुधन तथा कृषि संरचनामा भएको क्षतिको विस्तृत विवरण नआएको बताएका छन् । बाढीका कारण रसुवा, नुवाकोट तथा धादिङका विभिन्न क्षेत्रमा किसान तथा कृषि उद्यमीहरूले खेतीयोग्य जमिन, बाली, पशुचौपाया, कृषि सामग्री तथा कृषि पूर्वाधारमा ठूलो क्षति व्यहोर्नुपरेको छ । तर, प्रभावित किसानको वास्तविक संख्या, क्षतिग्रस्त खेतबारी, पशुधन तथा कृषि उत्पादनको स्पष्ट विवरण सार्वजनिक नभएको र राहत तथा क्षतिपूर्तिको व्यवस्था पनि प्रभावकारी रूपमा अघि बढ्न नसकेको फोर एच नेपालले जनाएको छ ।
फोर नेपालले भोटेकोशी बाढीबाट प्रभावित किसानको संख्या, खेतबारीमा भएको क्षति, पशुचौपायाको विवरण तथा बाढीबाट बगाइएका वा क्षतिग्रस्त दुग्ध तथा तरकारी संकलन केन्द्र, हाटबजारलगायत कृषि संरचनाको तथ्यांक तत्काल सार्वजनिक गर्न नेपाल सरकार तथा सम्बन्धित स्थानीय तहसँग माग गरेको छ । प्रभावित किसान तथा कृषि उद्यमीलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, क्षति भएको कृषि उत्पादन, पशुधन, सामग्री तथा पूर्वाधारको मूल्यांकन गरी हानीनोक्सानीका आधारमा क्षतिपूर्ति दिन तथा प्रभावित परिवारका लागि वैकल्पिक आयआर्जनको व्यवस्था गर्न संस्थाले सरकारसँग माग गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा किसानले उत्पादन गरेका तरकारी, फलफूल, दूधलगायत कृषि उपज बजारसम्म पु¥याउन कठिनाइ भइरहेको तर्फ पनि संस्थाले सरकारको ध्यानाकर्षण गराएको छ । यातायात तथा बजार पहुँचको अभावमा कृषि उत्पादन खेर जाने अवस्था बढ्दै जाँदा किसान थप आर्थिक संकटमा परेको संस्थाको भनाइ रहेको छ । कृषि उपजको वैकल्पिक ढुवानी तथा बजारीकरणको तत्काल व्यवस्था गर्न, अस्थायी कृषि संकलन केन्द्र स्थापना गर्न तथा प्रभावित किसानको उत्पादनलाई सहज रूपमा बजारसम्म पु¥याउने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तह तथा सरकारसँग आग्रह गरेको छ ।