नुवाकोट, व्यापक प्रयासका बाबजुद जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार गर्न सकिएको छैन । भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको खोज तथा उद्धार जारी राखिए पनि हालसम्म उद्धार गर्न नसकिएको हो ।
नेपाली सेनाको कमान्डमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र चीन तथा भारतबाट आएको विशेषज्ञसहितको टोलीले खोजीलाई तीव्र बनाएको छ । उद्धार टोलीले नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको ‘क्राउन हेड’ फेलापारी ‘कम्प्रेसर’बाट सुरुङभित्र अक्सिजन पठाएको छ । टनेलभित्र पानी भरिएकाले पम्पबाट पानी फाल्ने तयारी गरिरहेको नेपाली सेनाले जनाएको छ । यस्तै त्रिशूली–३ ‘बी’ आयोजनाको सुरङ क्षेत्रमा पनि फौज परिचालित भई उद्धारको काम गरिरहेको छ ।
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धारका लागि खटिइएको टोली करिब एक सय मिटरभित्र पुगी सोभन्दा पर पुगेको छ । सो सुरुङ पूर्ण रूपमा टालिएको अवस्थामा फेला परेको छ । मित्रराष्ट्रबाट आएका खोज तथा उद्धार टोलीसहित सयुक्त रूपमा रसुवाको हाकुबेँसी, चिलिमे र लाङटाङस्थित सुरुङ इलाकामा खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ । प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला र वस्तीमा स्थानीयलाई सुरक्षा दिन र उद्धारको आवश्यकता मूल्यांकनका लागि सेनाले पैदलगस्ती सुरु गरेको छ । त्यस क्रममा स्याफ्रुबेँसी क्षेत्रमा राहत तथा रासन वितरण र लाङटाङ जलविद्युत् इलाकामा ‘रेकी’ तथा ‘पट्रोल’ सञ्चालन गरिएको छ ।
आपत्कालीन उपचार केन्द्र त्रिशूली र धुन्चेमा हालसम्म दुई हजार १४ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ । रसुवाको टिमुरेबाट नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रमा आठ हजार ५०० बढी सैनिक खटिइएका छन् । सेनाले भदौ १० गतेदेखि हालसम्म स्वदेशी र विदेशीसहित तीन हजार २१ जनाको उद्धार गरेको छ । आइतबार मात्रै हेलिकप्टरमार्फत छ सय २४ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।
भारतीय टोली पनि खटियो
यसैबीच, भारतीय सुरुङ उद्धार टोलीले आइतबार चिलिमे र लाङटाङ क्षेत्रमा रहेका जलविद्युत् सुरुङस्थलमा खोज तथा उद्धार कार्य सञ्चालन गर्न नेपाली सेनाको टोलीसँग मिलेर काम गरेको छ । टोलीले नेपाली सेनासँग नजिकको समन्वयमा खोज तथा उद्धार कार्य जारी राख्ने यहाँस्थित भारतीय दूतावासले जनाएको छ । भारतीय सुरुङ उद्धार टोली शनिबार नेपाल आइपुुगेको थियो ।
त्यस्तै, भारतबाट चौथो उडान ११ टन थप राहत सामग्रीसहित आज काठमाडौं आइपुगेको छ । उक्त उडानमा राहत सामग्रीमा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र सरसफाइसम्बन्धी किटका साथै सुरुङ खोज तथा उद्धार कार्यका लागि आवश्यक उपकरणसहित थप प्राविधिक टोलीसमेत आएको थियो ।
साथै ‘फरेन्सिक’ उपकरणसहित डीएनए विश्लेषणका लागि भारतीय फरेन्सिक विज्ञहरूको टोली पनि आजै नेपाल आइपुगेको छ । भारतका फरेन्सिक टोलीहरूले रसुवा बाढीमा ज्यान गुमाएकाको डीएनए नमूना विश्लेषणको कार्यका लागि नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली विज्ञहरूसँग भेट गरेका छन् ।