रियाद, साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण महत्वपूर्ण तेल निर्यात मार्ग अस्थायी रूपमा बन्द गरिएको बताएका छन् । यो मार्ग इरानले होर्मुज जलडमरूमध्य बन्द गरेपछि वैकल्पिक रूपमा प्रयोग हुँदै आएको थियो ।
मध्यपूर्वमा युद्ध सुरु भएपछि साउदी अरबले यान्बु बन्दरगाहसँग जोड्ने पूर्व–पश्चिम तेल पाइपलाइनको प्रयोग बढाउँदै आएको छ । होर्मुज जलडमरूमध्य हुँदै हुने तेल निर्यातमा अवरोध भएपछि यो पाइपलाइन साउदी तेल निर्यातका लागि महत्वपूर्ण वैकल्पिक मार्ग बनेको हो । साउदी विदेश मन्त्रालयले रियाद र मदिना क्षेत्रमा रहेको पूर्व–पश्चिम पाइपलाइनलाई इराकबाट आएका धेरै ड्रोनले निशाना बनाएको जनाएको छ । आक्रमणका कारण केही मानिस घाइते हुनुका साथै भौतिक क्षति भएको मन्त्रालयले जनाएको छ ।
साउदी ऊर्जा मन्त्रालयका एक अधिकारीले सरकारी समाचार संस्था एसपीएसँग कुरा गर्दै सावधानीका रूपमा पाइपलाइन सञ्चालन रोकिएको र आक्रमणबाट केही मानिस घाइते भएको बताए । बिहीबार खिचिएका कोपरनिकस सेन्टिनेलका भूउपग्रह तस्बिरमा मदिनानजिकै कालो धुवाँको मुस्लो देखिएको थियो । उक्त क्षेत्र साउदी तेललाई लाल सागरको तटसम्म पु¥याउने पूर्व–पश्चिम पाइपलाइनको मार्गनजिकै पर्छ ।
इराकका प्रधानमन्त्री अली अल–जैदीको कार्यालयले आक्रमण इराकी भूमिबाट भएको पुष्टि गरेको छ । साथै दक्षिणी प्रान्त मैसानका लागि जिम्मेवार सुरक्षा कमान्डरलाई पदबाट हटाइएको जनाएको छ । इराकी सरकारले साउदी अरबमा भएको आक्रमणको निन्दा गर्दै आक्रमण इराकको एक प्रान्तभित्रको स्थानबाट भएको जनाएको छ ।