‘गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः’
(गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन् अनि गुरु भनेकै भगवान शंकर हुन, गुरु नै हुन साक्षात परब्रह्मा, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।)
गुरुलाई देवता र पिता समान सम्मान दिने हाम्रो संस्कार र संस्कृति छ । पौराणिक कालदेखि नै गुरु अर्थात् शिक्षकको महिमा र महत्व अतुलनीय रहँदै आएको छ । वेदको रचीयता कृष्ण द्वैपायन व्यास जन्मेको आषाढ पूर्णिमाको दिनमा गुरुहरूको सम्झना र पूजा गरेर गुरूपूर्णिमा मनाइन्छ । वेदव्यासले वेद, अठार पुराणहरू लेखी हिन्दू धर्मलाई मार्गदर्शन प्रदान गरेका छन् । गुरूपूर्णिमाको सन्देश जीवन र जगतलाई उन्नत एवं सार्थक बनाउनेतर्फ लक्षित छ । संस्कृतमा गु भनेको अन्धकार र रू को अर्थ उज्यालो अर्थात् अज्ञानरूपी अन्धकारबाट चेतनास्तर वृद्धि गरी उज्यालोतिर लानु हो ।
पौराणिककालको जस्तो गुरु शिष्यको सम्बन्धमा शिष्टता, आत्मियता र समर्पणको भावना वर्तमानमा पाइँदैन् । गुरु शिष्यको सम्बन्ध सौहाद्रता भन्दा पनि कृतिमता बढी देखिन्छ । गुरूपूर्णिमाको गरिमालाई आत्मसात गर्नु भन्दा पनि कर्मकाण्डी पाराले मनाउनु्ले यसको गरिमा जोखिममा पर्दै गएको भान हुन्छ । गुरूपूर्णिमाको महिमा र गरिमा गुरुको आचरण, विचरण र उच्च नैतिकतामा मात्रै फस्टाउने र निस्कलंक रहने कुरामा दुईमत हुन सक्दैन । वर्तमानमा गुरु भन्नाले पुरेत र शिक्षक/प्रशिक्षकलाई बुझाउँछ । यहाँ गुरुलाई शिक्षकको रूपमा प्रस्तुत गरिएको छ ।
वर्तमानमा कतिपय शिक्षकले सम्मानभन्दा पनि सम्पत्तीलाई महत्व दिने प्रचलन हावी भएकोले शिक्षण पेसा अन्यको तुलनामा उपेक्षित हुन पुगेको गुनासो गर्नेको कमी छैन । अर्कोतर्फ डाक्टर, इन्जिनियर, वकिल, प्रशासक, राजनीतिज्ञ आदि उत्पादन गर्ने महान शिक्षण पेसालाई कम आँक्नु विवेकहिनता हो । त्यस्तै स्वयं शिक्षकबाट पनि मर्यादित शिक्षण पेसालाई उपहास हुने गरी आचारसंहिता विपरित कार्य गरेर आफ्नो प्रतिष्ठा र गरिमामा खोट लगाउने काम प्रति उद्दत रहनु गुरु गरिमाको लागि शुभसंकेत होइन । शिक्षक र शिक्षण पेसाको गरिमालाई निस्कलंक राख्न शिक्षकको आचरण, आहारविहारको अहं भूमिका रहन्छ नै । गुरूपूर्णिमालाई एकदिने उत्सव मात्र नबनाएर शिक्षक, विद्यार्थी र व्यवस्थापनले शैक्षिक गुणस्तरलाई उन्नत बनाउन प्रण गर्ने दिनको रूपमा मनाउन सके मात्र सार्थक हुनेछ । गुरुको गरिमा शिष्यले प्राप्त गर्ने शिक्षाको स्तर र संस्कारमा भरपर्ने वास्तविकतालाई मध्यनजर राखेर स्वयं शिक्षक, सरकार र सरोकार पक्ष संवेदनशिल र चनाखो रहनु बुद्धिमानी ठहर्छ ।
परम्परागत गुरु शिष्यबीचको सुमधुर र सौहार्द सम्बन्ध अहिलेका शिक्षक र विद्यार्थीले अनुशरण नगरेको विभिन्न निन्दनीय घटनाले पुष्टि गरेको छ । अचेल विद्यार्थीबाट शिक्षकलाई अपमान, हातपात एवं कालोमसो दल्ने जस्ता निन्दनीय कार्यहरू सामान्य बन्दै जानु गुणस्तरीय र संस्कारयुक्त शिक्षाको लागि शुभसंकेत होइन । शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन । शिक्षकहरूका व्यकितगत, सााजिक र पेसागत विशेष गुणहरू हुनु आवश्यक छ । व्यक्तिगत गुणमा राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशिलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान आदि । सामाजिक गुणमा पक्षपातरहित, स्पष्टवक्ता, मानवीय सम्बन्ध कायम गर्ने, सेवाभाव, क्रियाशील, विनोदप्रिय, नेतृत्व गर्ने क्षमता र समाज र समुदायको ज्ञान आदि । पेसागत गुणहरूमा विषयगत उच्च ज्ञान, शिक्षण कौशल, बालमनोविज्ञानका ज्ञान, शिक्षण पद्धति, विधि र प्रविधिको ज्ञान, उत्तरदायित्व बोध, जिज्ञाषु र अध्ययनशील, खोज आदि प्रमुख रहेका छन् ।
अचेल शिक्षाको गुणस्तर बारे चर्चा बाक्लै हुने गरेको छ । गुरुस्तर गुणस्तर एकअर्कामा अन्तरसम्बन्धित छन् । भनाइ पनि छ, कुनै पनि विद्यालय शिक्षक भन्दा राम्रो हुन सक्दैन । अर्थात् शिक्षक राम्रो भए विद्यालय पनि स्वतः राम्रो हुन्छ । शिक्षण सिकाइ क्रियाकलापलाई उपलब्धीमूलक बनाउन शिक्षकको पेसागत दक्षता तथा निष्ठापूर्वक समर्पणको भावनाले प्रमुख भूमिका खेल्छ। गुणस्तरीय शिक्षाको लागि शिक्षण सिकाइ क्रियाकलाप पनि गुणस्तरीय हुनुपर्दछ । साधानस्रोतको उपलब्धता तथा त्यसको वैज्ञानिक व्यवस्थापनलाई गुणस्तरीय शिक्षणको लागि नजरअन्दाज गर्न सकिन्न । जसको लागि प्रतिभाशाली जाँगरिलो पेसाप्रति समर्पित उत्साही शिक्षक अपरिहार्य हुन्छ । साथै, शिक्षण पेसामा प्रवेश गरिसकेका जनशक्तिलाई हौसला प्रदान गर्न उनीहरूमा भएको मौजुदा ज्ञान सीपलाई परिस्कृत र पारंगत गर्दै सक्षमता ल्याउन समयानुकूल तालिम तथा प्रशिक्षण निरन्तर हुनु आवश्यक छ ।
शिक्षकलाई पेसाप्रति समर्पित र जाँगरिलो बनाउने खालका रणनीति अवलम्बन गर्न राज्य चुक्नु हुन्न । नियमित र पारदर्शी अनुगमन निरीक्षणका आधारमा पुरस्कार र दण्डको व्यवस्थाले शिक्षकमा जाँगर, उत्साह र ऊर्जा थप्ने काम गर्छ । शिक्षक स्वयंले पेसागत उत्कृष्टता हाँसिल गर्न समग्रमा नौ–नि (निष्पक्षता, निष्ठता, निर्भिकता, निष्कलंकता, निस्वार्थता, नियमितता, नीतज्ञता, निसंकोचता, र्निदिष्टता) जस्ता आधारभूत गुणलाई आत्मसात् गरेर व्यवहारमा उतार्नुपर्दछ ।
शिक्षण संस्थालाई विद्यार्थीका लागि मात्रै सिक्ने थलो नभएर शिक्षकको ज्ञानको दायरालाई फराकिलो बनाउदै सिक्ने थलोको रूपमा विकसित गरिनुपर्दछ । शिक्षक ज्ञान, सीप, अभिवृतिबाट कहिल्यै बुढो हुँदैन । अतः निरन्तर नवीन कुरालाई सिक्ने सिकाउने भावनाबाट प्रेरित हुनुपर्छ । शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षकको अहम् भूमिका हुने हुँदा उनीहरूको कार्यगत क्षमता, लगनशीलता तथा पेसाप्रति समर्पणमा उर्जा थप्न पेसागत सुरक्षा र सम्मानको पनि उत्तिकै खाँचो रहन्छ ।
शिक्षण पेसामा प्रवेश गर्न तथा पेसागत सुरक्षाको लागि कतिपय अवस्थामा व्यवस्थापन समिति प्रति उत्तरदायी हुनुपर्ने बाध्यता छ । व्यवस्थापन समितिका पदाधिकारी लगभग सबै प्रत्यक्ष रूपमा कुनै न कुनै राजनीतिक दलको सदस्यता लिएको कारणबाट शिक्षकप्रति गरिने व्यवहारमा निष्पक्षता हुन चुकेको गुनासो सुन्न पाइन्छ । शिक्षक तथा कर्मचारीको वृद्धिविकासमा पराक्रम गर्नेभन्दा परिक्रमा गर्नेको हैसियत बढेको तितो सत्य हो । यसरी शिक्षकको पेसागत मर्यादामा विनाकारण पूर्वग्राही ढंगबाट आँच पुर्याउने व्यवस्थापन पदाधिकारीलाई सचेत पार्न तथा आफ्नो तीन वर्षे कार्यकालको लागि विद्यालय विकासको कार्ययोजना बनाउन अभिमुखीकरण गोष्ठी संचालन गर्नुपर्छ । जानीजानी पदीय हैसियतलाई दुरूपयोग गर्नेलाई कानुनी दायरामा ल्याउनसके शिक्षकमा स्वभिमानीपूर्वक आफ्नो पेसागतधर्म निर्वाह गर्न उत्साही बनाउने छ । शिक्षक नियुक्ति प्रक्रियाको लागि केन्द्रियस्तरमा संवैधानिक शिक्षक सेवा आयोग र शिक्षकको कानुनी उपचारको लागि छुट्टै न्यायालयको व्यवस्था भएमा शिक्षण पेसामा दक्ष जनशक्तिको आकर्षण अझ बढ्नेछ ।
विद्यालयको शैक्षिक कार्यक्रमलाई व्यवस्थित गर्दैैै सबै शिक्षकको सल्लाह र सहमतिमा वार्षिक शैक्षिक क्यालेन्डर बनाइनुपर्दछ । त्यसको अनुसरण भए नभएको अनुगमन निरीक्षण प्रअ तथा व्यवस्थापनले गर्नुपर्दछ । विद्यमान ऐन नियममा भएअनुसार कम्तीमा २२० दिन विद्यालय खोली पठनपाठन गर्ने वातावरण बनाउन सञ्चालक र सेवाग्राही सजग रहनुपर्दछ । त्यस्तै विद्यालयमा अनुशासित एवं मर्यादित वातावरण बनाउन आचारसंहिता बनाइ लागू गरिनुपर्दछ । विद्यालयलाई बन्द हडतालमुक्त क्षेत्र घोषणा गरी त्यसको कडाइका साथ पालना गर्न समर्थन जुटाउनुपर्दछ ।
विद्यालयको हरेक कार्यक्रम विद्यार्थीको हितलाई उच्च प्राथमिकता दिएर बनाइनुपर्दछ । विद्यार्थी घरबाट भागेर विद्यालय आउने चित्ताकार्षक रोचक रतिने खालको वातावरण हुनुपर्दछ । शिक्षाकर्मीहरू विद्यार्थीप्रति उत्तरदायी हुनुपर्दछ । उनीहरूनै रोजगारदाता हुन भन्ने यथार्थलाई बिर्सनु हुँदैन, किनकि विद्यार्थी भएको कारणले विद्यालय खुल्ने र शिक्षा क्षेत्रमा रोजगार सिर्जना हुने भएकोले विद्यार्थीलाई प्रमुख रोजगारदाताको रूपमा व्यवहार गरिनुपर्दछ । विद्यार्थी वनस्पतिको एकदाना बीउ जस्तै हो । यदि उपयुक्त हावापानी तथा आवश्यकता अनुसार गोडमेल भएमा राम्रोसँग फस्टाउँछ । त्यस्तै विद्यालयमा पनि बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने वातावरण दिनसके मात्रै भोलिको योग्य नागरिक बनाउन सकिन्छ ।
शिक्षकको पेसागत दक्षतालाई विद्यार्थीको उपलब्धीसँग दाँजेर सोहीअनुसार पुरस्कार र दण्डको व्यवस्था पारदर्शीरूपमा गर्न सके गुणस्तरीयता कायम गर्न होस्टेमा हैंसे हुनेछ । विद्यार्थीले ६ घण्टा मात्रै विद्यालयमा बिताउने र बाँकी १८ घण्टा घरपरिवारमा नै बिताउने साथै बालबालिकाको लागि घरपरिवार पहिलो विद्यालय भएकोले त्यहाँको वातावरण पनि पढ्ने तथा शैक्षिक सामग्रीको पर्याप्ततालगायत अन्य पक्षको छलफल र सहकार्य गर्न शिक्षकले अभिभावकसँग निरन्तर सम्पर्क राखी चिरन्जीवी सौहार्दता कायम राख्नाले पनि शैक्षिक उपलब्धीलाई उच्च बनाउन टेवा पुग्न जान्छ ।