काठमाडौं, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रसुवा जिल्लामा आएको बाढीबाट प्रभावितहरूका लागि अर्बौँको प्रतिबद्धता रकम आएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूले करिब ३० अर्बबराबरको सहयोग प्रतिबद्धता जनाएका हुन् ।
स्वदेशी संघ संस्थाले आफ्नो क्षमताअनुरूप हजारौँदेखि करोडौँ रकम कोषमा जम्मा गरेका छन् । अन्तर्राष्ट्रिय संघसंस्थाले करोडौँ र अर्बौँ रकम कोषमा जम्मा गरेका छन् । विश्व बैंकले करिब २५ अर्बसम्मको प्रतिबद्धता जनाएको छ । बैंकले कोषमा मात्र नभई आपत्कालीन सहयोग प्रक्रियामा समेत उक्त रकम प्रयोग गर्ने हिसाबले प्रतिबद्धता जनाएको हो । एसियाली विकास बैंकले ५० लाख अमेरिकी डलर, संयुक्त राष्ट्र संघ (यूएन)ले २० लाख अमेरिकी डलर, दक्षिण कोरियाले १० लाख अमेरिकी डलर, श्रीलंकाले १० लाख अमेरिकी डलर, स्वीजरल्यान्डले छ लाख अमेरिकी डलर, अमेरिकाले पाँच लाख अमेरिकी डलर, अन्तर्राष्ट्रिय रेडक्रस संगठन (आइएफआरसी)ले १० लाख सीएचएफ, संयक्त अरब इमिरेटस सहयोग संस्थामार्फत एक करोड अमेरिकी डलर सहयोग प्रतिबद्धता गरेको छ ।
त्यसैगरी दुई छिमेकी मुलुक भारत र चीनले भने राहत र प्राविधिक सहयोग समेत गर्दै आएका छन् । भारतले आइतबारमात्रै ११ टन राहत सामग्री र प्राविधिक टोली नेपाल पठाएको छ । भारतले हालसम्म ६५ दशमलव पाँच टन राहत सामग्री काठमाडौं ल्याएको छ । भारतीय वायुेसनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उक्त सामग्री ल्याएको भारतीय विदेशमन्त्री डा. सुब्रहाण्डयम जयशंकरले जानकारी दिएका छन् ।
चीनले पनि आइतबार बिहान ५० टन आपत्कालीन राहत सामग्री काठमाडौं ल्याइएको छ । चीनले पाल, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक तथा प्राथमिक उपचार किटलगायत १३ हजार दुई सय थान आपत्कालीन राहत सामग्रीसहित ५० टन सामग्री ल्याएको हो । चीनबाट उडान भरेको करिब तीन घण्टापछि उक्त विमान काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । यसका साथै चीनले चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ उद्धार उपकरणसहित काठमाडौं आएका छन् । राहत सामग्री र प्राविधिकहरू चीनको छेन्दु शुआङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थल हुदै काठमाडौं आएका हुन् ।
त्यस्तै यसअघि भारतले शनिबारसम्म भारतीय वायुसेनाका विमानमार्फत नेपालमा करिब ५७ दशमलव पाँच टन राहत सामग्री ढुवानी गरिसकेको छ । भारतीय वायुसेना आश्रयस्थल, कम्बल, सरसफाइ किट, सौर्य बत्ती तथा औषधिलगायत सामग्री लिएर नेपाल आएको हो । भारतबाट स्थलगत निरीक्षण टोलीको मूल्यांकनका आधारमा विशेष उपकरणसहित १३ सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार टोली समेत नेपाल आएको छ । उक्त टोलीले नेपाली विपद् प्रतिकार्य टोलीले सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्यमा सहयोग गर्नेछ । मृतकका अवशेषको पहिचानका लागि डीएनए नमुना विश्लेषणमा सहयोग गर्न छवटा फरेन्सिक टोलीका १९ सदस्यीय समूह पनि नेपाल आएको दूतावासले जनाएको छ ।
आइतबार विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत भारतबाट राहत सामग्रीसहितको चौथो विमान नेपालका लागि प्रस्थान गरेको जानकारी दिएका छन् । उनले विपद्को यस कठिन समयमा नेपालको उद्धार तथा राहत प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतीय वायुसेनाको सी–१३० विमानमार्फत विपद् व्यवस्थापन तथा उद्धारका लागि आवश्यक उपकरणसहित सुरुङ उद्धारसम्बन्धी प्राविधिक टोली नेपाल आइपुगेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । यस्तै, शव तथा अन्य नमूनाको पहिचानका लागि डीएनए विश्लेषण गर्न आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञहरूको टोली पनि नेपाल आएको छ । भारतले पठाएको राहत सामग्रीमा कम्बल, सुत्ने झोला, त्रिपाल, प्लास्टिकका सिट तथा सरसफाइका सामग्रीलगायत रहेका छन् । यो भारतले नेपाल पठाएको चौथो खेपको सहायता भएको उनले बताएका छन् । भारत र चीनका सुरुङ उद्धार टोली भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सुरुङमा फसेका व्यक्तिको उद्धारमा खटिएका छन् । उनीहरूसँगै नेपाली सुरक्षाकर्मी समेत परिचालित छन् । उनीहरूले आइतबार त्रिशुली ए ३ को सुरुङको प्रवेशद्वारा पत्ता लगाई सुरुङभित्र प्रवेश गर्न सकेका छन् ।
त्यस्तै निजममती कर्मचारीले करिब ३६ करोड र त्रिभुवन र पोखरा विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले करिब ७० लाख सहयोग गर्नेछन् । सरकारीका साथै निजी क्षेत्रका ठूलो संघसंस्थाले पनि सहयोग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले अपिल सार्वजनिक गर्दै सम्भव भएसम्म खाद्यान्न, पिउने पानी, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री व्यवस्थापन गरी प्रभावित परिवारसम्म सुरक्षित पु¥याउन निजी क्षेत्रको सम्पूर्ण सामथ्र्य परिचालन गर्न आग्रह गरेका छन् ।
नेपाल उद्योग परिसंघ (सीएनआई)ले पाँच करोड २९ लाख १५ हजार, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले तीन करोड, एनसेल फाउन्डेसनले एक करोड, नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफक्याक्चरस एसोसिएसन (नाइमा)ले ५० लाख, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाले १० लाख सहयोग गरेका छन् । एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एक करोड, पद्यम ज्योति ग्रुपको एक करोड, अर्घाखाँची सिमेन्ट लिमिटडले एक करोड एक लाख, एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले एक्सपर्ट फाउन्डेसनमार्फत २० लाख, आर्या फार्माल्यावले ८२ लाख ५१ हजार र अपि पावर कम्पनीले ३५ लाख सहयोग गरेका छन् ।
नेपाली कांग्रेसले एक करोड सहयोग गर्ने बताएको छ । यसका साथै निर्माण व्यवसायी महासंघ, निर्यात परिषद्लगायतका विभिन्न संघ संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए । उनका अनुसार बाढी पछि राहत, उद्धार र पुननिर्माणका लागि पनि सहयोग गर्न सरकारले अपिल गरेको कारण कोषमा निरन्तर सहयोग रकम प्राप्त भएको छ ।
संघीय सरकारले कोषमा प्राप्त रकम परिचालन समेत गरेको छ । सरकारले बाढी तथा पहिरोबाट बढी प्रभावित जिल्लाहरूमा तत्काल राहत तथा उद्धारका लागि नगद रकमसमेत पठाएको छ । जसअनुसार रसुवालाई एक करोड रुपैयाँ, नुवाकोटलाई एक करोड रुपैयाँ र धादिङलाई ५० लाख रुपैयाँ तत्काल उपलब्ध गराइएको छ ।सरकारले प्रभावित जिल्लाको आवश्यकता र क्षतिको अवस्थाका आधारमा थप राहत तथा स्रोतसाधन परिचालन गर्ने तयारी गरेको छ । तत्काल उद्धार, राहत वितरण तथा प्रभावित नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम अघि बढाइने जनाइएको छ ।