गुरु तत्सम अर्थात् संस्कृत शब्द हो । गुरु शब्दको व्युत्पत्ति पाणिनीय व्याकरणमा ‘गृ–शब्दे’ धातुमा ‘कु’ प्रत्यय भएर हुने गर्दछ जसको अर्थ ‘गृणातिउपदिशतिवेदादिशास्त्राणि’ अर्थात् वेदादि शास्त्रहरूको उपदेश गर्ने भन्ने हुन्छ । गुरु शब्दको शाब्दिक अर्थ त गरुङ्गो हुन्छ । गुरु पूजनीय, गौरवीय भएका कारण गुरुलाई गम्भीरता पूर्वक हेरिने भएकाले गुरु शब्दको अर्थ गरुङ्गो भएको पनि हुन सक्छ । सामान्य रूपमा हेर्दा गुरु शब्दको अर्थ केही सिकाउने वा ज्ञान गराउने भन्ने नै हुन्छ । तर अहिले त सवारी साधन चालकलाई पनि गुरु भन्ने चलन चलेको रहेछ, सायद सवारी साधनलाई सही मार्गमा डोर्याउने भएर पनि होला । जे होस् संसारका सही मार्गदर्शक नै वास्तवमा गुरु हुन् । हरेक कार्य विशेषमा गुरुको स्थान महत्वपूर्ण हुन्छ । हामी गुरु विना किंकर्तव्यविमूढ बन्न पुग्दछौँ ।
संसारमा जन्म दिने माता–पिताले शरीर दिनुहुन्छ भने गुरुले ज्ञान दिनुहुन्छ । शरीरको विकासभन्दा पनि ज्ञान, विवेक, संस्कार र चरित्रको विकास महत्वपूर्ण मानिन्छ । गुरु केवल पाठ पढाउने व्यक्ति मात्र होइनन्, जीवनलाई सही दिशा दिने मार्गदर्शक, प्रेरणाका स्रोत तथा अज्ञानरूपी अन्धकार हटाउने प्रकाशपुञ्ज हुन् । गुरु शब्दको अर्थ शास्त्रहरुमा यस प्रकार गरिएको पाइन्छ ।
गु शब्दस्त्वन्धकारः रु शब्दस्तु तन्निवारकः ।
अन्धकार निरोधत्वात् गुरुरित्यभिधीयते ।।
अन्धकारबाट पार लगाउने व्यक्ति वा वस्तु नै वास्तवमा गुरु हुन् । ‘गु’ भनेको अन्धकार र ‘रु’ भनेको हटाउनेवाला अर्थात् अन्धकार हटाइ उज्यालोतिर अघि बढाउन प्रेरित गर्ने गुरु साक्षात् भगवान् ब्रह्मा, विष्णु र महेश्वरकै अवतार हुन् भन्ने कुरा हाम्रा पौराणिक शास्त्रहरूमा पाइन्छ ।
गुरुर्ब्रह्मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।
भगवान् शंकराचार्यले आफ्नो ‘मणिरत्नमाला’ नामक पुस्तकमा ‘को वा गुरुर्यो हि हितोपदेष्टा’ भनेर हित हुने कुराको उपदेश गर्ने व्यक्ति नै वास्तवमा गुरु हुन् भनेर गुरुको संज्ञा व्यक्त गर्नुभएको छ । ‘एकाक्षरप्रदातारं यो गुरुं नाभिवन्दते’ अर्थात् कसैले हामीलाई एउटा शब्द मात्र सिकाउँछ भने पनि वहाँ गुरु समान हुनुहुन्छ । श्रीमद्भागवतका अनुसार भगवान् दत्तात्रेयका चौबीस गुरुहरू रहेको चर्चा यत्रतत्र प्रसिद्ध छ । वहाँका अनुसार जसबाट जति गुणहरू ग्रहण गरी प्रयोग गरिन्छ, ती व्यक्ति र वस्तुलाई गुणप्रदाता मानेर आफ्नो गुरु मान्न सकिन्छ, जसमा पृथ्वी, सर्पदेखि माकुरोसम्म दत्तात्रेयका गुरु रहेका छन् । शिष्यले आफूलाई केही न केही ज्ञान दिने ज्ञानदाताहरूलाई सम्झिन प्रेरित गर्ने यो पनि एक महान् विचार नै हो ।
हाम्रो प्राचीन गुरु–शिष्य परम्परा विश्वकै उत्कृष्ट परम्परामध्ये एक हो । ऋषिमुनिहरूका आश्रममा राजकुमारदेखि सामान्य नागरिकका सन्तानसम्मले समान रूपमा शिक्षा प्राप्त गर्दथे । भगवान् श्रीरामले महर्षि वशिष्ठ र विश्वामित्रबाट शिक्षा प्राप्त गर्नुभएको थियो भने भगवान् श्रीकृष्णले सान्दीपनि ऋषिको आश्रममा अध्ययन गर्नुभएको थियो । यसबाट के स्पष्ट हुन्छ भने संसारका महान् व्यक्तिहरू पनि गुरुको मार्गदर्शनविना पूर्ण बन्न सकेनन् ।
गुरु शब्दका पर्यायवाचीका रूपमा अहिले शिक्षक, सर, टिचर, मास्टरलगायतका शब्दहरू प्रशस्त प्रचलनमा छन् । यति हुँदाहुँदै पनि गुरु शब्दकै पूर्णार्थ अरू शब्दमा नरहेको जस्तो महसुस हुन्छ । संसार अपूर्ण छ । अपूर्ण संसारमा पूर्णता केवल गुरुबाट मात्र सम्भव छ । गुरु ज्ञानको पुञ्ज हो । निस्वार्थ रूपमा शिष्यलाई ज्ञान दिने भएकाले गुरु साक्षात् भगवान् हुन् । किनकि ज्ञान विना हामी जड समान हुन्छौं, पशु समान हुन्छौं । जड र पशु हुनबाट जोगाएर हामीलाई मानव, देवता हुँदै मोक्षसम्म पुर्याइदिन सक्ने एक मात्र साधन भनेकै गुरु हुन् । ‘मोक्षकारणसामग्र्यां भक्तिरेव गरियसी’ अर्थात् मोक्ष हुनको लागि भक्तिको आवश्यकता पर्दछ ।
भक्तिबाटै ज्ञान र वैराग्य सम्भव छ । ज्ञान र वैराग्य नै मोक्षका मार्ग हुन् साथै मोक्ष नै मनुष्य जीवन को परमोद्देश्य हो । शास्त्रहरू भन्दछन् ‘ऋते ज्ञानान्न मुक्तिः’ त्यसैले जताबाट जसरी हेरे पनि ज्ञान नै सर्वसाधनसम्पन्न हो र ज्ञान दिने गुरु नै साक्षात् ईश्वर हुन् । उपनिषद्मा भनिएको छ ‘विद्वांसो हि देवाः’ अर्थात् विद्वान् ज्ञानीहरू नै देवता हुन् । विद्वान्हरूले नै व्यक्ति, समाज र राष्ट्रलाई असल मार्गतर्फ डोर्याउने गर्दछन् । अद्वैत् वेदान्त शास्त्रका महान् विद्वान् योगी नरहरिले आफ्नो ‘बोधसार’ नामक पुस्तकमा भन्नुहुन्छ–
यच्छन्ति देवता तुष्टा धनमायुः सुतं यशः ।
ज्ञानं के नाम दास्यन्ति विना श्रीगुरुपादुकाम् ।।
अर्थात् स्वर्गका देवताहरूले मत्र्यलोकका मनुष्यहरूलाई धन, आयु, सन्तान, ऐश्वर्यादि सबै कुराहरू दिन सक्दछन् तर ज्ञान दिन सक्दैनन् । ज्ञान दिनका लागि देवताहरू स्वयं गुरु रूपमा अवतरित भएर मत्र्यलोक झरेका हुन्छन् । त्यसैले पनि गुरु साक्षात् यस लोकका देवता नै हुन् भन्ने विषयमा कसैको द्विमत पाइँदैन । उपनिषद्हरूले पनि गुरुलाई ‘आचार्य देवो भवः’ भन्दै उच्च देवताको स्थान नै प्रदान गरेका छन् । त्यसैले ज्ञानभन्दा पवित्र र गुरुभन्दा महान् एस संसारमा केही छैन । त्यसैले श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्ण आफ्ना प्रिय शिष्य अर्जुनलाई भन्नुहुन्छ, ‘न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते’ अर्थात् यस संसारमा ज्ञानभन्दा पवित्र अर्को कुनै वस्तु छैन । यस प्रकार संसारकै सबैभन्दा पवित्र वस्तु बोक्ने गुरु नै संसारकै सबैभन्दा महान् देवता रहन सक्दछन् । गीतामा फेरि भगवान् भन्नुहुन्छ, ‘ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरुते तथा’ अर्थात् हे अर्जुन ज्ञानरूपी अग्निले नै सबै अज्ञानरूपी प्रपञ्चलाई भष्म गरिदिन्छ । यसैगरी ज्ञानको महत्वका विषयमा शास्त्रहरूमा धेरै चर्चा पाइन्छ ।
न चौरहार्यं न च राजहार्यं न भ्रातृभाज्यं न च भारकारि ।
व्यये कृते वर्धत एव नित्यं, विद्याधनं सर्वधनप्रधानम् ।।
अर्थात् विद्या यस्तो धन हो, जसलाई चोरले कदापि पनि चोरेर लैजान सक्दैन, न राजाले नै हरण गरेर लैजान सक्छन्, न दाजुभाइमा अंशवण्डा गर्नुपर्ने न साथमा बोकेर हिँड्न भारी हुने । अरू धन जति खर्च गर्यो उति घट्छ, तर विद्यारूपी धन यस्तो छ कि, जति खर्च गर्यो उति नै बढ्छ, घट्दैन । त्यस्तै ‘स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते ।’ अर्थात् राजा आफ्ना देशमा मात्र पूजित हुन्छन्, भने विद्यावान् मानिस जहाँ पनि पूजिन्छ, सम्मानित हुन्छ । त्यसैगरी,
विद्यानाम नरस्य रूपमधिकं प्रच्छन्नगुप्तं धनम्,
विद्याभोगकरी यशःसुखकरी विद्या गुरुणां गुरुः ।
विद्या बन्धुजनो विदेशगमने विद्या परा देवता,
विद्या राजसु पूज्यते न हि धनं विद्याविहीनः पशुः ।।
अर्थात् विद्या मानिसहरूका लागि महान् भन्दा पनि महान् धन हो । जुन लुकेर सुरक्षित रहेको हुन्छ । विद्या सुखीहरूका लागि सुखको साधन, भोगीहरूका लागि भोगको साधनका साथै विद्या यश कीर्ति फैलाउँदै मानिसलाई अमर बनाउँने महान् साधन पनि हो । विद्या गुरुको पनि गुरु हो । परदेशमा पनि विद्याले बन्धु नै जस्तो भएर सहयोग गर्दछ । विद्या परं देवता स्वरूप हुन्छ । विद्यावान् मानिस राजदरबारमा पनि पूजित हुन्छ भने विद्याहीन मानिस अज्ञानी र मूर्खका साथसाथै पशुसमान मानिन्छ । त्यसैले यस प्रकारको महत्व रहेको विद्यालाई धारण गरेका गुरुको स्थान सर्वोपरि रहेको छ । गुरु र ज्ञानको विषयमा शास्त्रहरूले धेरै वर्णन गरेको पाइन्छ ।
तारकस्योपदेशेन गुरुर्भुक्त्वा विमुक्तिदः ।
काश्यामपीश्वरस्तस्मादीश्वरादधिको गुरुः ।।
अर्थात् काशीको मरणले मोक्ष मिल्छ भनिन्छ, किन त? भन्दा काशी क्षेत्रमा कुनै मनुष्यको शरीर त्याग हुने बेलामा भगवान् शंकर स्वयं गुरु रूपमा आई उक्त मनुष्यलाई तारक मन्त्रको उपदेश गर्नुहुन्छ र तारक मन्त्रद्वारा उसलाई ज्ञान मिल्दछ । र अन्त्यमा त्यही ज्ञानद्वारा नै जीवलाई मुक्ति मिल्दछ । माथि नै उल्लेख भइसकेको छ ज्ञानविना मुक्ति सम्भव छैन भनेर, ‘ऋते ज्ञानान्न मुक्तिः’ । त्यसैले ईश्वरले पनि जीवलाई ज्ञान दिन चाहेको खण्डमा गुरुलाई नै माध्यम बनाउने भएकाले र गुरुद्वारा नै जीवले ईश्वरलाई बोध गर्ने भएकाले गुरु देवताभन्दा पनि महान् हुन् भन्ने कुरा स्पष्ट छ ।
भवेत् स्पर्शमणिस्पर्शाल्लोहं स्वर्णं न तन्मणिः ।
गुरुस्पर्शमणिस्पर्शात् स एव भवति क्षणात् ।।
अर्थात् स्पर्शमणिको सम्बन्ध फलामसँग भयो भने स्पर्शमणिले फलामलाई सुन बनाउँदछ तर स्पर्शमणिले फलामलाई स्वयं स्पर्शमणि नै बनाउँदैन तर गुरुले कुनै कुशल शिष्यलाई स्वयं आफूजस्तै अर्थात् आफूभन्दा पनि विद्वान् बनाउन सक्नुहुन्छ । यसकारण गुरु साक्षात् देवताका पनि देवता हुन् र ईश्वरका पनि ईश्वर हुन् भन्ने कुरा छर्लङ्ग हुन्छ । त्यसैले गुरुको महिमा अपरम्पार रहेकाले विद्वान्हरू बताउँछन्–
ध्यानमूलं गुरोर्मूतिः पूजामूलं गुरोः पदम् ।
मन्त्रमूलं गुरोर्वाक्यं मोक्षमूलं गुरोः कृपा ।।
अर्थात् गुरुमूर्तिको ध्यान नै सबैभन्दा महान् ध्यान हो । गुरुका चरणको पूजा नै सबैभन्दा महान् पूजा हो । गुरुवाक्य नै सबैभन्दा महान् मन्त्र हुन् र गुरुको कृपा नै मोक्षरूपी परमतत्व प्राप्त गर्ने महान् साधन हो ।
अन्त्यमा यो धर्तीमा जन्म दिएर बाँच्न सिकाउने आमा नै संसारकी प्रथम गुरु हुन् । सर्वप्रथम आमालाई सम्मान तथा श्रद्धाभाव अर्पण गर्नुपर्दछ । मार्गदर्शनार्थी पिता हाम्रा द्वितीय गुरु हुन् । हाम्रो सनातन परम्परामा हरेक आषाढ शुक्ल पूर्णिमालाई व्यास पूर्णिमा अर्थात् गुरुपूर्णिमाका रूपमा मनाउने चलन रहेको छ । गुरुले नै अन्धकार रूपी संसारलाई ज्ञानद्वारा प्रकाशित बनाइदिने भएकाले गुरुपूर्णिमा तिथिलाई विशेष रूपले मनाउने गरिएको हो । पूर्णिमा तिथि आफैँमा पूर्णा तिथि पनि हो । यसैगरी पूर्णिमा तिथिलाई पर्वतिथिका रूपमा पनि मनाइन्छ । गुरुप्रति सम्मान व्यक्त गर्दै आदर भाव प्रकट गर्ने पर्व गुरुपूर्णिमा हो । त्यसैले आजको यस विशेष पर्वमा सम्पूर्ण गुरुवर्गहरुप्रति श्रद्धाभाव अर्पण गर्दै समस्त गुरुवर्ग तथा शिष्यवर्गहरूमा गुरुपूर्णिमा पर्वको हार्दिक मंगलमय शुभकामना ।
श्री गुरुचरणकमलेभ्यो नमः । (लेखक वाल्मीकि विद्यापीठमा आचार्य तहमा अध्ययनरत छात्र हुन् ।)