ठूलो र ऐतिहासिक जनमतका साथ गठन भएको सकरकारका परराष्ट्र मामिलामा प्रकट हँुदै गएका मनपरीले कतै राष्ट्रिय स्वाभिमान नै दाउमा पर्ने त होइन भन्ने शंकाहरू जन्मिन थालेका छन् । खासगरी छिमेकी मुलुकका सन्दर्भमा त उनीहरूले बोल्नुपर्ने कुरा नेपालका प्रधानमन्त्री र मन्त्रीहरूले नै बोलिदिन थालेपछि उता त हाइसञ्चो हँुदै होला तर यता भने कतै आफ्नै राष्ट्रिय स्वाभिमान नै खण्डित हुने हो कि भनेर विज्ञदेखि साधारण नागरिकले चिन्ता प्रकट गर्नुपर्ने अवस्था आइपर्नु सामान्य कुरा होइन । गएको जेठमा प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा नै उभिएर नेपालले धेरै ठाउँमा भारतको सीमा मिचेको छ भनेर जानकारी गराए । प्रधानमन्त्रीको यो भनाइलाई भारतीय पक्षबाट निकै नै प्रशंसायुक्त प्रतिकृयाहरू प्रकट भए । यता नेपाली नागरिकले नेपालले धेरै ठाउँमा सीमा मिचेको भनिएको भारतको भूमि कुन हो भनेर प्रधानन्त्रीसंग जानकारी मागिँदा त्यसले अहिलेसम्म उत्तर पाउन सकेको छैन । यसको अर्थ हो, नेपालले धेरै ठाउँमा भारतको सीमा मिचेको छ भन्ने कुरा अहिलेसम्म स्थापित भई नै रहनु । नेपाली प्रधानमन्त्रीले भने जस्तो उता भारतीय पक्षले भने नेपालले धेरै ठाउँमा भारतको सीमा मिचेको छ भनेर औपचारिक तहमा भनेको कतै पाइँदैन ।
यस्तै बेला यता मन्त्रीहरू पनि त्यो देशलाई व्यक्तिगतरुपमा खुशी पार्नका लागि नै होला नेपालको राष्ट्रिय स्वाभिमानमा आँच आउने अभिव्यक्ति दिएर उता धेरै चर्चित हुने होडमा लागेका देखियो । त्यसका उदाहरण हुन् भारतीय भूमिमा गएर भारतीयहरूले नै आयोजना गरेका कार्यक्रममा अर्थमन्त्रीले दिएका अभिव्यक्ति जसले नेपालमा व्यापक आलोचना उब्जाइरहेको छ र प्रधानमन्त्री भने पहिलेकै जस्तो मौन छन् । अर्थमन्त्रीले आफ्नो एक प्रकारले अनौपचारिक नै भन्नुपर्ने भारत भ्रमणका क्रममा दशैँ विदाभित्रको कार्तिक १० मा एउटा टेलिभिजन समिटमा जे भने, त्यसले राजनीतिज्ञ, प्राध्यापकलगायतका व्यक्तिहरूमा एउटा ठूलो तरंग ल्यायो । त्यसदिनपछिका सामाजिक सञ्जलामा जस्ता प्रतिकृयाहरू आइरहेका छन् । त्यसले कतै राष्ट्रिय स्वाभिमानसँग सत्ता साट्न खोजिएको त होइन भन्ने प्रश्नहरू खडा गरेको छ । यता मन्त्री भने मौन छन् । उनले ठीक प्रधानमन्त्रीकै जस्तो यो विषय अर्थात् आफ्ना भनाइप्रति मौन रहन नै रुचाए । अर्थमन्त्रीका भनाइका प्रतिक्रियामा देशभित्र जस्ता भनाइ आइरहेका छन् । ती नजरअन्दाज गर्ने खालका भने होइनन् । तर अर्थमन्त्रीले आफूले त्यहाँ बोलेका कुरा भनेर जसरी सार्वजनिक भइरहेका छन् । त्यसलाई उनले मौन समर्थन गरेर आफ्नो बोलीलाई बल पु¥याउन खोजे त्यसले वास्तवमा नै नेपालको राष्ट्रिय स्वाभिमानमा आँच आउने नै दखाउँछ । अबका दिन उनका यी भनाइलाई भारतीय पक्षले पहिले प्रधानमन्त्रीले भनेका कुरालाई जसरी नै लिने करिब–करिब पक्कै जस्तै होला ।
अर्थमन्त्रीले त्यो कार्यक्रममा आफ्नो देश नेपालले विगतमा भारतविरोधी राष्ट्रवादको संरक्षण गरेको र अब भने त्यो भारतविरोधी राष्ट्रवादको युग सकिएको भनेर घोषणा गरेका थिए । उनी सबभन्दा बढी गैरजिम्मेवार बनेको ठाउँ पनि यही हो । यो सिंगो मुलुकको राष्ट्रिय भावनालाई संकुचित बनाउने काम हो भन्ने सबैका प्रतिक्रियामा उल्लेखित भएका छन् । जस्तो नेपाल सार्वभौमसत्तासम्पन्न राष्ट्र हो । यसको आफ्नै स्वतन्त्र परराष्ट्र नीति छ । नेपाल सन् १९५५ देखि संयुक्त राष्ट्रसंघको सदस्य रहँदै आएको छ । नेपालको परराष्ट्र नीति सार्वभौम समानता, पारस्परिक सम्मान र राष्ट्रिय हितमा आधारित छ । यी आधारभूत तथ्यबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनभिज्ञ हुनुहुन्छ भन्ने लागेको छैन । तर, नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने पुरानो भाष्य समाप्त भएको अभिव्यक्ति भारत भ्रमणका क्रममा दिनुले राजनीतिक सन्देश र कूटनीतिक औचित्यबारे प्रश्न उठ्छन् नै । नेपालको राष्ट्रवाद भारतको विरोधमा मात्र आधारित छैन । तर राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्नु राष्ट्रवादको अभिन्न अंग हो । त्यसैले, भारतसँगको सम्बन्धलाई सुदृढ बनाउने नाममा राष्ट्रिय हित र स्वाभिमानसँग सम्बन्धित प्रश्नलाई गौण बनाउनु उचित हुँदैन । वास्तवमा आफ्नो स्वार्थका लागि देशको स्वभिमान दाउमा नराखिएको हो भने सरकारले अविलम्ब जवाफ दिनुपर्छ ।