काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीले भ्रष्टाचार मुद्दामा तोकिएको बाँकी कैद सजायबाट छुट पाएका छन्। विशेष अदालत र सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका जोशीले ज्येष्ठ नागरिकका रूपमा पाउने कैद छुटको सुविधा प्राप्त गरेका हुन्।
७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रचलित कानुनअनुसार कैद सजायमा ७५ प्रतिशतसम्म छुट पाउने व्यवस्था छ। सोही व्यवस्थाअनुसार जोशीले असार २४ गते कैद छुटको माग गर्दै निवेदन दिएका थिए।
शुक्रबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले जोशीलाई कैद सजाय छुट दिने आदेश गरेको हो। आदेश भने बहुमतबाट भएको थियो।
जोशी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा ३ महिना १७ दिन थुनामा बसिसकेका थिए। सर्वोच्च अदालतबाट तोकिएको बाँकी कैद सजाय ज्येष्ठ नागरिकका रूपमा पाउने छुटअनुसार मिनाहा गर्न उनले माग गरेका थिए।
कैद छुटको सुविधा कारागारमा बसेका व्यक्तिले मात्रै पाउने हो कि कारागारमा नगई निवेदन दिने व्यक्तिले पनि पाउने हो भन्ने विषयमा इजलासका न्यायाधीशबीच मतभेद भएको थियो।
न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाले कारागारमा नबसे पनि ज्येष्ठ नागरिकका रूपमा कैद छुटको सुविधा लिन सकिने राय दिएका थिए। अर्का न्यायाधीश हेमन्त रावलले भने कारागारमा बसेका व्यक्तिले मात्रै यस्तो सुविधा माग गर्न सक्ने राय दिएका थिए। बहुमतका आधारमा जोशीलाई कैद छुट दिने निर्णय भएको हो।
भ्रष्टाचार मुद्दामा ९ महिना कैदको फैसला
जोशीलाई विशेष अदालतले २०६९ साउन १० गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै १ वर्ष ६ महिना कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ ४१ पैसा जरिवाना सुनाएको थियो।
विशेष अदालतको फैसलाविरुद्ध भएको पुनरावेदनमा सर्वोच्च अदालतले करिब १२ वर्षपछि २०८१ साउन १३ गते फैसला गर्दै विशेष अदालतको फैसला केही उल्ट्याएको थियो। सर्वोच्चले जोशीलाई ९ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना तोकेको थियो।
सर्वोच्चबाट कैद तथा जरिवानाको फैसला भए पनि जोशीले हालसम्म उक्त कैद सजाय भुक्तान गरेका थिएनन्। यसबीच ज्येष्ठ नागरिकका रूपमा पाउने कैद छुटको सुविधा माग गर्दै उनले निवेदन दिएका थिए।
अदालतको पछिल्लो आदेशसँगै जोशीले अब बाँकी कैद सजाय भुक्तान गर्न जेल बस्नुपर्ने अवस्था नरहेको भएको छ। भने जरिवानाको हकमा भने अदालतको आदेशअनुसारको दायित्व कायमै रहनेछ।
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्रीसमेत रहेका जोशी पछिल्लो समय पार्टीभित्रको असन्तुष्ट समूहबाट अलग राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका छन्।