काठमाडौं, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित आईसीटी अवार्ड को ११औँ संस्करणका लागि अनलाइन नोमिनेसन खुला गरिएको छ । १६ वटा अवार्ड विधामा खुला गरिएको नोमिनेसनमा प्रदेशस्तरदेखि दक्षिण एसियाली देशहरूलाई समेट्ने केही अन्तर्राष्ट्रिय अवार्डहरू पनि समावेश गरिएका छन् । लिभिङ विथ आईसीटीले सन् २०१६ देखि आयोजना गर्दै आएको अवार्डको ग्रान्ड फिनाले आगामी पुसको पहिलो सातामा आयोजना हुने तय भएको छ ।
अवार्डका विभिन्न चरणअन्तर्गत टेलिभिजन शो, स्टार्टअप फेस्ट, जुरी मूल्यांकन तथा अन्य प्रि–इभेन्टसहित करिब छ महिनासम्म कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । यस वर्ष स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन, सोसल इन्नोभेसन, पायोनियर, प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर, नेपाली डायस्पोरा, डिजिटल गभर्नेन्स, डिजिटल एजुकेसन, डिजिटल सर्भिसेसलगायत १६ विधामा आवेदन आह्वान गरिएको छ । यीमध्ये दुई अन्तर्राष्ट्रिय विधा साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड र एआई इन्नोभेसन साउथ एसिया आईसीटी अवार्डमा नेपालसहित दक्षिण एसियाका आठ देशका स्टार्टअप तथा एआई कम्पनीहरूले प्रतिस्पर्धा गर्न सक्नेछन् ।
आयोजक समितिका अध्यक्ष राजन लम्सालका अनुसार अवार्डका लागि आवेदन आईसीटि अवार्ड डट ओआरजीमार्फत अनलाइन दर्ता गर्न सकिनेछ । पहिलो चरणको नोमिनेसन भदौ १५ गतेसम्म खुला रहनेछ । अवार्डमा स्टार्टअप तथा इन्नोभेसनसँग सम्बन्धित विधामा प्रतिस्पर्धीले स्वयं आवेदन दिनुपर्ने व्यवस्था छ भने योगदानमा आधारित व्यक्तिगत सम्मानका लागि सम्बन्धित व्यक्ति वा अन्य व्यक्तिले पनि सिफारिससहित नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
सरकारी तथा निजी संस्थाका डिजिटल रूपान्तरणसम्बन्धी विधामा सम्बन्धित संस्थाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आयोजकका अनुसार यस वर्ष १६ वटै विधाको मूल्यांकनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका २० जना विज्ञ जुरी सदस्य रहनेछन् भने सरकारी तथा निजी क्षेत्रका १५ भन्दा बढी विशिष्ट व्यक्तिहरू सम्मिलित सल्लाहकार समिति पनि गठन गरिनेछ ।
आईसीटी अवार्डले विगत केही वर्षदेखि दक्षिण एसियाली स्तरमा आफ्नो दायरा विस्तार गर्दै आएको छ । यसवर्षदेखि एआई इन्नोभेसन साउथ एसिया आईसीटी अवार्ड थप गरिएको आयोजकले जनाएको छ । साथै, सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई प्रोभिन्स स्टार्टअप आईसीटी रिकोग्निसन २०२६ अन्तर्गत सम्मान गरिने जनाइएको छ । अवार्डका लागि योग्य व्यक्ति, संस्था, कम्पनी वा इन्नोभेसनलाई स्वयं वा अन्य कुनै व्यक्तिले पनि सिफारिस तथा नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
अवार्डका विधामध्ये क्याटेगोरी ‘ए’ अन्तर्गत स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड तथा सोसल इन्नोभेसन आईसीटी अवार्ड रहेका छन् । यी विधाहरूमा प्रतिस्पर्धीहरूले स्वयं आवेदन दर्ता गर्नुपर्नेछ । क्याटेगोरी ‘बी’ अन्तर्गत प्रविधिमार्फत समाज र राष्ट्रका लागि पुर्याएको योगदानका आधारमा अवार्डका लागि छनोट गरिनेछ ।
यसअन्तर्गत पायोनियर आईसीटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड (वुमन), आन्टरप्रेनर्स आईसीटी अवार्ड तथा नेपाली डायस्पोरा आईसीटी अवार्ड रहेका छन् । यी विधाहरूमा स्वयं व्यक्ति वा अन्य कसैले पनि व्यक्तिगत विवरण उल्लेख गरी नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
यसैगरी, क्याटेगोरी ‘सी’ अन्तर्गत सरकारी तथा निजी संस्थाहरूको डिजिटल रूपान्तरण, नवीनतम प्रविधिको प्रयोग तथा त्यसका लागि गरिएका प्रयासका आधारमा नोमिनेसन लिइनेछ । यसअन्तर्गत डिजिटल गभर्नेन्स आईसीटी अवार्ड, डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल सर्भिसेस आईसीटी अवार्ड (इन्टरप्राइज सेक्टर) तथा डिजिटल सर्भिसेस आईसीटी अवार्ड (इमर्जिङ सेक्टर) रहेका छन् ।
यस्तै, क्याटेगोरी ‘डी’ अन्तर्गत रहेको साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड र एआई इन्नोभेसन साउथ एसिया आईसीटी अवार्डमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, नेपाल तथा अफगानिस्तानका स्टार्टअप तथा एआई कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।