काठमाडौं, नेपालमा प्लाइउड उत्पादन तथा निर्यात गर्दै आएको ग्रिनप्लाई नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबर १६ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्कासन गर्ने तथा संस्थापक सेयरको प्रिमियम मूल्य निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्न यही साउन २२ गते विराटनगरस्थित रजिस्टर्ड कार्यालयमा विशेष साधारणसभा बोलाएको जनाएको छ ।
आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनी गत आर्थिक वर्षमै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेको छ । विशेष साधारण सभाले आईपीओ निष्कासन, संस्थापक सेयरको प्रिमियम मूल्य निर्धारण तथा यससँग सम्बन्धित आवश्यक प्रस्तावहरू पारित गर्ने कम्पनीको तयारी रहेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा १८.९६ प्रतिशतले बिक्री वृद्धि गर्दै वार्षिक कारोबार करिब ४७.५ करोड रुपैयाँ पुगेको छ । कम्पनी विगत पाँच वर्षदेखि निरन्तर नाफामा सञ्चालन हुँदै आएको दाबी गरिएको छ, जसले यसको वित्तीय अवस्था, व्यवस्थापन क्षमता तथा व्यवसायिक स्थायित्वलाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ ।
ग्रिनप्लाई नेपालले उत्पादनको करिब ३० प्रतिशत आन्तरिक बजारमा बिक्री गर्दै आएको छ भने ७० प्रतिशतभन्दा बढी उत्पादन भारतलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको जनाएको छ । निर्यात प्रवर्द्धनमा योगदान पुर्याएबापत कम्पनीले नेपाल सरकारबाट निर्यात अनुदानसमेत प्राप्त गर्दै आएको छ । साथै, कम्पनीले भारतीय बजारमा आफ्ना उत्पादन निर्यात गर्न आवश्यक बीआईएस प्रमाणपत्र प्राप्त गरिसकेको जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको पुँजीगत संरचनामा पनि उल्लेखनीय सुधार भएको छ । कम्पनीको ओभरअल गियरिङ अनुपात ७.४१ गुणाबाट घटेर २.४४ गुणामा झरेको छ । यस अवधिमा ६ करोड रुपैयाँ नयाँ सेयर पुँजी थपिनुका साथै नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (एनएफआरएस) अनुसार सञ्चित नाफा समायोजन भएपछि कम्पनीको मूर्त खुद सम्पत्ति करिब ८ करोड २० लाख रुपैयाँबाट बढेर २२ करोड ६० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्रिनप्लाई नेपाल गुणस्तरीय तथा वातावरणमैत्री प्लाइउड, ब्लकबोर्ड र फ्लस डोर उत्पादनमा केन्द्रित रहेको छ । आधुनिक प्रविधि, दक्ष व्यवस्थापन, गुणस्तर सुनिश्चितता तथा सुदृढ वितरण सञ्जालमार्फत बजार विस्तारलाई तीव्र बनाउँदै आएको कम्पनीले जनाएको छ ।
आवासीय, व्यावसायिक तथा पूर्वाधार निर्माण क्षेत्रमा बढ्दो मागलाई अवसरका रूपमा उपयोग गर्दै कम्पनीले उत्पादन क्षमता विस्तार, नयाँ बजारमा प्रवेश, अत्याधुनिक प्रविधिमा लगानी तथा नवप्रवर्तनमार्फत दीर्घकालीन वृद्धि हासिल गर्ने रणनीति अवलम्बन गरेको जनाएको छ । आयात प्रतिस्थापन गर्दै आन्तरिक माग पूरा गर्नुका साथै निर्यात विस्तार गरी लगानीकर्तालाई आकर्षक प्रतिफल दिने लक्ष्य कम्पनीले अघि सारेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–५ मा रजिस्टर्ड कार्यालय रहेको ग्रिनप्लाई नेपाल लिमिटेडका अध्यक्ष उद्योगी जीवनप्रसाद रिजाल रहेका छन् । कम्पनीमा दिवाकर राठी, डगेन्द्रप्रसाद रिजाल, मनीष खेतान, सुनिल अग्रवाल र विवेक अग्रवाललगायतको मुख्य लगानी रहेको छ । साथै, स्टार इन्भेस्टमेन्ट फन्ड लिमिटेड, टप फन्ड लिमिटेड तथा हार्वेस्ट भेन्चर्सको समेत संस्थागत लगानी रहेको कम्पनीले जनाएको छ ।