काठमाडौं ,आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियासँगको पहिलो खेलमा नेपालको ब्याटिङ ‘कोल्याप्स’ भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन मात्र बनाएको छ।नेपालका लागि कप्तान रोहित पौडेलले ३१ रन, दीपेन्द्रसिंह ऐरीले ३०, गुल्सन झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रन बनाए। यीबाहेक नेपालका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपाललाई कम स्कोरमा रोक्ने क्रममा नामिबियाका जे जे स्मिटले ९.५ ओभरमा १ मेडनसहित ६ विकेट लिए। बर्नार्ड स्कोल्ट्ज र यान निकोल लफ्टी–इटनले समान २–२ विकेट लिए।नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेलिरहेको हो। विश्वकप छनोटको दौडमा महत्वपूर्ण मानिएको यस खेलमा जित निकाल्दै आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा नेपाल छ।
नेपाल २८ खेलबाट २४ अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा छ। समान २८ खेल खेलेको नामिबिया २२ अंकसहित सातौँ स्थानमा रहँदा नेदरल्यान्ड्स ३२ अंकका साथ तेस्रो स्थानमा छ। शीर्ष चारमा पुग्ने लक्ष्यमा रहेको नेपालका लागि नामिबियाविरुद्धको खेल निकै महत्वपूर्ण छ। आजको खेलमा जित हासिल गर्न सके नेपालले अंकतालिकामा आफ्नो स्थान सुधार गर्दै विश्वकप छनोटको सम्भावनालाई थप बलियो बनाउन सक्नेछ।