काठमाडौं, डा. बुद्धि मल्लद्वारा लिखित दोश्रो पुस्तक ‘सपना साकार हुन्छन्’ बजारमा आएको छ । यसअघि ‘सफलता सम्भव छ’ नामक पुस्तक बजारमा ल्याइसकेका लेखक डा. मल्लले अहिले ‘सपना साकार हुन्छन्’ पुस्तक ल्याएका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार भएको विमोचन कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । उक्त पुस्तक विमोचन कार्यक्रम शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलको अध्यक्षता र नेपाल व्यवस्थापन संघका अध्यक्ष डा. हेमा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक रोहित भण्डारी र मोटिभेटर एवं लेखक तुलसी निरौलाले पुस्तकमाथि समीक्षा गरेका थिए ।
सो पुस्तकमा सानो सोच्ने जोखिमबाट बच्छ, ठूलो सोच्ने इतिहास रच्छ, सधैंभरी विद्यार्थी, प्रतिकूलता परिक्षा हो, आँशु पुछ्ने हात नै महान् हुन्छन्, कोमल ओठबाट बाणजस्तो शब्द ननिकाल्नु, सफल दाम्पत्यको लागि मनको कुरा बुझ्नुपर्छ, नेतृत्वका प्रकार : असल, खराब र कुरुप, अवसरलाई नचिन्ने संधै बन्छ खिन्न, समस्या समाधानमा फाइभ ह्वाइ सिद्धान्त जस्ता विभिन्न शीर्षकहरुमा ४९ वटा सन्देशमुलक लेखहरु संलग्न छन् ।
बैंकरसमेत रहेका लेखक मल्लको अघिल्लो पुस्तक ‘सफलता सम्भव छ’ मा समावेश गरिएका लेखकहरुको सारसमेत समावेश गरिएकोले पुस्तक सबै वर्गहरुको लागि उपयोगी भएको बक्ताहरुले बताएका थिए । पूर्व संचारकर्मी तथा बैंकर कल्पना मल्लले सञ्चालन गरेको उक्त कार्यक्रममा पुस्तक नेपालभर विभिन्न पुस्तक पसलमा उपलब्ध हुनुको साथै दराज, पुस्तक घर अनलाइनबाट र शिखा बुक्समार्फत प्राप्त गर्न सकिने बताएको छ ।
पुस्तकले मानिसहरुमा केही हदसम्म नकारात्मकता हटाउन र आशा बढाउन, म सक्दिन कि भनेर अन्यौलमा रुमलिइरहेकाहरुमा म गर्न सक्छु भन्ने भावना जागृत गराउन सहयोगी बन्न सक्ने लेखक डा. मल्लले विश्वास लिएका छन् ।