जेरुसेलम, इजरायली रक्षा मन्त्री इजरायल काट्जले बिहीबार अमेरिकी आर्थिक प्रतिबन्ध इरानविरुद्ध प्रभावकारी साबित भएको बताएका छन् । यस दबाबले तेहरानलाई चरम आर्थिक संकटतर्फ धकेल्ने र अन्ततः इरान आफ्नो अडानबाट पछि हट्न बाध्य हुने उनले बताएका छन् ।
‘हामीले देखेका छौँ, उनीहरूमाथि परेको भारी आर्थिक दबाब र विद्रोह तथा शासन पतनको डरले उनीहरूलाई निराश कदम चाल्न बाध्य पार्न सक्छ’, काट्जले रक्षा मन्त्रालयका कर्मचारीहरू सम्मिलित एक एक कार्यक्रममा भने । इजरायलले फेब्रुअरीको अन्त्यमा अमेरिकाको साथमा मध्यपूर्व युद्ध सुरु गरेको थियो तर अप्रिलमा राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता गरेपछि सैन्य सक्रियताबाट अलग बसेको छ । युद्धविराम समय सकिएको कारण अहिले यो कार्यान्वयन भइरहेको छैन ।
गत महिना अमेरिकी अर्थमन्त्रालयले इरानी अर्थतन्त्रलाई ‘संकटमा धकेल्ने’ योजनासहित नयाँ आर्थिक प्रतिबन्धको शृंखला घोषणा गरेको थियो । आइतबारदेखि अमेरिकी वायुसेनाले फेरि इरानमा आक्रमण सुरु गरेको छ । जवाफी कारबाहीमा इरानले खाडी र इजरायलको पूर्वी छिमेकी जोर्डनमा रहेका अमेरिकी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ तर इजरायललाई नै निशाना बनाएको छैन ।
मन्त्री काट्जले गत वर्ष र यस वर्षका अघिल्ला भिडन्तहरूलाई संकेत गर्दै बिहीबार भने, ‘हामीले उनीहरूलाई दुई पटक शक्तिशाली रूपमा प्रहार गरेपछि र उनीहरूको आणविक कार्यक्रम नष्ट गरेपछि पनि इरानले इजरायलमाथि खासै आक्रमण गरेको देखिँदैन । अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट तत्कालिन सर्वोच्च नेता अली खामेनीको हत्या गरेपछि र उनीहरूको रणनीतिक क्षमतामा गम्भीर क्षति पु¥याएपछि पनि उनीहरूले इजरायलमा आक्रमण गर्दैनन् किनकि यो यसले इरानलाई थप संकटतर्फ धकेल्नेछ ।’
इरानविरूद्ध बढी कडा देखिने मन्त्री काट्जले पछिल्ला महिनाहरूमा इरानविरुद्ध दोहो¥याएका चेतावनीहरूलाई पुनः दोहो¥याए । ‘इजरायलमाथिको इरानी आक्रमणले इजरायललाई कुनै पनि विद्यमान बाध्यताबाट मुक्त गर्नेछ’, उनले थपे, ‘हामी इरानको कैयौँ उर्जा पूर्वाधारसहित सबै राष्ट्रिय सैन्य तथा नागरिक पूर्वाधारमा प्रहार गर्नेछौँ र इरानलाई ढुङ्गे युगमा धकेल्नेछौँ ।’
बुधबारको अन्तर्वार्तामा काट्जले सेप्टेम्बरको मध्यमा सुरु हुने यहूदी उच्च चाडपर्वको मौसममा इरानले आक्रमण गरेमा इजरायल ‘ठूलो शक्ति’ का साथ जवाफ दिन तयार रहेको बताएका थिए । रासस/एएफपी