त्रिवेणी (रुकुम पश्चिम), रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । वडा नं ६ को कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी-९ सिम्ली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु१च ६०२९ नम्बरको जिप आइतबार बिहान दुर्घटना भएको हो ।
घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले आफ्नो नेतृत्वको टोली पनि घटनास्थलतर्फ गइरहेको उल्लेख गर्दै मृतकको सनाखत हुन नसकेको बताए ।
प्रहरी नायब उपरीक्षक पौडेलले दुर्घटनामा चार जना गम्भीर घाइते भएको जानकारी गराए । उनका अनुसार जिपमा सवार रहेका एघारजना मध्ये पाँच जना घाइतेको अवस्था मध्यम रहेको छ । एक जना महिला र जिप चालकको घटनास्थलमा मृत्यु भएको छ भने उनीहरुको सनाखत हुन बाँकी रहेको उनले बताए ।
सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले पालिकाले खर्च बेहोर्ने गर्ने गरी घाइतेको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर माग गरिएको जानकारी दिए ।