काठमाडौँ, नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा शुभेच्छुकका लागि काठमाडौँका विभिन्न क्षेत्रमा पाँच हजार होटल कोठा बुकिङ गरिएको छ।पार्टीका केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समितिले गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटलमा प्रतिनिधिका लागि बस्ने व्यवस्था मिलाएको हो।.
नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घका अध्यक्ष लिलाप्रसाद ढकालका अनुसार करिब १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी होटल बुकिङ गरिएको छ। उनका अनुसार कोशी र मधेस प्रदेशका प्रतिनिधिका लागि गौशाला र कोटेश्वर, बागमतीका लागि लाजिम्पाट र ठमेल, गण्डकी र लुम्बिनीका लागि बालाजु तथा नयाँ बसपार्क र कर्णाली तथा सुदूरपश्चिमका लागि सुन्धारा र कलङ्कीमा बस्ने व्यवस्था गरिएको छ।
विदेशबाट आएका जनसम्पर्क समितिका प्रतिनिधिका लागि भने लाजिम्पाट र ठमेलमा बस्ने व्यवस्था गरिएको छ। प्रतिनिधिका लागि सहुलियत दरमा होटलको व्यवस्था मिलाइएको अध्यक्ष ढकालले बताए।
“देश र विदेशबाट आएका १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी पाँच हजार कोठाको व्यवस्थापन गरेका छौँ,” उनले भने।
महाधिवेशनमा सहभागी हुन आउने जिल्ला, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाका महाधिवेशन प्रतिनिधिले होटलको खर्च आफैँ व्यहोर्नुपर्ने कांग्रेसले जनाएको छ। विदेशबाट आउने पाहुनाको आवास खर्च भने पार्टीले व्यहोर्ने केन्द्रीय सदस्य धमलाले बताए।
प्रतिनिधिका लागि महाधिवेशन अवधिभर बिहान र दिउँसोको खाना पार्टीले भृकुटीमण्डपमा खुवाउने व्यवस्था गरेको छ। बसोबासमा समस्या भए नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले सहजीकरण गर्ने धमलाले बताए।
कांग्रेसले आफ्नो वेबसाइटमा होटलको नाम, क्षेत्र र मूल्यसहितको विवरण राखेको जनाएको छ। १५औँ राष्ट्रिय महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ।