असल विचारहरू मोति जस्तै सुन्दर हुन्छन् साथै यस्ता विचारहरू हिरा जस्तै बहुमूल्य, फूलजस्तै कोमल र असल मानिस जस्तै शान्तिप्रिय हुन्छन् । असल मानिसहरू त करोडौँमा एक वा दुई मात्र हुन्छन् । ज्ञानी, त्यागी, तपस्वी, दार्शनिक, बौद्धिक अथवा बुद्धिमान जे भनौं यस्ता अप्राप्य मानिसहरूका मोति जस्तै सुन्दर बिचारहरूले नै युगहरूलाई परिवर्तन गरेका छन् । आज पनि हामी प्रभु येशू ख्रीष्ट, पैगम्बर मोहम्मद, भगवान गौतम बुद्ध, कृष्ण र रामका साथै दार्शनिक सुकरात, प्लेटो, एरिस्टोटल, होमर हुँदै हाम्रै महाकवी लक्ष्मी प्रसाद देवकोटाका सुन्दर विचारहरू पढ्छौं र सुन्छौं पनि तर हाम्रो कमजोरी यस्ता बहुमुल्य हिरा र मोति जस्ता बिचारहरूलाई हामी आफ्नो जीवनमा, हृदय, मन र मस्तिष्कमा सधैँको लागि ठाउँ दिदैनौं ।
संसारका कुनै पनि धर्मशास्त्रहरूले नत कुनै दर्शनहरूले नत कुनै धर्म र दर्शनका संथापकहरूले नै मानिसहरूलाई लडाई र झगडा गर्न सिकाए तर दुःखलाग्दो कुरा सबै धर्मशास्त्रहरू र पृथ्वीका सबै पुस्तकहरूलाई हज्जारौं पुस्तकालयहरू र टेबलहरूमा संगै राख्दा पनि ति किताबहरू एक–अर्कासंग कहिल्यै झगडा गर्दैनन् तर आज ति व्यक्तिहरू धर्मको नाउँमा, दर्शनको नाउँमा र राजनितिक दलहरूको नाउँमा लडाइ गरिरहन्छन् । जो कहिल्यै पनि धर्मशास्त्रहरू, दर्शनशास्त्रहरू र कुनै पनि असल पुस्तकहरू पढ्दैनन् । तर तिनीहरू नै भन्छन्, ‘म इशाई हुँ, म हिन्दु हुँ, म मुसलमान हुँ र म बौधमार्गी हुँ’ र तिनीहरू नै आफूलाई धर्मका ठेकेदार सम्झन्छन् तर वास्तवमा तिनीहरू झुटा, आतंककारिहरू, समाजको कुभलो चाहनेहरू र अरुलाई आफ्ना दुष्ट योजनाहरूको लागि लडाएर आफू चाहिँ तमासा हेर्न चाहनेहरू हुन् । यस्ता व्यक्तिहरू समाजका किराहरू र कलङ्कहरू हुन् । जसलाई कुनै पनि सजाय र कानुनहरूले कहिल्यै पनि सुधार्न सकिँदैन ।
दुष्ट व्यक्तिहरूलाई कुनै पनि सुन्दर विचारले नत कुनै धर्मशास्त्रको ज्ञानले नै सुधार्न सकिन्छ त्यसो भएर नै यस्ताहरूसंग संगत नगर्नु र यस्ताहरूको मुकाविला नगर्नु भनिएको हो । कारण यस्ता दुष्ट व्यक्तिहरूलाई समयले आफैँ पाखा लगाउँछ । जसको हामीले विरोध गरिरहनु पर्दैन । दुष्ट मानिसको मृत्यु कुकुरको जस्तो हुन्छ र उसको मृत्युमा सारा सहरले नै रमाहट गर्दछ । केहि वर्षअघि भारतमा निर्भया काण्डका चार दोषीहरूलाई एकैपटक मृत्युदण्ड दिइयो र हज्जारौं मानिसहरूले भारतलगायत कैयौँ देशहरूमा लड्डु बाँडेर एक–अर्कामा खुसियाली मनाए तर धर्मात्मा, शान्तिप्रिय, ज्ञानी र बुद्धिमानी मानिसहरूको मृत्युमा संसारभरी शोक हुन्छ र मानिसहरू यस्ता असल मानिसहरूको मृत्युमा केही गर्न नसके पनि कमसेकम उनीहरूको मलामी भए पनि जान चाहन्छन् ।प्रत्येक मानिसको बोलि, विचार र उसले प्रयोग गर्ने शब्दहरूद्वारा नै हामी त्यो व्यक्तिलाई चिन्न सक्छौँ । मानिसले आफ्नो शब्द र अभिव्यक्तिद्वारा नै आफूलाई समाजमा प्रकट गर्दछ र प्रमाणित गर्दछ ।
हरेक व्यक्तिले प्रयोग गर्ने बोलि, वचन र उसका शब्द र वाणीहरूद्वारा नै हामी उसको शैक्षिक स्तर, बौद्धिक स्तर, उसको ज्ञान र बुद्धि कति रहेछ भनि मापन गर्न सक्छौं । यसैकारण नै असल र ज्ञानी व्यक्तिले आफ्नो हृदयको भण्डारबाट असलै थोकहरू निकाल्दछ र दुष्ट व्यक्तिले पनि आफ्नो दुष्टताको भण्डारबाट दुष्टतालाई निकाल्ने गर्दछ । बुद्धिमान् मानिसले संसारलाई बहुमूल्य विचारहरू दिन्छ र उसको योगदानले दुनियाँलाई सकारात्मक परिवर्तनतर्फ डोर्याउँछ । जब बुद्धिमान् मानिसले असल काम गरेको कुरा दुष्ट मानिसले थाहा पाउँछ तब उसले पनि बुद्धिमान् मानिसको जस्तै नक्कल गर्न थाल्छ र बुद्धिमान् मानिससंग प्रतिस्पर्धा गर्न थाल्छ तर अफसोच दुष्ट मानिसले अरुलाई देखाउन आफ्नो हृदयको दुष्टताको भण्डारबाट दुष्ट विचारहरू निकाली समाजलाई दिन थाल्दछ कारण दुष्ट मानिसले कुनै असल कुरा संसारलाई दिन सक्दैन त्यसैले दुष्ट मानिसको दुष्कर्मको परिणाम स्वरुप संसारमा पतनको सुरुवात हुन थाल्छ ।
अनि दुष्ट मानिसको खराब प्रभावले मानिसहरू र सारा समुदाय नै दुषित र कलंकित हुन पुग्छन् । दुष्ट मानिसले कहिल्यै सिक्ने र अध्ययन गर्ने चाहना राख्दैन नत उसले ज्ञान र बुद्धि नै प्राप्त गर्न खोज्छ । दुष्ट मानिस कहिल्यै पनि चेला हुन चाहदैन मात्र उ आफूलाई गुरु ठान्छ । त्यसैले दुष्ट मानिस ज्ञान र बुद्धि सिकाउने गुरु होइन तर दुष्टता, खराबी, अधर्म र अपराध गर्न प्रेरित गर्ने खराबी र खराब आचरणको मात्र गुरु बन्न पुग्छ । संसारभरका आतंकबादीहरू र धर्मभीरु अतिवादिहरू र कुनै पनि दर्शन, पन्थ र दलका कट्टरपन्थीहरूलाई खराबी र दुष्टताका गुरुको बर्गमा राख्न सकिन्छ ।
असल मानिस कोमल, विचारशील, दयालु र शान्तिप्रिय हुन्छ तर यसको विपरीत दुष्ट मानिस धर्म र राजनीतिको अतिवादी, अन्धोभक्त, दुराचारी, अशान्तिले भरिएको, नैतिक रुपले पतित, धोकेबाज अनि मधपान र लागु औषधमा फसेको कुलती र भोगी हुन्छ । प्रेम, शान्ति, आनन्द, धिरज, दया, भलाइ, विश्वस्तता, नम्रता र संयम जस्ता फलहरू असल र धार्मिक मानिसको हृदयमा मात्र फल्दछन् तर दुष्ट मानिसले असल र खराबीलाई छुट्याउनै सक्दैन नत उसलाई धर्म र अधर्मको कुनै सरोकार नै हुन्छ । त्यतिमात्र होइन दुष्ट मानिसलाई अपराध र कानुनको कुनै ज्ञान र डर हुदैन तर उसलाई अपराध गर्न नै आनन्द लाग्दछ र अरुलाई दुःख दिनु, मान्छेको हत्या गर्न खोज्नु र रगतको खोलो बगाउन खोज्नु नै उसलाई राम्रो लाग्छ ।
दुष्ट मानिस अन्धकारमा जीइरहेको हुन्छ तर धर्मी र असल मानिस ज्योतिमा जीउदछ । दुष्ट मानिसको जीवन डरमा बित्दछ तर असल मानिसले कुनै पनि कुरामा डराउनु पर्दैन कारण अन्त्यमा सबैकुरा मिलेर उसको जीवनमा भलाइ नै उत्पन्न हुन्छ । दुष्ट मानिस पाप, अधर्म र अपराधको दासत्वमा जिइरहेको हुन्छ तर असल मानिस यस्ता सबै कुराबाट स्वतन्त्र हुन्छ । दुष्ट मानिस एक हराएको मानिस हो जसले आफूलाई कहिल्यै पनि चिन्न र भेट्टाउन सक्दैन तर धर्मी र असल मानिसले आफैँलाई चिन्छ र उसले आफैँलाई भेट्टाएको हुन्छ । दुष्ट मानिसको जीवन अशान्तिमा बित्दछ र उसको परिवार, जीवन र कामकाजहरू उसको लागि बोझ बन्न पुग्दछन् ।
दुष्ट मानिस एक लोभी मानिस पनि हो जसलाई कहिल्यै पनि कुनै पनि कुराले पुग्दैन तर असल र धर्मी मानिसको जीवन शान्तिमा बित्दछ जसले आफ्नो जीवन, परिवार र आफूले गर्नुपर्ने कामहरूबाट जीवन जिउनुको उद्देश्य र रहस्यलाई बुझ्दछ । दुष्ट मानिसले जहिले पनि अरुलाई दोष लगाइरहन्छ तर असल र धर्मी मानिसले अरुलाई क्षमा दिन्छ, अरुको भलाई गर्छ र अरुलाई हानी हुने काम कहिल्यै पनि गर्दैन । दुष्ट मानिस एक हत्यारा हो जसले अरुको खराबिमा आनन्द मनाउछ र अरुलाई दुःख दिन र अरुप्रति अन्याय र अत्याचार गर्न मनपराउछ तर असल र धर्मी मानिस चाहिँ एउटा मैनबत्ति जस्तो हुन्छ जसले अरुलाई उज्यालो दिनको लागि आफ्नो जीवन नै बलिदान गर्न पनि तयार रहन्छ ।
दुष्ट मानिस ‘इद’ द्वारा चलाइएको हुन्छ तर असल र धर्मी मानिस ‘सुपरइगो’ द्वारा चलाइएको हुन्छ त्यसैले असल मानिस एक धार्मिक, दार्शनिक, बौद्धिक, अध्ययनशील, सधै सिक्न मनपराउने, अरुको भलाइको कामना गर्ने र अरुको सेवागर्न आफूलाई रित्याउन पनि पछी नपर्ने व्यक्ति हुन्छ । त्यसैले दुष्ट र मुर्ख मानिसका काम र बिचारहरू काम नलाग्ने फोहोर, मैला र कसिंगर सरह हुन्छन् भने असल र धर्मी मानिसका कामहरू अरुको भलाइको लागि समर्पित हुन्छन् र यस्ता असल मानिसका विचारहरू जीवनमा स्वीकारगर्न योग्य, जीवन परिवर्तनगर्न योग्य अनि मननगर्न लायक हुन्छन् त्यसैले त बुद्धिमान मानिसका बिचारहरूलाई सुन, चाँदी, हिरा र मोतिभन्दा पनि बहुमूल्य ठानिन्छ र यस्ता असल र गहकिला विचारहरूलाई पुस्तौपुस्तासम्म हज्जारौ बिद्यालय, माहाबिद्यालय र विश्वविद्यालयहरूका पाठ्यक्रमहरूमा राखिन्छ जसले पुस्तौपुस्ताहरूलाई सत्मार्गमा डोर्याइ अर्बौँ मानिसहरूलाई जीवनको ज्योति दिइरहन्छन् ।
तर मुढहरू, मुर्खहरू र दुष्टहरूको जीवन मुर्ख सवाल जवाफ र बेतुकका मूल्यहीन कुतर्कहरूमा बितेको हुन्छ । सामाजिक सञ्जालहरू र इन्टरनेटको सतही मात्र अध्ययन गर्ने हो भने पनि पाखण्डी धर्मभिरुहरू, धर्म र राजनीतिका अतिबदिहरू र आतंकवादिहरूका मुर्खताहरू छताछुल्ल भएका हुन्छन् । नेपाल जस्तो चरम गरिवी, अशिक्षा र पठन साथै अध्ययन संस्कृति नभएका देशहरूमा यस्तो समस्या बिकराल रुपमा बढिरहेको छ जसले जातीय, धार्मिक, राजनैतिक र सामाजिक अन्धविश्वास र कुरीतिहरूलाई प्रसय र बढावा दिइरहेको छ भने एक अर्कामा विषवमन गर्ने मात्र काम गरिरहेको छ । फलस्वरूप यस्तो कपट र पाखण्डपनले समाजलाई बिभाजित गर्ने, भाईचाराको अन्त्य गर्ने मात्र नभई जातीय र धार्मिक द्वन्दलाई निम्त्याइरहेको हुन्छ जसले समुदाय र राष्ट्रको विकासको गतिलाई रोकेर देशलाई दुर्गतितर्फ मात्र धकेल्दछ । नेपाल धार्मिक विविधता भएको विभिन्न संस्कृति र समुदायको साझा घर हो ।
सुनसरीको देवानगञ्ज, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लाहरूमा देखिएका धार्मिक तनावका घटनाले हामी सबैलाई गम्भीर आत्ममूल्याङ्कन गर्न बाध्य बनाउँछन् । विज्ञान, प्रविधि र ज्ञानले संसारलाई नयाँ उचाइमा पुर्याइरहेको समयमा हामी यदि अझै पनि धर्मका नाममा द्वन्द्व र हिंसाको बाटो रोज्छौँ भने त्यसले हाम्रो चेतना, नैतिकता र बौद्धिकता माथि प्रश्न उठाउँछ । कुनै पनि धर्मले घृणा र हिंसा सिकाउँदैन किनकि सबै धर्मको मूल सन्देश भनेको मानवता, करुणा, सहिष्णुता र शान्ति नै हो । आजको आवश्यकता एक अर्का प्रति आरोप र प्रत्यारोप गर्नु होइन तर संवाद, पारस्परिक सम्मान र राष्ट्रिय एकताको भावना अनुरुप देखिएको धार्मिक द्वन्द्व र हिंसाको बाटोलाई निर्मुल पार्नु हो । आज हरेक नेपालीले जात, धर्म वा समुदायभन्दा माथि उठेर मानवताको मूल्यलाई आत्मसात् गर्न सके मात्र स्थायी शान्ति र समृद्ध नेपालको निर्माण सम्भव हुन्छ । सामाजिक सञ्जालका अफवाह र उत्तेजनाभन्दा सत्य, विवेक र कानूनी प्रक्रियामा विश्वास गरौँ । द्वन्द्वले कसैको भविष्य उज्यालो बनाउँदैन, तर सहिष्णुता, सद्भाव र आपसी विश्वासले मात्र नयाँ पुस्ताका लागि सुरक्षित, समुन्नत र एकताबद्ध सुन्दर नेपालको बलियो आधार निर्माण गर्नेछ ।
अमेरिकालगायत कतिपय बिकसित देशहरूमा सार्वजनिक स्थानहरूमा धर्म र राजनैतिक बहस र बादबिवादहरू नगर्ने चलन बसलिएको छ कारण यी बहसहरू र बादबिबादहरूको अन्त्य कहिल्यै हुँदैन । हामी सबैले बुझ्न जरुरी छ कि धर्म, दर्शन र राजनीति यी तीनवटा यस्ता संवेदनशील विषयहरू हुन् जसलाई व्यक्ति विशेषले रोज्दछ र छान्दछ साथै सार्वजनिक रुपमा यी विषयहरूमा वादविवाद गरेर कुन चाहिँ असल र कुन चाहिँ खराव हो भनि कसैले पनि प्रमाणित गर्न सक्दैनन् । त्यसैले यस्ता बिषयहरू अध्ययन, छलफल र सिकाइका लागि आवश्यक र लाभदायक हुन्छन् तर यी बिषयहरूमा सार्वजनिक रुपले वादविवाद गर्दा यसले सबैभन्दा बढी खराबी निम्त्याउनेछ । धर्म, दर्शन र राजनीति मानिसको लागि बनाइएका हुन् तर मानिस धर्म, दर्शन र राजनीतिको लागि बनिएको होइन त्यसैले नै बुद्धिमान मानिसको लागि धर्म, दर्शन र राजनीति असल नोकरहरू हुन्छन् भने खराब, दुष्ट र मतिभ्रष्ट मानिसहरूको लागि धर्म, दर्शन र राजनीति खराब मालिकहरू हुन्छन् । त्यसैले आजैदेखि हामीले पहिले आफैंलाई सुधार्ने प्रयत्न गरौ त्यसपछि अरुहरू आफै सुध्रिने थाल्नेछन् । नेपाल जस्ता देशहरू जो तेश्रो विश्वमा पर्दछन् यस्ता देशहरूमा अध्ययन संस्कृतिको विकास भएको छैन । जसको नकारात्मक असर आज हामी देशमा कसरि परिरहेको छ भन्ने कुरा देख्न सक्छौ ।
युरोप, अमेरिका, अस्ट्रेलिया, जापान र दक्षिण कोरिया त्यसै आजको अवस्थामा आइपुगेका होइनन् यो त सबै पठन संस्कृति, अध्ययन र अनुसन्धानमा गरिएको मेहनतले मात्र भएको हो । त्यसैले अब हामी पनि केहि सिक्न थालौ । सामाजिक सञ्जालमा झुण्डिनु, मोबाइल फोन, ट्याब्लेट र अन्य उपकरणहरूमा झुण्डीएर बहुमूल्य समयलाई नाश गर्नुको साटो सिर्जनामा लागौ । दिनभरिमा छ घण्टा फेसबुकमा खुराफाती गरेर बिताउनुको साटो कुनै गतिलो पुस्तकको एकसय पृष्ठ पढौ किनकि छ घण्टा खुराफातिमा फाल्नुको साटो यो समय सदुपयोग गर्न दैनिक असल पुस्तकहरूका सय पृष्ठहरू अध्ययन गर्ने गरौ । यसैगरि यो बानि एक महिनासम्म बसालौ कम्तिमा महिना भरिमा चारवटा गतिला पुस्तकहरू अध्ययन गर्न सकिन्छ । त्यसैगरी अर्को महिना एउटा राम्रो निवन्ध वा कविता लेखौ जसले अरुलाई प्रेरणा दिन सकोस र धेरैका खराब वानिहरूलाई सुधारोस । खुराफाती, झैँझगडा, नानाभातिका मुर्ख सवाल जवाफ गर्नेहरूसंग संगत नगरौ त्यसैले त भनिएको हो, ‘सुँगुरलाई तिम्रो मोति नदेउ नत्र त तिनीहरूले आफ्ना खुट्टाले मोतीलाई कुल्चीमिल्ची पार्नेछन् र फर्केर तिमीलाई नै आक्रमण गर्नेछन् ।’
देशमा १८/१९ वटा विश्वविद्यालयहरूको स्थापना भइसकेको छ त्यसैले कुनैदिन आफूलाई मनपरेको र रुचि लागेको बिषयको बारेमा थप ज्ञान पाउन विश्वविद्यालयका कुनै एकजना प्राद्यापकसंग छलफल गर्ने गरौ र उनले सुझाएको पुस्तकलाई किनेर घरमा लगेर पढ्ने गरौ । खुराफातिमा लाग्दा त्यसै खतम भएर जाने पैसा कुनै एकजना अनाथ बालकलाई कपि र कलम किनिदिएर सदुपयोग गरौ किनकि एउटा कपि र अर्को एउटा कलमले नै आज पनि विश्वलाई हाकिरहेको छ । कुन धर्म ठुलो हो भनि नचाहिदा बादबिबाद र झगडा निम्त्याउने तर्क र वितर्क गर्नुको साटो एकजना रोगिलाई अस्पतालमा भेट्न जाऔं र उसलाई उत्साह दिने गरौ । गर्ने कामहरू धेरै नै बाकी छन्, खाँचोमा परेकाहरू धेरै नै छन्, अझै काम थुप्रै बाकी छ तर यो जीवन धेरै नै छोटो छ । त्यसैले कसैको चित्त नदुखाऔ, कसैको हानी नगरौ, कसैलाई नसरापऔ । एकदिन मर्नुपर्ने जीवन हो कसैले केहि लिएर जादैनन् तर मर्नुभन्दा पहिले कमसेकम एउटा भएपनि राम्रो काम गरौ । यो जीवन खुराफाती गर्न इश्वरबाट आएको होइन त्यसैले कमसेकम असलगर्न सकिदैन भने कसैको बिरुद्धमा खराबी चाहिँ नगरौ ।
जीवनलाई दुइवटा कुराहरूले मात्र असल बनाउन र परिवर्तन गर्न सक्छन् ति चाहिँ असल पुस्तकहरू पढ्ने बानि र असल मानिसहरूसंगको संगत मात्र हुन् । यो बाहेक अर्को कुनै पनि उपायले मानिसलाई खराबीबाट बचाउन सक्दैन । त्यसैले आजैदेखि नै खुराफाती गर्न, झैँझगडा गर्न र मुर्ख सवालजवाफ गर्ने मानिसहरूबाट टाढा बसाँै साथै यस्ता व्यक्तिहरूसंग संगत नगरौ । आफूलाई असल मार्गमा लैजाने हो भने असल मानिसहरूसंग संगत गरौ र राम्रा पुस्तकहरू अध्ययन गर्ने बानि बसालौँ ।
विभिन्न धर्मशास्त्रहरूको विशेष ज्ञान भएका व्यक्तिहरूको संगत गरौ र उनिहरूसंग जीवन र जगतका विशेष ज्ञान पाउन प्रयत्न गरौ । निर्बुद्धि मानिसहरूले बाइबल, वेद, कुरान, त्रिपिटकलाई उल्टापाल्टा पर्छन् त्यसैले सम्बन्धित विषयमा कम्तिमा तिसवर्ष अध्ययन गरेको व्यक्तिसंग भेटौ निश्चय नै उनीहरूले हाम्रो ज्ञानको भोकलाई मेटाउने छन् । विभिन्न कारणले बिचैमा पढाइ छोडेका र पढ्न नपाएकाहरूले एसईई पासगर्ने लक्ष्य राखौँ । जसले आठ कक्षा नै पुरागर्न सकेका छैनन् अब यो वर्ष आठ कक्षा पासगर्ने लक्ष्य राखौ र अबको दुई वर्ष भित्रमा एसईई पुरागर्ने लक्ष्य राखौ तर अध्ययन गर्ने र सिक्ने काममा अल्छी नबनौं । जसले एर्सईई पास गरेर बिचैमा छोडेका छन् अब +२ र स्नातक पुरागर्ने प्रयास गरौ ।
जसले स्नातक पुरा गरि बिश्वबिध्यालय जान पाएका छैनन् अब स्नातकोत्तर अध्ययन गर्न सुरु गरौ । जसले स्नातकोत्तर गरेर बाकी पढाई छोडेका छन् अब एम.फिल. र पीएच्डी गर्ने योजना बनाऔ । अझै पोस्ट डक्टोरेट पुरा गर्ने लक्ष्य राखौ र विभिन्न जिवन उपयोगी बिषयहरूमा अध्ययन गरौ, अनुसन्धान गरौ अनि समुदाय र देशको सेवा गरौ । देशमा यत्रा विश्वविद्यालयहरू र पुस्तकालयहरू खुलेका छन् यिनीहरूको हामीले भरमग्दुर सदुपयोग गरौ । अनि हामीले थाहा पाउने छौ कि हाम्रो जीवन खुराफातिमा नै बितेको रहेछ । अब चाहिँ हामी यी सबै खुराफातिहरूलाई छोडेर मोति जस्तै सुन्दर विचारहरूको खोजीमा लागौ । (लेखक लुईँटेल अधिवक्ता हुन्)