अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कमिसनखोर, कालोबजारी र कालोधनका कारोबारीहरूसँग हिमचिम बढाएर आर्थिक सुशासन र भ्रष्टाचारमुक्त समाजको आफ्नो परिकल्पनामा ठेस पु¥याएको निक्र्यौलपछि प्रधानमन्त्री वालेन्द्र शाह सक्रिय भएका छन् । उनले अर्थमन्त्री वाग्लेलाई सहभागी नै नगराई आफ्नै पहलमा परामर्श पनि थालेका छन् । तर सोही क्रममा सोमबार उनले पुुँजीबजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा कालोधनकै कारोबारमा जोडिएका विवादास्पद व्यवसायी पनि सहभागी भएको पाइएको छ । प्रधानमन्त्री शाहको पहलमा आयोजित उक्त कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्ट, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रमुख लगानीकर्ता सन्दीप जलान, नेप्सेका पूर्वअध्यक्ष सिताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, प्रियराज रेग्मी र अम्बिका प्रसाद पौडेल सहभागी थिए ।
प्रधानमन्त्री बालेनका निम्तालुमध्येका सागर ढकाल एसएनएस सहकारीको नाममा भएको विवादास्पद धन्दामा संलग्न रहेका कालोधनका कारोबारी हुन् । मुलुकमा कालोधनको कारोबार बढेपछि नेपाल एएफटीएफको कालोसूचीमा पर्ने खतरा बढ्दै गएपछि अहिले नेपाललाई खैरो सूचीबाट बाहिर निकाल्ने प्रयासस्वरूप प्रधानमन्त्री शाहले आफैँ पहलकदमी लिएका छन् । तर पनि प्रधानमन्त्री शाहको उक्त कदमको पहिलो परामर्शमै स्रोत नखुलेको कालोधनको कारोबार गर्ने केही विवादास्पद व्यक्तिहरूको सहभागिता हुन पुगेको छ । धेरै परसम्म नजाने हो भने त्यहाँ निम्ताइएका सन्दीप जलान स्रोत नखुलेको कालोधनको कारोबारसँग जोडिएका छन् । जलानलाई नासा सेक्युरिटिजको प्रमुख लगानीकर्ताको रूपमा प्रधानमन्त्री शाहले परामर्शको लागि निम्ताएका थिए । उनी प्रमुख लगानीकर्ता रहेको नासा सेक्युरिटिजका क्लाइन्टहरूमध्ये श्रीराम केसी फेक रेस्कुको अवैध धन्दामा संलग्न रहेका छन ।
श्रीराम केसीको बारेमा नासा सेक्युटिजका अध्यक्ष मदन पौडेललाई सोध्दा केसी आफ्नो क्लाइन्ट मात्र भएको बताए । केसीबाहेक श्याम कँडेल, विवेक सुवेदीलगायतका व्यक्ति फेक रेस्कु, हुण्डी, क्रिप्टोलगायतको अवैध कारोबारमा जोडिएका छन् र तीमध्येका सुवेदी सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका छन् । त्यस्तै धन्दामा रहेका झण्डै डेड दर्जन व्यक्तिहरू जलानको नासा सेक्युरिटिजका क्लाइन्टहरू रहेका छन् । तिनै व्यक्तिहरूलाई बोलाएर प्रधानमन्त्री शाहले परामर्श गर्दा कालोधनका कारोबारीहरूकै मनोबल बढ्न पुगेको छ ।