नुवाकोट, त्रिशूली नदीमा आएको ठूला बाढीको कारण पृथ्वी राजमार्गको गल्छीदेखि मुग्लिनसम्मको भाग उच्च जोखिममा परेको छ । बुधबार आएको बाढीको कारण सडकमुनिको भाग धेरै कटिङ भएको अनुमान गरिएको बेला आइतबार पुनः ठूलो बाढी आएर सडकको फेदमा नदीले कटान गर्दा धादिङको कृष्णभीरको सडक पूर्ण रुपमा अवरुद्ध छ ।
‘कृष्णभीरमा त बाढीको असर देखियो, आइतबार नै सडक चिराचिरा परेर पहिरो गइसक्यो’, सडक विभागका एक अधिकारीले भने, ‘अन्य भागमा पनि त्रिशूली नदी सडकको फेदको पहाडमा घुसेको देखिन्छ । भित्रभित्रै नदीले काटन गरेर अन्य ठाउँमा पनि पहिरो नजाला भन्न सकिन्न ।’
सडकका अधिकारीहरूले उक्त सडकखण्ड उच्च जोखिममा रहेको बताए पनि तत्काल अध्ययन टोली जान सक्ने अवस्था छैन । १० गते गएको जत्रै बाढी आइतबार पनि गएको कारण नदीमा बाढीको जोखिम अझै छ । १० गते २५ मिनेटमा पानीको मात्रा धेरै बगेको थियो भने आइतबार करिब त्यति नै पानी दुई÷तीन घण्टा लागेर बगेको कारण प्रत्यक्ष कम क्षति पुगे पनि निरन्तको ठूलो बाढीको कारण नदी किनार कटान तीब्र भएको देखिन्छ ।
त्रिशूलीमा आएको बाढीको कारण विभिन्न ठाउँमा नदी किनारका क्षेत्रमा थप पहिरो खस्न लागेको छ । यसले खेतबारी, वस्ती र सडकमा ठूलो असर गर्ने देखिन्छ । उक्त असर घटाउन सडक विभागले तत्काल केही गर्न सक्ने अवस्था छैन । ‘नदी किनारमा गएर अध्ययन गरेर संरक्षणको काम अगाडि बढाउन सक्ने अवस्था छैन’, विभागका अर्का एक अधिकारीले भने ।
नेपालका अधिकांश राजमार्ग नदी तथा खोला किनारबाट निर्माण गरिएको कारण सधैँ उच्च जोखिममा छन् । तर, अहिले त्रिशूलीमा अत्यधिक बाढी आएको कारण पृथ्वराजमार्ग थप जोखिममा परेको हो ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक योजनाले गल्छीदेखि वेत्रावतीसम्को सडक पनि नदी कटिङको उच्च जोखिममा रहेको अनुमान गरेको छ । तर, स्थलगत अनुसन्धान गर्न सकेको छैन । गल्छीदेखि देवीघाटसम्मको सडक नै पन्छाउन नसकिरहेको योजनाले
कटिङको बारेमा अध्ययन गर्ने विषय अझै टाढाको छ । उक्त आयोजनाको नुवाकोटको ढुंगेदेखि रसुवागढीसम्मको करिब ९० प्रतिशत
सडक पूर्णतः काम नलग्ने भएको छ । देवीघाटदेखि गल्छीसम्मको खण्डमा पनि कत्तिको जोखिम छ, अध्ययन नै गर्न पाएको छैन ।