काठमाडौं, बुटवल पावर कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि ५१ लाख ४१ हजार ९ सय ८६ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कम्पनी र यससँग आबद्ध ग्रुप कम्पनीहरू तथा बीपीसी कर्मचारीहरूको तर्फबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको हो । गत भदौ १० गते आएको बाढीले जनधनको ठूलो क्षति पु¥याएपछि सरकारले गरिरहेको खोज, उद्धार तथा राहतको प्रयासमा ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त रकमको चेक इप्पान मार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
यस सामूहिक सहयोग रकममा बुटवल पावर कम्पनी र यसका कर्मचारीहरूको तर्फबाट मात्रै ३३ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ संकलन गरिएको छ, जसमा कम्पनीको २२ लाख र व्यवस्थापन तथा कर्मचारीहरूको ११ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ योगदान रहेको छ ।
त्यसैगरी, समूहअन्तर्गतको न्यादी हाइड्रो पावर लिमिटेडले ५ लाख ५० हजार, हिमाल पावर लिमिटेडले ५ लाख, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले ५ लाख ५ हजार र खुदी हाइड्रो पावर लिमिटेडले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दै कम्पनीले बेपत्ता नागरिकहरूको शीघ्र सुरक्षित सम्पर्कको कामना समेत गरेको छ ।