काठमाडौं, काठमाडौँ जिल्लाको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट साउन ३ गते सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणम लिइएकाहरुमा काठमाडौँको कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुर जिल्लाको गाइघाट घर भई हाल चन्द्रागिरी नगरपालिका–४ नैकाप बस्ने २४ वर्षीय सुमित्रा राई छन् ।
नियन्त्रणमा लिइएका अनिल देउलाले लागूऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोको टोलीले ५० वटा बक्समा रहेको १५ हजार क्याप्सुल ट्रामाडोलसहित नियन्त्रणमा हो । साथै उनले प्रयोग गरेको बा ७७ प ७८०० नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिएको छ ।
त्यस्तै निज देउला बस्ने कोठाबाट डाइजापम तथा फेरेनागन ट्याब्लेट १ हजार १ सय ८८ वटा, ट्रामाडोल ३ हजार ७ सय ७० वटा र पोलेन १ सय ५० वटासहित सुमित्रा राईलाई समेत नियन्त्रणमा लिइएको हो । त्यसैगरी उनको कोठाबाट १ लाख ३९ हजार १ सय ६५ रुपैयाँ तथा ३ थान मोबाइल सेटसमेत नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद लागूऔषध, नेपाली रुपैयाँ, स्कुटर र मोबाइल सेटसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।