नुवाकोट, भदौ १० गते बुधबार बिहान नेपाल–चीनको सीमा नदी ल्हेन्दे खोलामा आएको बाढी रसुवागढीबाट भोटेकोशी नदीमा प्रवेश गर्दा रसुवा र नुवाकोटका विभिन्न ठाउँबाट कति व्यक्तिहरू हराए आइतबारसम्म पनि सरकारले एकिन गर्न सकेको छैन ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार साँझसम्म सात सय ८१ जना व्यक्तिहरूको मृत्यु भैसकेको पुष्टि भएको छ । तर, त्यसको झण्डै चार गुणबढी व्यक्तिहरू हराइरहेको अनुमान प्राधिकरणले गरेको छ । तर, स्थानीयहरूले भने हराउनेको संख्या सरकारी दाबीभन्दा अझै धेरै रहेको अनुमान गरेका छन् ।
हराइरहेका व्यक्तिहरूको संख्या दिनहुँ बढ्दै गएको र आफन्तहरू हराएको जानकारी दिनेहरूको संख्या बढ्दै जाँदा अझै कति हराएका छन् भन्ने एकिन हुन नसकेको हो । सरकारी तथ्यांकअनुसार आइतबारसम्म दुई हजार पाँच सय दुई जना बेपत्ताको सूचीमा छन् ।
बाढीले रसुवा र नुवाकोटको बजार क्षेत्र बगाएको कारण नेपालका विभिन्न जिल्लाको साथै कतिपय ठाउँमा भारतीयको साथै अन्य देशका नागरिकहरू विभिन्न पेशा÷व्यवसाय गर्दै आएका थिए । कतिपय व्यवसायीहरू र घरधनीका परिवार नै बेपत्ता भएका कारण उनीहरूकहाँ कति बस्थे र व्यवसायमा कतिजना कामदार थिए पत्तो लाग्न नसेकेको हो । साथै देवीघाट, ढुंगे, त्रिशूली, बेत्रावती, मैलुङ, स्याफ्रुबेसी, टिमुरे, रसुवागढीलगायतका क्षेत्रका होटलहरूमा कति पर्यटक बसेका थिए त्यो पनि एकिन हुन सकेको छैन ।
‘कहाँ को र कति बसेका थिए त्यसको कुनै रेडर्क छैन’, एक प्रहरी अधिकारी भन्छन्, ‘दाबीअनुसार मात्र हराएका व्यक्तिहरूको बारेमा विवरण दिन सकिन्छ । रेकर्ड राख्ने चलन पनि छैन र कतिपय होटल तथा अन्य व्यवसाय गर्नेहरू सबै बगेको कारण वास्तविक बेपत्ता यति भन्न सकिन्न ।’ कतिपय व्यक्तिहरू आफन्त तथा घरमा केही नभनी नुवाकोट र रसुवामा घुम्न गएकै दिन हराएका पनि हुन सक्छन् भने कतिपय गाडीमा आउँदै गर्दा पनि बगेका छन् । त्यही कारण बाढीसँगै पुरिने वा हराउनेको संख्या एकिन गर्न सरकारलाई समस्या परिरहेको हो ।
सरकारी संयन्त्र अहिले विभिन्न सरकारी कार्यालय तथा जलविद्युत् आयोजनामा बेपत्ताहरूको खोजीमा छ । होटल तथा अन्य व्यावसायिक प्रतिष्ठानमा सरकारले खोजी नै गरेको छैन । होटल, गाडी ग्यारेज, फर्निचर पसल तथा अन्य व्यवसायमा बेपत्ताहरूको खोजीको लागि पुरिएका संरचनाहरू उत्खनन् गर्नुपर्ने अवस्था छ । सरकार तत्काल ती ठाउँमा उत्खनन् गर्न सक्ने अवस्थामा छैन । अहिले सरकारले जलविद्युत् आयोजनाका सुरुङ मार्ग मात्र खोतल्ने प्रयास गरिरहेको छ ।
सयौँ सार्वजनिक तथा निजी गाडीहरू बेपत्ता छन् । त्यसमा कति यात्रु, चालक र सहचालक थिए त्यसको समेत पत्तो छैन । कति नागरिक छिमेकी गाउँबाट बजारमा किनमेलका लागि आएका थिए त्यो पनि एकिन हुन सकेको छैन । सरकारले रसुवा र नुवाकोटका भोटेकोशी (त्रिशूली) नदी पश्चिमका गाउँहरूमा राम्रोसँग सम्पर्क स्थापित गर्न नसकेको कारण पनि स्थानीयको हताहतीको समेत वास्तविक तथ्यांक निकाल्न नसकेको हो । रसुवागढी, टिमुरे, स्याफ्रुबेसीलगायतका बजार पूर्ण रूपमा बगाएको कारण ९ गते राति कति मानिस बसेका थिए र १० गते बिहान नौ बजेअगाडि कति व्यक्तिहरूले ती ठाउँ छाडेका थिए केही अत्तोपत्तो छैन ।
यतिसम्म कि नुवाकोटकै विदुर नगरपालिका क्षेत्रको त्रिशूली नदी पश्चिमका गाउँमा बल्ल घटना भएको पाँचौँ दिन मात्र सरकारी अधिकारीहरू राहत लिएर पुगेका छन् । त्यहाँबाट कति हराए अब मात्र थाहा हुनेछ ।
खासगरी सरकारले रसुवा र नुवाकोटका त्रिशूली नदी पश्चिमका गाउँमा सडक, पुल, बिजुली सहज रुपमा उपलब्ध गराउन नसकेको कारण हराउने र राहत नपाउनेको अवस्था राम्रसँग निकाल्न नसकेको हो । बिजुली नभएको कारण विदुर नगरपालिका वडा नम्बर ३ का नागरिकले आफ्नो घरमा भएको धान कुटेर र मैक पिसेर समेत खान पाएका छैनन् भने किनेर खानको लागि गाडीले आपूर्ति गर्न नै सकेको छैन । अझ रातिराति पर्ने पानीले अस्थायी सडक संरचना पनि राम्रोसँग चल्न सकेको छैन । कतिपय ठाउँमा अस्थायी सडक संरचना नै बनाउन सकिएको छैन । गल्छीदेखि उत्तरतर्फ त्रिशूली नदी किनारको सडकमा थुप्रिएको लेदोसमेत पन्छाउन नसकेको कारण आपूर्ति व्यवस्था पूर्णत बन्दजस्तै छ ।
सडक र पुलको अभावमा बाढीले बगाएको क्षेत्रको अतिरिक्त अन्य क्षेत्रमा पनि खाद्यान्नको साथै दैनिक अन्य उपभोग्य वस्तुको चरम अभाव हुने देखिन्छ । रसुवाको धुन्चे पुग्ने नुवाकोटको चोकदे हुँदै रसुवाकै नौकुण्ड गाउँपालिकाबाट जाने सरकारले घटना भएको पाँचौँ दिन मात्र खुलाउन सकेको छ । रसुवाका त्रिशूली नदी पश्चिमका गाउँहरूमा त कहिले सडक पहुँच पुर्याउन सकिने अझै निश्चित छैन । त्यही भएर ती क्षेत्रमा चरम खाद्य संकट निम्तिनेछ ।
‘घर, व्यवसाय र सबै जग्गा बग्ने मात्र होइन नबग्ने गाउँका नागरिकलाई पनि अब सडक र पुलको अभावमा खाद्य संकट आउने देखिन्छ’, रसुवामा कार्यरत एक सरकारी अधिकारी भन्छन्, ‘बाढीले बगाएर पीडित भएकाको साथै अन्य गाउँका नागरिकलाई पनि अब सरकारले खाद्यान्न बाँड्न पर्नेछ । किनकि भएकाहरू पनि सडक र पुलको अभावमा सामान गाउँमा नपुगेको कारण किनेर खान पाइरहेका छैनन् । सडक सफा र बेलिब्रिजमा सरकारले छिटो काम गर्न नसकेको कारण रसुवा मात्र होइन नुवाकोटमा दैनिक उपभोग्य वस्तु अभाव हुने देखिएको छ । अभाव र कृतिम अभाव टार्न सरकारले चाँडो सडक सफा र बेलिब्रिज राख्नुपर्ने देखिन्छ ।
सरकारी तथ्यांकअनुसार आइतबार साँझसम्म दुई सय ६७ जना घाइतेको उपचार भएको छ भने नौ हजार चार सय ३५ जनाको उद्दार गरिएको छ । ३७ ट्रक र ३५ बोलेरो गाडीमार्फत प्रभावित क्षेत्रमा खाद्य र गैरखाद्य सामग्री पठाइएको छ । तर, सडक सञ्जाल सञ्चालनमा पर्याप्त ध्यान नदिएमा खाद्य संकट थप बढ्ने देखिन्छ ।
राहत तथा उद्धार कार्यका लागि आइतबार मात्र थप ७२ सहित तीन सय ९४ उडान भरिसकेको प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुकमा स्टाटस लेखेर जानकारी गराएका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार छ सय १८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।