काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले रसुवा बाढी प्रभावित नागरिकका लागि ३७ लाख २ हजार रुपैयाँ राहत सहयोग गरेको छ । प्रतिष्ठानका पदाधिकारी, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा पूर्वकर्मचारी (पेन्सनर) बाट एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन संकलन गरी उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका प्रवक्ता प्राडा. शमशेर श्रेष्ठका अनुसार राहत कोषमा ३७ लाख २ हजार रुपैयाँ जम्मा गरिएको हो । संकलित रकम बाढी तथा पहिरो प्रभावित परिवारको तत्कालीन राहत, उपचार तथा पुनःस्थापनामा प्रयोग हुने अपेक्षा गरिएको छ । प्रतिष्ठानले स्थापना कालदेखि नै महामारी, प्राकृतिक विपत्ति तथा अन्य संकटका समयमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै विपद्का बेला सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।