काठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका रायमाझी ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार कैद छुट पाएपछि रिहा भएका हुन् ।
६५ वर्ष उमेर पूरा भएपछि कानुनअनुसार प्राप्त हुने कैद छुट सुविधाका आधारमा उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिएका हुन् । अदालतबाट रिहाइसम्बन्धी पत्र प्राप्त भएपछि संशोधित कैदीपुर्जीका आधारमा उनलाई मुक्त गरिएको हो ।
उनी बिहान ७ बजे कारागारबाट बाहिरिएका थिए । रिहाइपछि रायमाझी काठमाडौंको सातदोबाटोस्थित घर पुगेका छन् । केही दिन आराम गरेपछि आफ्नो स्थायी घर अर्घाखाँची जाने तयारी रहेको पाइएको छ । रायमाझीले ज्येष्ठ नागरिकको उमेरका आधारमा कैद छुट पाउन अदालतमा निवेदन दिएका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कानुनी व्यवस्थाअनुसार कैद छुट सुविधा प्रदान गरी संशोधित कैदीपुर्जी जारी गरेको थियो । तिहारअघि नै अदालतको आदेश प्राप्त भएकाले उनलाई बिहीबार कारागारमुक्त गरिएको हो ।
तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर भएका थिए । काठमाडौं जिल्ला अदालतले उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना, राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा एकीकृत कसुरमा चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
सांसद रहेकै बेला पक्राउ परेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक तहबाट दोषी ठहर भएका व्यक्तिमध्ये एक हुन् । उक्त प्रकरणले नेपाली राजनीतिमा ठूलो तरंग सिर्जना गरेको थियो । कारागारबाट रिहा भएपछि रायमाझीलाई परिवार तथा आफन्तले घरमा टीका र माला लगाएर स्वागत गरेका छन् । उमेरका आधारमा प्राप्त कानुनी सुविधापछि जेलमुक्त भएका रायमाझीको आगामी राजनीतिक तथा सार्वजनिक भूमिकालाई लिएर पनि चासो बढेको छ ।